Logo

सरकार परिवर्तनको असर आर्थिक क्षेत्रमा

दाङ– अस्थिर सरकार तथा छिटो छिटो हुने सरकार परिवर्तनको प्रभाव आर्थिक क्षेत्रमा देखिने गरेको छ । सरकार स्थिर नहुँदा आर्थिक क्षेत्र थप समस्यामा जाने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताए । सरकार बनाउने र फुटाउने कार्यले आर्थिक क्षेत्रमा समस्या हुने उनको भनाइ छ ।

‘सरकार बनाउने र फुटाउने कार्यले आर्थिक क्षेत्र थप संकटमा जाने देखिन्छ,’ अध्यक्ष शर्माले भने । यस प्रकारको कार्यले देशको आर्थिक विकासमा असर पुग्ने उनले बताए । ‘आर्थिक विकासका लागि छिटो छिटो सरकार परिवर्तन गर्ने कार्य रोकिनु पर्दछ,’ अध्यक्ष शर्माले भने । कोभिड त्यसपछि आर्थिक संकटले समस्यामा परेको आर्थिक क्षेत्र अगाडि बढाउन स्थिर सरकार र सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

देशको आर्थिक अवस्था सुधार भइ नसकेको र स्थिर सरकार नहुँदासम्म विदेशी लगानी भित्र्याउन नसकिने उनी बताउँछन् । ‘यस्तो अवस्थामा कसरी विदेशी लगानी देशका भित्र्याउन सकिन्छ,’ उनले भने । देशमा रहेका लगानी कर्ताले पनि लगानी नगर्ने उनले बताए । लगानी गर्नका लागि वातावरण निर्माण हुनुपर्ने उनको भनाइ छ । यस्तो अवस्थाले लगानीको सुरक्षा नहुने भएकाले लगानी कर्ता बाहिरिने गरेका छन् ।

लगानी भित्र्याउनका लागि सरकार स्थायित्व र सहज वातावरण आवश्यक पर्ने अध्यक्ष शर्मा बताउँछन् । ‘आर्थिक क्षेत्रको सुधारका लागि सबै सहकार्य गरेर अगाडि बढ्नुपर्ने समयमा सरकार फेरबदल गर्दा यसले आर्थिक क्षेत्र थप संकटमा जान्छ,’ अध्यक्ष शर्माले भने । राजनीतिक दलहरू अर्थतन्त्रलाई लयमा ल्याउनका लागि उदासिन देखिएको उनको भनाइ छ ।

‘देशको आर्थिक क्षेत्रको विकासका लागि सरकार तथा प्रतिपक्ष सहकार्य गरेर जानुपर्ने हो तर त्यसो देखिँदैन एकले गरेको काम अर्कोले विरोध हुने गरेको छ,’ अध्यक्ष शर्माले भने । एउटाले सुरु गरेका योजना अर्का आएपछि रोकिने गरेका छन् । यसले विकासका कामसमेत प्रभावित हुने गरेका छन् । ‘राम्रा काम जसले सुरु गरे पनि त्यसलाई निरन्तरता दिनु पर्दछ,’ अध्यक्ष शर्माले भने, ‘सरकारले केही राम्रो काम गर्ने खोजेको थियो फेरि सरकार परिवर्तन भएको छ यसले फेरि काममा प्रभाव पार्ने देखिन्छ ।’

राजनीतिक दलहरूले धैर्यता देखाउनु पर्ने उनी बताउँछन् । प्रदेश सरकारले गर्न थालेको शिखर सम्मेलनले लुम्बिनीको विकासमा केही सहयोग पुग्ने आशा गरिए पनि कार्यक्रम रोकिँदा यसले निराशा बनाएको उनले बताए । ‘लामो समयदेखि तयारी गरेर गर्न थालिएको गौरभको कार्यक्रम रोकिनु हुँदैन,’ उनले भने, ‘कार्यक्रम रोकिँदा विश्वसामु हाम्रो बारेमा नकारात्मक सन्देश जाने गर्दछ,’ तय भइसकेको कार्यक्रम सरकार परिवर्तन भए पनि निरन्तरता दिनुपर्ने उनी बताउँछन् ।

अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा सरकार परिवर्तनको खेलले अर्थतन्त्र थप समस्यामा जाने प्रा. डा. अर्जुन बुढाथोकी बताउँछन् । ‘अहिले बजारमा धेरै सटर खाली छन् धेरै उद्योगी तथा व्यवसायी पलायन भइरहेका छन् यसलाई रोक्न राज्यले सकेको छैन,’ उनले भने । अस्थिरता अन्त्य गरेर सरकार स्थायित्व बनाएर समस्याको समाधान गरेर अगाडि बढनु भए पनि त्यसअनुसार काम हुन नसकेको उनी बताउँछन् । आर्थिक रूपमा बलियो भएको देश छैन यस्तो अवस्थाले देश थप आर्थिक समस्यामा जाने उनी बताउँछन् ।

यसका बारेमा समयमै सरकारले ध्यान दिनसक्नु पर्ने उनले बताए । ‘व्यक्ति तथा पार्टीको स्वार्थका कारण अहिले देशमा सरकार बनाउने र परिवर्तनको खेल चलिरहेको छ यसले देशको आर्थिक अवस्था बिग्रदै गएको पाइएको छ,’ प्रा. डा. बुढाथोकीले भने । आर्थिक क्षेत्रलाई लयमा ल्याउने प्रभावकारी कार्य हुन नसकेको उनले बताए । ‘नेतृत्व भरपदो नहुँदा समस्या आउने गर्दछ अहिलेको अवस्था यस्तै छ,’ उनले भने । देशको नेतृत्व गर्नेले यसका बारेमा बुझन जरुरी रहेको समेत उनले बताए ।

‘भाषणले मात्र देशको आर्थिक विकास हुँदैन आर्थिक विकासका नेतृत्व लिनेले भूमिका निर्वाह गर्न सक्नु पर्दछ,’ प्रा. डा. बुढाथोकीले भने । आफ्नो स्वार्थका लागि नभइ देशका लागि काम गर्नुपर्ने उनको भनाइ छ । देशका केही गर्न खोज्नेले समेत सहयोग पाउने अवस्था नरहेको उनी बताउँछन् । देशको आर्थिक क्षेत्र लयमा ल्याउनका लागि लगानी गर्ने वातावरण सृजना गरिनु पर्ने उनको भनाइ छ । ‘अहिले कसैले पनि लगानी गर्न खोजेको देखिँदैन,’ प्रा. डा. बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस्