Logo

दाहालले फेरे सत्ता सहयात्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन तोकेका हुन् ।

कार्यविभाजन पछि तोकिने गरी नियुक्त भएका माओवादी, एमाले र रास्वपाका एक–एक मन्त्रीलाई राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ गराएका छन् । हाललाई २२ वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले नै सम्हाल्नेछन् । नेपाली कांग्रेससँगको सहयात्रा तोड्दै एमाले र रास्वपासँग सहकार्य सुरु गरेका दाहालले सोमबार तीन मन्त्री नियुक्त गरेका हुन् । माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल र एमालेबाट पदम गिरी मन्त्री बनेका छन् ।

तीनैजना नयाँ अनुहार होइनन् । तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । अर्याल श्रम मन्त्रालयबाट बिदा भएको १३ महिनापछि फेरि मन्त्री बनेका छन् । धादिङका अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधि सभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापना कालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहयात्री भएर राजनीतिमा सक्रिय छन् ।

गिरी पर्वत–१ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए । एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादीले सत्ता साझेदारी गरेपछि उनी पनि मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । बाँकी मन्त्री भागवण्डा गर्न गठबन्धनले चार सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् । उनीहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गरेर शीर्ष नेतालाई बुझाउनेछन् । वर्षमान र उपेन्द्र मन्त्री बन्ने टुंगो लागिसकेको छ, तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्मा सहभागी हुनेछन् । सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमति गरेको छ ।

गएको वर्ष मंसिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष दाहाल सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले– माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसँगै पुनः सुरु भएको छ । लामो गृहकार्यपछि आइतबार साँझ प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओली दुई–दुई नेतासहित बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको थियो ।

अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठेको भन्दै मन्त्रिपरिषद् पुनगर्ठन गर्न खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवाले अवरोध गरेको भन्दै प्रधानमन्त्री दाहालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यसअघि कोशी प्रदेशमा माओवादीको मुख्यमन्त्री हुने गरी शक्ति बाँडफाँट भएकोमा कांग्रेसको शेखर कोइराला समूहले एमालेसँग तालमेल गरेर कांग्रेसको मुख्यमन्त्री बनाएपछि माओवादी सशंकित बनेको थियो ।

यसैगरी राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट दुई उम्मेदवार भएकामा कांग्रेसका कृष्ण सिटौला विजयी हुँदा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि अविश्वास अझ बढेको थियो । गत साता सम्पन्न कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘माओवादी १० वर्षे अनावश्यक द्वन्द्वले आर्थिक विकासमा क्षति पुर्‍याएको’ भन्ने वाक्यांशलाई पनि माओवादीले आफूमाथिको अपमान भन्दै व्याख्या गरेको बताइएको छ ।

महासमितिमै कांग्रेस महामन्त्री गगन थापाले ‘आगामी निर्वाचनमा गठबन्धन नगर्ने’ भनेर राखेको प्रस्ताव पारित भएपछि गठबन्धनप्रति कांग्रेसको प्रतिबद्धता कमजोर भएको व्याख्या माओवादीभित्र गरिएको थियो । बढ्दो अविश्वासबीच माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको थियो । तर, पूर्वसमझदारी भएको भन्दै कांग्रेसले दाबी छाडेन । यिनै कारणहरुले गर्दा असमझदारी बढ्दै गएको र केही समयदेखिको संवादले सार्थकता पाएको विश्लेषण गरिएको छ ।

‘उथलपुथल भइरहन्छ’
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले त्यसको बचाउ गरेका छन् । आफू बाँचुञ्जेल यतो उथलपुथल भइरहने उनको टिप्पणी छ । सोमबार राजधानीमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रायः मान्छेहरूले भन्ने गर्छन् धेरै नै अविश्वसनीय । कुन बेला कता फड्किन्छ बुझ्नै नसक्ने मान्छे भन्छन् । म त्यस्तो होइन । म नेपाल राष्ट्रपति इमानदार हुने कुरामा जहिल्यै पनि कायम छु । तर, प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’

पछिल्लो समीकरणले नयाँ राजनीतिक धुव्रीकरणको सुरुवात गराएको पनि उनले उल्लेख गरे । उनले भने, ‘खिइँदै, सुक्दै, एक्लो हुँदै अनि फेरि ठूल्ठूला कुरा गरीराख्ने यो हुन सक्दैन । हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिस्ट एकताको पनि पहल गर्दैछौं ।’ प्रतिक्रियावादीहरूले आफूलाई घेरा हालेर सिध्याउने प्रयास धेरै पटक गरेको उल्लेख गर्दै उनले थपे, ‘त्यो तोड्दै आएका छौं, तोड्दै जान्छौं । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।’

प्रतिक्रिया दिनुहोस्