Logo

सुन्तला बेचेर तनहुँका किसानले भित्र्याए ३० करोड

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेतीमा आबद्ध महतले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

विसं २०६४ सालबाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तला खेतीबाट सन्तुष्ट रहेको उल्लेख गरे । महतको सुन्तला बगैंचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ एक हजार पाँच सय सुन्तला बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन । स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तला खेतीमा लागेको हूँ ।’

उनले विसं २०७६ सालमा कृषि महत फार्म दर्ता गरी व्यवस्थित रूपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैंचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौस्थित कालिमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष काटिमाटीमा प्रतिकेजी १२० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए ।

उनले भने, ‘गत वर्ष ६० लाखको सुन्तला बगैंचाबाटै बिक्री भएको थियो । तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’ नाम्सीकोट सुन्तला पकेट क्षेत्रको रूपमा परिचित छ । कमलले नाम्सीकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायतका सामग्री अनुदान दिएको थियो । उनले यस वर्ष चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट एक करोड ५० लाख र शुक्लागण्डकी नगरपालिकाका अलैंचे, नाम्सीकोट लगायतका टोलबाट दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरिदिएको उनले बताए । उनले सुन्तला बगानबाट प्रतिकिलो ७० देखि ७५ मा खरिद गरी १२० सम्ममा बिक्री गर्ने गरेको सुनाए ।

उनले भने, ‘देशमा इमानदार, मेहनेति भएर कृषि पेशामा लागेमा सफल हुन सकिने र वैदेशिक रोजगारका लागि विदेश पलायन हुन पर्दैन ।’ तनहुँमा यो वर्ष कृषकले सुन्तला बिक्री गरेर ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए ।

यो वर्ष तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ ।

सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैंचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, ‘कृषकलाई सुन्तला बगैंचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौं ।’

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडाैंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैंचासम्म पुग्ने गरेका छन् । काठमाडाैंका अलवा पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगाैंडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसानहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्