मेलम्चीको पाइपलाइन परीक्षण सुस्त

काठमाडौं– मेलम्ची खानेपानी वितरणका लागि पहिलो चरणअन्तर्गत बिच्छाइएका पाइपलाइनको परीक्षण कार्य सुस्त गतिमा रहेको छ । मेलम्चीको पानी लगातार आउन नसक्दा परीक्षणका लागि आवश्यक पानीको अभाव भएको कारण परीक्षणले सुस्त गति लिएको हो । पहिलो चरणअन्तर्गत १ हजार १० किलोमिटर नयाँ पाइपलाइन बिच्छाइएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडि) का अनुसार ४८७ किलोमिटर मात्रै पाइपलाइन परीक्षणको काम सम्पन्न गरिएको छ । पिआईडिले नयाँ पाइपलाइन बिच्छाएपछि चुहावट हुने या नहुने ? पाइपलाइन अवस्था कस्तो छ ? भन्ने विषयमा परीक्षण गरिरहेको छ । निर्देशनालयका अनुसार हाल परीक्षणको काम भइरहेको छ । हालसम्म नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगंगा, चक्रपथ, बबरमहल, कोटेश्वर,नरेफाँटलगायत क्षेत्रमा मात्र नयाँ प्रणालीबाट पानी वितरण भइरहेको छ ।
मेलम्चीको पानी बर्षामा बन्द हुने र हिउँदमा खोल्ने बाध्यताका कारण पाइपलाइन परीक्षणको कार्य ढिलाइ भएको स्वीकार गरिएको छ । मेलम्चीको पानी निरन्तर आएमा असार मसान्तसम्म पाइपलाइन परीक्षणको कार्य समाप्त हुने निर्देशनालयले बताएको छ । निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले मेलम्चीको पानी निरन्तर रूपमा आउन नसक्दा बिच्छाइएको नयाँ पाइपलाइन परीक्षणको कार्य पनि ढिलाइ भइरहेको बताएका छन् ।
‘मेलम्ची कहिले पानी आउने त कहिले बन्द गर्नुपर्ने अवस्थामा आएको छ, जसले गर्दा उपत्यकामा निरन्तर पानी आउन नसक्दा हामीलाई पाइपलाइन परीक्षण गर्न आवश्यक पर्ने पानीको अभाव भएकोले परीक्षणको कार्यले गति लिन नसकेको हो,’ उनले भने, ‘अब मेलम्चीको पानी आउन सुरु भएको छ, असार मसान्तसम्म पहिलो चरणअन्तर्गतको पाइपलाइन परीक्षणको काम सम्पन्न हुने छ ।’ उनले पाइपलाइन परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति हुँदा समस्या आएको समेत बताएका छन् ।
‘तेस्रो पक्षलगायतबाट विगतमा विभिन्न कारणले खानेपानीका नयाँ पाइपलाइनमा क्षति भएको थियो । तेस्रो पक्षले मर्मत गरिरहेको र मर्मत नगर्ने तेस्रो पक्षलाई पत्राचार गरिएको छ,’ उनले भने,‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तेस्रो पक्ष लगायतबाट सडक तथा ढल निर्माण,मर्मत, विद्युतलाइन र टेलिफोनका तार भूमिगत गर्नेलगायतका कार्य हुँदा क्षतिपुगेका खानेपानी वितरण प्रणालीका ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका पाइपलाइनमध्ये अधिकांशको मर्मत कार्य सम्पन्न भइसकेको छ ।
तर तेस्रो पक्षलगायतबाट विभिन्न कारणले खानेपानीका पाइपलाइनमा क्षति हुन नछाडेकाले खानेपानीका पाइपलाइनमा क्षति पुग्ने गरी कुनै काम नगर्न/नगराउन सम्बन्धित सबै निकायहरूको ध्यानाकर्षण गराइएको पिआईडिको भनाइ छ । पिआईडीका अनुसार मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका खानेपानीका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट भएको छैन । नयाँ पाइपलाइनबाट नभइ अधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहावट हुने गरेको पिआईडिको भनाइ छ ।
उपत्यकामा पुरानो पाइपलाइनबाट चुहावट समस्या बढी भएको भन्दै नयाँ पाइपलाइनपछि चुहावट कम हुने पिआईडिको भनाइ छ । पुरानो पाइपलानबाट चुहावट हुने र समानुपातिक वितरणको प्रणाली नभएका कारण नयाँ पाइपलाइन तयारी भएपछि मात्रै दैनिक रूपमा वितरण गर्न सकिने केयूकेएलले जनाएको छ । उपत्यकामा पुरानो पाइपलाइनबाट चुहावट समस्या बढी भएको भन्दै नयाँ पाइपलाइनपछि चुहावट कम हुने विश्वास लिइएको छ ।