Logo

आलु–प्याजको आयात घटयो

भैरहवा– भैरहवाबाट चालु आर्थिक वर्षको सात महिनामा आलु–प्याज, तरकारी र फलफूलको आयात घटेको छ । सो अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ मूल्यका वस्तु आयात भएको हो । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०८०/८१ को साउनदेखि माघसम्म उक्त मूल्य बराबरको आलु, प्याज, तरकारी र फलफूल आयात भएको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा ती वस्तुहरुको आयात घटेको छ । गत आर्थिक वर्षको ७ महिनामा ६ अर्व ३९ करोड रुपैयाँ बराबरको आलु, प्याज, तरकारी र फलफूल आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि अहिले प्याज आयात भएको छैन ।

गत वर्षको ७ महिनाको तुलनामा यो वर्षको ७ महिनामा प्याज आयात आधाले घटेको प्रमुख भन्सार अधिकृत गौतमले बताए । भारतले गत २०२३ डिसेम्बर ७ देखि ३१ मार्च २०२४ सम्मको लागि प्याज निर्यातमा रोक लगाएको छ । गत वर्षको ७ महिनामा १ अर्व ९८ करोड बराबरको ५५ हजार १९३ मेट्रिक टन प्याज आयात हुँदा चालु वर्षको ७ महिनामा १ अर्ब ११ करोड बराबरको २७ हजार १६८ टन आयात भएको छ ।

गत वर्षको तुलनामा आलु पनि घटेको छ । गत वर्ष ७ महिनामा १ अर्ब ९० करोड रुपैयाँ बराबरको ७५ हजार ४३ टन आलु आयात हुँदा यो वर्षको ७ महिनामा १ अर्ब ४८ करोड बराबरको ५९ हजार ६३ टन आयात भएको छ । तरकारी र फलफूलको आयात परीमाण घटेको छ तर मुल्य भने बढेको छ । तरकारी गत वर्ष ४५ करोड ६ लाख रुपैयाँ बराबरको १३ हजार ४५९ टन आयात भएको थियो । चालु वर्षको ७ महिनामा ४८ करोड १९ लाख रुपैयाँ बराबरको १० हजार ९५७ टन आयात भएको भन्सारले जनाएको छ ।

त्यसैगरी गत वर्ष २ अर्ब ५ करोड रुपैयाँ बराबरको ४१ हजार १२८ टन फलफूल आयात हुँदा चालु वर्षमा २ अर्ब १४ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो नाका हुँदै आउने आलु, प्याज, तरकारी तथा फलफुल भैरहवा, बुटवल, पोखरा, काठमाडाैंलगायत देशका विभिन्न स्थानमा बिक्रीका लागि पठाइने गरिन्छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि खुल्ला सिमानाकाको फाइदा उठाउँदै तस्करहरुले चोरी तस्करी गरीरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्