Logo

भ्यू टावरमा निजी क्षेत्र अनिच्छुक

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धनका साथै नगरको आम्दानी बढाउने उद्देश्यले निर्माण गरिएको भ्यु टावर सञ्चालनमा समस्या आएको छ । झण्डै ६ करोड खर्च गरर बनाइएको गोलपार्क भ्युटावर सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्र इच्छुक नहुँदा समस्या भएको हो ।

स्थानीय तहमा जनप्रतिनिधि आएको पहिलो वर्ष निर्वाचित भएर आएका मेयर लुटबहादुर रावतका पालामा टावर निर्माणको काम सुरु भएको हो । हालै निर्माण सकिएको यो टावरमा झण्डै ६ करोड खर्च भएको छ । भ्यु टावर सञ्चालनका लागि नगरपालिकाले तीन पटकसम्म टेण्डर आह्वान गर्दा पनि कुनै पनि व्यवसायी भ्यु टावर सञ्चालन गर्न इच्छुक नदेखिएपछि नगरपालिका आफैले सञ्चालन गर्न थालेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।

‘वार्षिक २४ लाख रुपैयाँ भाडा निर्धारण गरी पटकपटक प्रस्ताव आह्वान गरिएको थियो,’ उनले भने, ‘तर प्रस्ताव नै नपरेपछि हाल नगरपालिका आफैले नगर प्रहरी खटाएर भ्यु टावर सञ्चालन गरिरहेका छौं ।’ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धनका साथै नगरको आम्दानी बढाउने उद्देश्यले निर्माण भएको भ्यु टावरमा हाल ७५ रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क तोकिएको छ । तर भ्यु टावरमा पर्यटक आकर्षित हुन नसक्दा सोचेजस्तो आम्दानी भने हुन नसकेको नगरपालिकाले जनाएको छ ।

भ्यु टावरको सञ्चालन तथा व्यवस्थापनमा खटिएका नगर प्रहरी जवान वाल्मीकि थापाले दैनिक ४०/५० जनासम्म आन्तरिक पर्यटक भ्रमण गर्न आउने गरेको बताउँछन् । ‘शनिबार र बिदाको दिनमा अली बढी आउँछन्,’ उनले भने, ‘अन्य दिनमा कम पर्यटक आउँछन् ।’ भ्यु टावर सञ्चालनमा आए पनि टावर माथिल्लो तलामा जान प्रयोग गरिने लिफ्ट बिग्रिएको अवस्थामा छ । त्यस्तै व्यवस्थित पार्क, रेस्टुराँलगायत शौन्दर्यीकरणका काम बाँकी रहेकाले पर्यटक आकर्षित हुन सकेका छैनन् ।

स्थानीय श्रवण शर्माले भविष्यमा कोहलपुरको आम्दानीको राम्रो स्रोत बन्नसक्ने गोलपार्क व्यवस्थापनमा ध्यान जानुपर्ने बताए । ‘भ्यु टावरबाट आन्तरिक पर्यटक भित्र्याएर राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘तर यहाँ थुप्रै काम हुन सकेका छैनन् ।’ यहाँको पार्कलाई व्यवस्थापन गर्नुका साथै आएका पर्यटकलाई खाजा खान रेस्टुराँ, पार्किङलगायत पानीको फोहोराजस्ता शौन्दर्यीकरणका काम भएमा अवश्य पनि पर्यटकको ओइरो लाग्नेछ ।

लुम्बिनी प्रदेशको पश्चिम क्षेत्रमा पर्ने कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने मुख्य द्वारसमेत हो । पूर्वाधार विकासतर्फ अग्रसर यस व्यापारिक सहरमा स्वास्थ्य, शिक्षालगायत थुप्रै विकास निर्माणका काम गर्न अझै बाँकी नै छन् । तर प्राथमिकता निर्धारण नगरी योजना निर्माण गर्दा करोडौं खर्च गरेर बनाइएका यस्ता संरचना सञ्चालन तथा व्यवस्थापनमा भने समस्या आएको छ । ठूलो धनराशी खर्च गरी बनाइसकिएको यस संरचनामा फूलबारीसहित पार्क निर्माण, रेस्टुराँलगायत शौन्दर्यीकरण गरी पर्यटक आकर्षित गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्