Logo

जलविद्युतबाट समृद्धि खोज्दै कर्णाली प्रदेश

ठूला आयोजना अलपत्र

जुम्ला– कर्णाली समृद्धिका विभिन्न आधारमध्ये जलविद्युत पनि प्रमुख आधार हो । कर्णालीमा कृषि, पर्यटन, जडिबुटीसँगै जलविद्युतको पनि उच्च सम्भावना छ । तर लगानी अभावले भने ठूला विद्युत आयोजना पनि अलपत्र अवस्थामा छन् । कर्णालीमा १८ हजार बढी जलविद्युत उत्पादन क्षमता भएको कर्णालीमा हालसम्म अनुमानित पाँच हजार मेगावाट जलविद्युत उत्पादनमात्रै भएको देखिन्छ ।

अनुमति पाइसकेका तर लगानी अभावले अलपत्र परेका ठूला तीनवटा विद्युत आयोजना कालिकोटमा छन् । १५ सय बढी मेगावाट विद्युत उत्पादन क्षमता भएका तीन वटा आयोजना अलपत्र छन् । कर्णालीलाई समृद्ध बनाउने सम्भावना बोकेका कालिकोट जिल्लामा रहेका तीन जलविद्युत आयोजना निर्माण भएको खण्डमा कर्णालीको ऊर्जा समृद्धिमा १५ सय ५६ मेगावाट विद्युत थप हुने अनुमान छ । जसमा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, ४८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत आयोजना कालिकोटमा रहेका छन् ।

यी आयोजना कर्णालीकै गौरवका आयोजना र कर्णाली समृद्धिका आधार हुन् । आयोजना निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाए पनि बजेट अभावले निर्माणकार्य अघि बढ्न सकेको छैन । चिनियाँ राष्ट्रपति नेपाल भ्रमणका क्रममा चीनले सहयोग गर्ने आयोजनाको सूचीमा फुकोट कर्णाली जलविद्युत आयोजना पनि परेको थियो । तर लगानी जुट्न सकेन । आन्तरिक तथा आवश्यक लगानी जुटाएर कालिकोटस्थित तीन वटामात्रै विद्युत आयोजना निर्माण भएको खण्डमा १५ सय ५६ मेगावाट विद्युत उत्पादन हुनेछ ।

यो विद्युतले समग्र कर्णालीको विद्युत अभावको समस्या हल हुने र कर्णाली समृद्धिका लागि समेत टेवा पुग्ने विश्वास छ । फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) निर्माणका लागि स्वीकृति र विद्युत उत्पादनका लागि टेष्ट टनेल खोल्ने काम भइरहेको छ । यो आयोजनाको निर्माणको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ । आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको फुकोट कर्णाली जलविद्युत आयोजना प्रमुख डम्बर उप्रेती बताउँछन् ।

आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको छ । फुकोट कर्णाली जलविद्युत आयोजनाले कालिकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् । फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण भएमा कालिकोट जिल्लाका स्थानीयले सेयर पाउनुका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

यो आयोजनाका लागि ९२ अर्ब तीन करोड रुपैयाँ लाग्ने विस्तृत अध्ययनले देखाएको छ । तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत आयोजना निर्माणको जिम्मा एससी पावर कम्पनीले लिएको छ । नेपाल विद्युत प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताका लागि समझदारीसमेत गरिसकेको छ । तर तिला–१ र तिला–२ आयोजनाको काम भो अहिलेसम्म अगाडि बढ्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणसँग दुवै आयोजनाले २०२४ सम्म सम्झौता गरेका छन् ।

सन् २०२३ मै आयोजना निर्माण सक्ने लक्ष्य लिइए पनि लगानी अभावले अहिलेसम्म काम अघि नबढेको हो । कालिकोटमा निर्माण हुने तीन ठूला जलविद्युत आयोजना निर्माण भएको खण्डमा कर्णाली समृद्धिका लागि धेरै समय कुर्नु नपर्ने देखिन्छ । विद्युत आपूर्ति सहज हुनुका साथै, रोजगारी सृजना, उद्योग कलकारखाना स्थापना, उत्पादन वृद्धि, समग्र प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको कालिकोट नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदिप बोहोरा बताउँछन् ।

कर्णाली समृद्धिकै आधार सम्भावना बोकेका आयोजनाको निर्माण संघीय सरकारले चासो नदिएको र लगानी जुटाउन कर्णालीका नेताको पहुँच नपुग्दा अलपत्रजस्तै बनेको उनको भनाइ छ । आगामी वैशाख १९ र २० गते हुने कर्णाली लगानी सम्मेलनमा यी विद्युत आयोजनामा लगानी जुटाउन विशेष पहल गर्नुपर्नेमा सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्