Logo

प्रहरीकै बास छैन, कहाँ थुन्ने अभियुक्त ?

धनगढी-जंगलको बीचमा भत्किनै लागेको झुपडी छ । टाढैबाट हेर्दा गरिबीले गाँजेको कुनै परिवारको बासस्थान जस्तो देखिन्छ । जस्तापाताले छाएको छ । भित्ताको माथिल्लो भाग खोक्रिएको छ । पुरानो झ्याल छ । चौखट मात्रै लगाएको पल्ला बिनाको ढोका छ । समग्रमा एकै कोठाको ह्वांग परेको घर छ ।
यो घर, लालझाडी गाउँपालिका वडा नं. २, पचुवास्थित २०६४ मा स्थापना गरिएको ‘ख’ वर्गको इलाका प्रहरी कार्यालय शंकपुरको कार्यालय हो । प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको यो इलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी छ । तर हाल आठ जना मात्रै कार्यरत रहेको प्रहरी सहायक निरीक्षक शंकर विष्टले बताए । उनका अनुसार हाल प्रहरी नायव निरीक्षक प्रेमसिंह विष्टको कमाण्डमा आठ जनाको टोली लालझाडी गाउँपालिकाको सुरक्षामा खटिएको छ ।
“अहिले आठ जना मात्रै कार्यरत छौं,” प्रहरी सहायक निरीक्षक विष्टले भने, “सधैं आठ जना भने हुँदैनौं । कहिले कसैको काम पर्छ । कहिले केही हुन्छ । काम गर्ने प्रायः तीन जना मात्रै हुन्छौं ।”
रिपोर्टिङको क्रममा इलाका प्रहरी कार्यालय शंकरपुर पुग्दा प्रहरी सहायक निरीक्षक आफैंलाई सञ्चो थिएन । उनी रुघाखोकी र ज्वरोले थलिएका थिए । तर पनि कार्यालयमा हामीसँग कुरा गर्न आए । बिरामी भएकाले उनी कुराकानी गर्ने हालतमा थिएनन् । एक जना हवल्दार उनलाई कार्यालयमा सघाइरहेका थिए । दुई जना जवान ड्युटीमा खटिएका थिए । प्रहरी नायव निरीक्षक विष्टसहित चार जना विदामा थिए ।
“कार्यालय व्यवस्थित हुन नसक्दा नियमित कार्यालय सञ्चालन गर्न गाह्रो छ,” विष्टले सुनाए, “ड्युटीमा गएर शान्ति सुरक्षा कायम गर्न झन् कठिन छ । न जनशक्ति पुगेको छ । न त कार्यालय सञ्चालनका लागि संरचना छ ।”
सो इलाका प्रहरी कार्यालयका प्रहरीहरुलाई आफ्नै टाउको लुकाउन समस्या छ । त्यहाँ कार्यरत प्रहरी आफै असुरक्षित छन् । ‘हावाहुरी, जंगली जनावर, सर्प, विच्छी, किराको त्रासमा प्रहरीहरुले कार्यालयमा रात गुजार्छन् । “पहिलो कुरा बस्न सुत्नकै समस्या छ,” प्रहरी सहायक निरीक्षक विष्टले भने, “बस्नका लागि कुर्सी छैन । सुत्नका लागि कोठा पनि छैन । अभियुक्त समातेपछि राख्नका लागि थुनुवा कक्ष पनि छैन ।”
लालझाडी गाउँपालिकामा घरेलु हिंसा, झगडा, चोरी, दकैतीका घटनाहरु भइरहन्छन् । “जाँडरक्सी खाएर झागडा हुन्छन् । धेरैजसोे घरेलु हिंसाका घटनाहरु आउँछन् । साधनस्रोत नहुँदा पहिले अभियुक्तलाई पक्राउ गर्नकै समस्या छ । गाउँमै राखेर सम्झाई बुझाई गर्नुपर्ने हुन्छ । थुनुवा कक्ष नहुँदा समाएर ल्याएको मान्छेलाई राख्न समस्या छ । समाउन जानका लागि गाडी छैन । एउटा मोटरसाइकल छ । त्यसमा दुई जना बसेर जानुपर्ने हुन्छ । समाएको मान्छेलाई कार्यालयमा ल्याउन समस्या हुन्छ । ल्याएको मान्छेलाई सुरक्षित राख्न समस्या छ । भाग्छ कि, मर्छ कि वा मार्छ कि भन्ने त्रास रहन्छ,” उनले गुनासो पोखे ।
पक्राउ गर्नैपर्ने अवस्था आएमा छिमेकको प्रहरी कार्यालयबाट सहयोग लिने गरेको उनले बताए । बेलौरी, त्रिभुवन वस्ती, लुलरिया, झलारीबाट प्रहरी सहयोग लिने गरेको उनले जानकारी दिए । त्यहाँबाट सहयोग आउँदासम्म अभियुक्त फरार हुने खतरा रहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले सो इलाका प्रहरी कार्यालयको आफ्नो जमिन सुरक्षित ठाउँमा नभएकाले व्यवस्थापन गर्न समस्या रहेको बताए । उनले भएको जमिन खोलामा परेकाले सो प्रहरी कार्यालयका लागि घर बनाउन नसकिएको बताए । उनले उपयुक्त जग्गा खोज्ने काम भइरहेको र जग्गा प्राप्तिपछि घर बनाउने प्रक्रिया थालिने जानकारी दिए ।
कञ्चनपुरमा रहेका नौवटै ‘ख’ वर्गका इलाका प्रहरी कार्यालयको अवस्था शंकरपुरको जस्तै छ । ती प्रहरी कार्यालयले पक्राउ गरेका अभियुक्तलाई नजिकको प्रहरी केन्द्रमा ल्याएर कारबाही चलाउने गरिएको छ । कतिपय ‘ख’ वर्गका इलाका प्रहरी कार्यालयहरु भाडाका घरमा रहेको समेत आचार्यले बताए । ‘क’ वर्गका भने लगभग सबै इलाका प्रहरी कार्यालयहरुको भवन बनिसकेको छ ।
कञ्चनपुर क्षेत्र नं. १ वाट निर्वाचित प्रदेश सांसद तथा नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले इलाका प्रहरी कार्यालय शंकरपुरको अवस्था दयनीय रहेको बताए । प्रमुख सचेतक लामाले लालझाडीमा शान्ति सुरक्षा कायम गर्नका लागि तत्काल प्रहरी कार्यालयको समस्या समाधान गर्नतर्फ प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
उनले बजेट नछुट्याएको भए पनि नियमित कार्यालय सञ्चालन गर्न सक्ने गरी मर्मत सम्भार गर्न प्रदेश सरकारसँग आफूले लिखित रुपमा माग गरेको बताए । “भविष्यमा सो कार्यालय प्रदेश मातहत आए पनि, नआएपनि प्रदेश सरकारले आफ्नो जिम्मेवारी सम्झेर त्यो प्रहरी कार्यालय मर्मत गर्नुपर्छ,” उनले भने ।
लामाले सांसद् नहुँदै आफ्नै खर्चबाट सो प्रहरी कार्यालयको झुपडीमा जस्तापाता हालिदिएका थिए । उनले आफ्नो पहलमा केही साथीहरुले रकम उठाएर जस्ता पाता हाली दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्