Logo

लुम्बिनीका ८४ प्रहरी युनिट भाडाको भवनमा

दाङ– लुम्बिनी प्रदेशका ८४ वटा प्रहरी युनिट भाडाको घरमा बसेर सेवा दिइरहेका छन् भने ८१ वटा प्रहरी युनिट जीर्ण भवनमा बसेर सेवा दिइराखेका छन् । नेपाल भारत सीमा क्षेत्र भैसाहीमा रहेको इलाका प्रहरी कार्यालय भाडामा सञ्चालित छ ।

मासिक चार हजार भाडामा बसेको यो इलाका प्रहरी कार्यालयमा ६ जनाको जनशक्ति छ । ६ जना जनशक्तिको बसोबास अनि कार्यालय चार कोठामा अटेको छ । ‘जेनतेन बसिएकै छ,’ इप्रका भैसाही नाकाका इन्चार्ज प्रहरी असई मानबहादुर नेपालीले भने, ‘समस्या त नाका क्षेत्रमा कैयन छन्, तर समस्यासँग जुधेर ड्युटिमा जानु हाम्रो कर्तव्य हो ।’

साँघुरो घरमा रहेको इलाका प्रहरी कार्यालय परिसरमा शौचालय छैन । शौचालयका लागि इलाका प्रहरी कार्यालयले स्थानीय सरकारलाई अनुरोध गर्‍यो । स्थानीय सरकार राजपुर गाउँपालिका–७ ले पाँच लाख रुपैयाँ रकम छुट्याइदिएको छ । ‘सबैभन्दा बढी समस्या भनेको शौचालय छैन,’ उनले भने, ‘वडाबाट शौचालय निर्माणका लागि माग गरेका थियौं, वडाले बजेट छुट्याइदिएको छ, अब चाहिँ शौचालय निर्माण हुने आशा पलाएको छ ।’

यो नाकामा पनि सर्प तथा बिच्छीको जगजगीमा प्रहरीहरू दिनरात बिताउँछन् । गर्मी मौसम सुरु भयो भने यस क्षेत्रमा सर्प तथा बिच्छीको जगजगी अधिक रहन्छ । ‘नाका क्षेत्रमा धेरै विषालु सर्पसँगै बिच्छीको अधिक जगजगी हुन्छ,’ उनले भने, ‘प्रहरी कार्यालयभित्रै सर्प तथा बिच्छी पसेर साह्रै असुरक्षित बनाइरहेका हुन्छन् ।’ लुम्बिनी प्रदेशमा पर्ने नेपाल भारत सीमा क्षेत्रमा रहेका अधिकांश प्रहरी एकाईमा यस्तै समस्या छन् ।

नाका क्षेत्रमा मात्रै नभई भाडाको घरमा रहेका थुप्रै प्रहरी एकाईमा खानेपानी, शौचालयको समस्या विद्यमान छन् । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक रमेशकुमार बस्नेतका अनुसार प्रदेशका ८१ प्रहरी एकाई जीर्ण भवनमा सञ्चालित छन् । यी जीर्ण भवनमा अवस्थित प्रहरी एकाईमा खटिने प्रहरी जनशक्तिको शौचालय, खानेपानी लगायत उचित बसोबासको व्यवस्थापन हुन सकेको छैन ।

‘प्रदेशका ८१ प्रहरी युनिट जीर्ण भवनमा सञ्चालित छन्,’ प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतले भने, ‘जीर्ण भवनमा रहँदा प्रहरीलाई उचित बसोबासको व्यवस्थापन हुन सकेको छैन, यससँगै शौचालय खानेपानीको समस्या पनि उत्तिकै छन् ।’ लुम्बिनी प्रदेशका १२ जिल्लामा ६ सय बढी प्रहरी युनिट छन् । यीमध्ये ८४ प्रहरी युनिट भाडाको घरमा सञ्चालित छन् । ८४ मध्ये ८१ युनिट जीर्ण भवनमा रहेको र यस्ता युनिटमा कार्यरत प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न सकस हुने गरेको बस्नेतले जानकारी दिए ।

‘८४ युनिट भाडामा सञ्चालित छन्, ८१ प्रहरी युनिट जीर्ण भवनमा छन्,’ उनले भने, ‘उचित बसोबासको व्यवस्थापन नहुँदा प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न केही समस्या त हुन्छ नै ।’ यस्तै प्रदेशमा पर्ने नाका क्षेत्रमा ७० वटा प्रहरी युनिट छन् । यीमध्ये अधिकांश युनिटमा बसोबासदेखि खानेपानी लगायतका समस्या रहेको बस्नेतले जानकारी दिए । ‘कतिपय जीर्ण भवन पानी चुहिएर बस्नै नमिल्ने खालका पनि छन्,’ सूचना अधिकारी बस्नेतले भने, ‘हावा पानी केही पनि नछेक्ने अवस्थामा घरमा बसेर प्रहरीले सेवा दिइरहनु परेको छ ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतले भाडाका घरमा प्रहरी युनिट राख्नु पर्दा काम गर्न असहज हुने बताए । व्यत्तिले आफू बस्नका लागि बनाएका घरमा प्रहरी युनिट राख्नु पर्दा त्यो घर कसरी प्रहरीका लागि उपयुक्त हुन सक्छ ?’ उनले भने, ‘प्रहरी युनिट भनेपछि धेरै संवेदनशील निकाय हो, अनुसन्धानका कुराहरू गोप्य रुपमा गरिनु पर्ने हुन्छ, तर प्रहरी युनिटका लागि पब्लिकले बनाएका घर त उपयुक्त हुने कुरा भएन, यसर्थ प्रहरीका लागि प्रहरीको आफ्नै भवन हुनुपर्छ ।’

यसैगरी कैयन प्रहरी चौकीमा थुनुवा कक्ष छैनन् । ‘कुनै पनि गाउँ टोलमा कुनै घटना भयो भने चौकीले नै घटनामा संलग्नलाई केही दिन वा समय थुनामा राख्ने हुन सक्छ,’ उनले भने, पानी चुहिने, विषालु सर्प, विच्छीको उस्तै जोखिम रहेको भन्दै डीआईजी कडायतले भने, ‘शौचालय, खानेपानीको समेत सुविधा छैन, यस्तो अवस्थाका प्रहरी युनिटमा बसेर पनि प्रहरीले सेवा दिइरहनु परेको छ ।’

प्रतिक्रिया दिनुहोस्