Logo

व्यवहारमा महिला अधिकार प्राप्त गर्न अझै कठिन

सुर्खेत– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा नीतिगत प्रावधान भए पनि पुरातनवादी सोचका कारण महिलाहरू अझै पछि पर्नु परेको बताएकी छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम कर्णाली प्रदेश महिला सम्मेलनलाई सम्बोधन गर्नेक्रममा पूर्व राष्ट्रपति भण्डारीले नीतिगत व्यवस्था भएपनि पूर्णतया व्यवहारमा कार्यान्वयन हुन नसक्दा महिला अझै पछाडी परेको बताइन् ।

भण्डारीले महिलाको शैक्षिक, आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै संघर्ष जारी राख्नुपर्नेमा जोड दिइन् । वर्तमान संविधानले आधारभूत अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेकाले राज्यका तीनै तहमा महिलाको सहभागितामा भने वृद्धि भएको उनको भनाइ थियो । नेपालमा महिला अधिकार र सशक्तिकरणमा उल्लेख्य सुधार भएपनि पुरातनवादी सोच र संस्कारले अघि बढ्ने कठिन भइरहेको उनले बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले प्राप्त उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियान जारी राख्नुपर्नेमा जोड दिइन् । महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्