अतिक्रमित घर टहरा भत्काइँदै «

अतिक्रमित घर टहरा भत्काइँदै

इटहरीमा खोला तथा पैनी मिचेर बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । नगर क्षेत्रका विभिन्न खोला तथा पैनीलाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
शुक्रबार इटहरीको मुख्य चोकनजिकै रहेको आर्मी हेडक्वाटरको पश्चिमतर्फ वडा नम्बर ५ भई बग्ने खेती खोलामा बनाइएका पक्की भौतिक संरचना भत्काइयो । ३ वटा जेसीबी र १ डोजरको मद्दतले खोलाभित्रै बनाइएका संरचना भत्काइएको हो ।
पानीको निकासका लागि नगर क्षेत्रमा रहेका खोला अतिक्रमण परेसँगै वर्षायाममा इटहरी डुबानमा पर्न थालेको निश्कर्ष निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु गरिएको उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । उपमहानगरको कार्यापालिका बैठकले अतिक्रमण गरी बनाएका संरचना भत्काउने निर्णय गरेपछि भत्काउन थालेको मेयर चौधरीले बताए । मेयर चौधरीले भने, “सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी खोला मिच्न पाउँदैन, खोला मिचेर बनाएका संरचना भत्काउँछौ , कसैले रोकेर रोकिँदैन ।”
खोलाको सीमा छुट्याएर नक्सांकन गरेकै समयमा खोलाभित्र परेका संरचना भत्काउन सूचना गरिएको थियो । पहिले पहिलेको जस्तै ठानेर कुनै पनि नगरवासीले संरचना भत्काएका थिएनन् । तर शुक्रबार लाखौं रकम खर्च गरेर खोलाभित्र बनाइएका संरचना उपमहानगपालिकाले भत्काएको छ ।
सहरीकरणसँगै पछिल्लो समय इटहरीमा घर निर्माण तीव्र भइरहेको छ । इटहरीको जग्गा महँगोमा बिक्री हुने भएपछि भूमाफियाहरूले सार्वजनिक र खोला क्षेत्र अतिक्रमण गरी बिक्री वितरण गर्ने गरेका छन् । इटहरी–५ मा पर्ने खेतीखोलामा मात्रै दर्जनभन्दा बढी घर र अन्य संरचना खोलाभित्रै निर्माण भएको पाइएको इटहरी उपमहानगरपालिका इन्जिनियर अर्जुन दाहालले जानकारी दिए । प्राविधिकका अनुसार नापी गरिएको स्थानमा २० फुुटदेखि सय फुटसम्म खोलाको भाग देखिएको छ । भौतिक संरचना भत्काएसँगै पानीको बहाव नरोकिने गरी खोला सफाइसमेत गरिने इन्जिनियर दाहालले बताए ।

विवेक भट्टराई

प्रतिक्रिया दिनुहोस्