Logo

बाजुरामा घरजग्गा कारोबार बढ्याे

बाजुरा– चालु आर्थिक वर्षको माघ मसान्तसम्म घर जग्गा कारोबार वृद्धि भएको छ । फागुन २० सम्मको तथ्यांक अनुसार यो वर्ष सबै भन्दा बढी कारोबार भएको देखिएको हो । बाजुरामा घर जग्गा कारोबारबाट फागुन २० सम्म ४२ लाख रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मण देव पाण्डेयले बताए । देशमा आर्थिक संकटको अवस्थामा पनि घर जग्गा कारोबार बढ्दै गएको पाण्डेयको भनाइ छ ।

जिल्ला मालपोत कार्यालय बाजुराका अनुसार अर्थिक वर्ष सुरु भएदेखि हालसम्म ३०७ वटा किनबेच भएको छ । गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले कारोबार बढी भएको हो । असारसम्म अझै बढ्न सक्ने पाण्डेयले बताए । जिल्ला मालपोत कार्यालय बाजुराबाट ३०७ वटा रजिस्टेशन पास भएको छ । चालु आर्थिक वर्षको माघसम्म कारोबार कम भए पनि फागुनको सुरुवातदेखि घरजग्गा किनबेच बढेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर, स्थानीय तहले हालसम्म जग्गाको वर्गीकरण गर्न नसकेको र केही स्थानीय तहले उक्त नीति कार्यान्वयनमा ल्याएसँगै कारोबारमा वृद्धि भएको पाण्डेयले बताए । ९ स्थानीय तह रहेको बाजुरामा जगन्नाथ गाउँपालिकाले भने नीति कार्यान्वयन गरिसकेको र अन्य पालिकाको नीति निर्माणकै क्रममा रहेका छन् ।

जिल्ला मालपोत कार्यालय बाजुराले घरजग्गा कारोबार बापत ७९ लाख ३९ हजार राजश्व संकलन गरेको छ । माघ मसान्तसम्म राजश्व संकलन र पुँजीगत बजेट गरी ३७ लाख ३९ हजार रहेकोमा फागुनमा मात्रै ४२ लाख राजश्व संकलन भएको मालपोत कार्यालय बाजुराले जनाएको हो । फागुनको राजस्व संकलनको अनुपातमा यो आर्थिक वर्षको अन्त्यसम्म एक करोडमाथि राजश्व संकलन हुने अनुमान रहेको पाण्डेय बताउँछन् ।

आर्थिक वर्ष ०८०/८१ मा मरुवा,सरुवा सम्बन्धी कारोबार ७२ वटा रहेका छन् भने ८८ वटा धितो रोक्का गरिएको मालपोत कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट हुने रोक्का, भोक बन्दकी, ठाडो रोक्का, तमसुक रोक्का गरी ८८ वटा कित्ताको रोक्का कारोबार भएको छ । व्यावसायिक रूपमा परियोजना बनाउनेले सडकको मापदण्ड अनुसार साढे २ आनाको कित्ताकाट गर्न पाउने व्यवस्था रहेको छ ।

अंशबण्डामा पनि साढे २ आनासम्मको कित्ताकाट गर्न पाउने व्यवस्था संशोधित नियमावलीले गरेको छ । ‘पछिल्लो समय सहरको भन्दा गाउँमा घर जग्गा कारोबार बढेको छ । सदरमुकाम मार्तडी भन्दा जग्गा किनबेच ग्रामीण क्षेत्रमा बढेको तथ्यांक रहेको छ । संघीय संरचनापछि सदरमुकाममा जग्गा किनबेच तथा कारोबार ओरालो लागेको मालपोत कार्यालयले बताएको छ । स्थानीय तहका केन्द्र आसपासको जग्गा कारोबार बढ्दै गएको र सदरमुकामको कारोबार घटेको मालपोत कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्