धनौरी खानेपानी आयोजना सम्पन्न

दाङको शान्तिनगर गाउँपालिका– ५ धनौरीको बैशामा साढे २ करोडको लागतमा खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । ५ सय घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको सो योजना सम्पन्न हुन २ वर्ष लागेको थियो ।
खानेपानी तथा ढलनिकास विभागका योजना तथा वैदेशिक सहयोग समन्वय शाखा प्रमुख अरुणकुमार सिंखडा र नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजीत शर्माले आयोजनाको उद्घाटन गरे । एक लाख लिटर क्षमताको ओभरहेट ट्यांकी, पाइपलाइनलगायतका अन्य पूर्वाधार तयार भएको र ५ सय घरमा मिटरसहित निजी धारा जडान गरिने तयारी समाप्त भएको उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।
नेपाल रेडक्रस सीईएचपी कार्यक्रमले १ करोड १८ लाख, खानेपानी डिभिजनले ५४ लाख रुपैयाँ, साविक जिविसले २ लाख ४० हजार, धनौरी गाविसले १ लाख ५० हजार उपभोक्ताको २ लाख ४९ हजार र ७३ लाख ९१ हजार बराबरको जनसहभागिताबाट आयोजना सम्पन्न भएको धनौरी खानेपानी समितिका सचिव टेकबहादुर पाण्डेले जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष गिरिराज बस्नेतले खानेपानीको समस्या रहेका स्थानमा योजना निर्माण गरिएको र उपभोक्ताहरूले प्रत्यक्ष लाभ लिइरहेकाले आयोजना दिगो हुने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै अरुणकुमार सिंखडाले उपभोक्ताको सक्रियतामा बनेका योजना प्रभावकारी रहेको भन्दै धनौरी पनि एक नमुना योजनाको रूपमा रहेको बताए । रेडक्रसका कार्यबाहक अध्यक्ष अजीत शर्माले मानवीय सेवाअन्तर्गत खानेपानीलाई पनि महत्व दिएर विभिन्न जिल्लामा खानेपानीका योजना निर्माण गरिएको बताए । उनले लाभान्वित वर्ग, सरकार र विभिन्न संस्थासँगको सहकार्यमा विपद् र स्वास्थ्यको क्षेत्रमा रेडक्रस सदैव क्रियाशील रहेको भन्दै यो एउटा अर्को उदाहरण बनेको बताए ।
खानेपानी डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धिताल, शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगी, रेडक्रसका जिल्ला सभापति नारायण आचार्यलगायतले आयोजनाको महत्वबारे प्रकाश पारेका थिए ।