Logo

विकासका नाममा निम्तिँदै संकट

उदयपुर– मध्य फागुनमै पानीका स्रोत सुकिसकेका छन् । बर पिपल र सुस्ताउने चौतारी छैनन् । आकाशे पानी नपरेको पाँच महिना बितिसकेको छ । समयमा नपर्दा गरिखाने जमिन बाँझै छ । यी परिवर्तनसँगै पहिलेका सुन्दर गाउँकाे स्वरुप अहिले विरुप बन्दै गएको छ । जताततै पहिरोको जोखिम छ । तर, विकासका नाममा बाटो खन्ने काम भने अझै रोकिएको छैन ।

त्यसैले दुर्गमका गाउँ बस्तीमा समस्या बढ्दै भएको छ । स्थानीय तहले विकासका नाममा जथाभावी सडक खन्दै जादा गाउँमा समस्या भएको छ । सडककै कारण देवी देउराली मासिएका छन् । जंगल सखाप भएको छ । यी सबै भोलिका सन्ततिलाई पनि चाहिन्छ भन्ने कुराको वास्ता कसैलाई छैन । सबै मासियो भन्यो भने आफ्नै गाउँमा विकास विरोधी भइन्छ र गाउँमा एक्लो भइन्छ भन्ने डरले विरोध गर्ने कोही छैनन् ।

त्यसैले भोकै तिर्खै भए पनि विकासको नाममा खनिएका सडकमा उडेको धुलो हेरेर धित् मार्नूपर्ने अवस्था सर्वसाधारणको छ । ‘सडक आवश्यकता हो, बनाउनु पनि पर्छ, जनतालाई सडक पनि चाहिन्छ,’ चौदण्डीगढी–१ का विष्णुप्रसाद कोइरालाले भने, ‘तर पानी खाने कुवा, पानी पलाउने खोला र सिँचाइ गर्ने कुलो मासेर सडक खनियो र अहिले यो अवस्था सृजना भयो ।’ यस्तैयस्तै कारणले पछिल्लो समय गाउँलेले बाँझो जमिन हेर्दै बेसाहा किनेर गुजारा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

गाउँका बुढापाका, भद्रभलाद्मी बसेर आराम गर्ने र सभा कचहरी गर्ने चौतारा सडक निर्माणका नाममा मासिए । ‘अब त बाटो हिँडदै जाँदा गलियो भने सुस्ताउने चौतारा पनि भेटिँदैनन्,’ त्रियुगा नगरपालिका–१५ का कुलबहादुर खत्रीले भने, ‘सडक विस्तारसँगै चौतारा विस्थापित भए ।’ वर्षभरि खाने धान फल्ने खेतमा पानी लाग्ने कुलो सडक बनाएकै कारण कतिपय गाउँमा मासिएको उनले बताए ।

‘जथाभावी सडक निर्माणले गाउँघर नै कुरुप बनाएको छ, र पहिरोको जोखिमसमेत बढाएको छ,’ रानीवासका वीरबहादुर राई भन्छन्, ‘सडक खन्दै गयो, अगाडि मन्दिर होस् वा पाटी पौवा या चौतारी, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता गरिँदैन ।’ कुवा, मन्दिर, पाटीपौवा, चौतारा र कुलो मासेर बनाइने सडक विकास हो वा विनास ? स्थानीयले छुट्याउन नसकेको उनले बताए ।

सर्वसाधारणको माग भएको भन्दै स्थानीय तहले अघिल्लो निर्वाचन पछिको पहिलो र दोस्रो वर्ष झण्डै कुल बजेटको ५० प्रतिशत बजेट सडकका लागि विनियोजन गरेका थिए । स्थानीय तहले अहिले पनि झण्डै त्यही परम्परालाई निरन्तरता दिइरहेका छन् । तर, हचुवाका भरमा स्क्याभेटर चालकले आफू इन्जिनियरझैं जथाभावी सडक खन्दा गाउँ कुरुप बनेका छन् भने पहिरोको जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्