Logo

‘विकासका लागि सबैको संकल्प आवश्यक’

पर्वत– नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य संघको ४१औं वार्षिक साधारणसभा तथा १८औं अधिवेशनको आइतबार कुश्मामा उद्घाटन गर्दै ढकालले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । उनले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले उद्योग, कलकारखाला खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकासँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको विकास हुने बताए । उनले कोभिड–१९, रसिया–युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको बताउँदै अब भने सुधार हुँदै जाने बताए । जति बिग्रिने हो त्यति अर्थतन्त्र बिग्रिसकेको बताउँदै अब सुधार हुँदै जाने उनले दाबी गरे । यहाँभन्दा बिग्रिने ठाउँ छैन उनको भनाइ छ ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यवसायीको हितका लागि महासंघले काम गर्दै आएको बताए । ढकालले पर्वतको विकासका लागि लगानीमैत्री वातावरण बनाउने संकल्प गर्नुपर्ने बताए । उनले तीन तहका सरकारबीचमा समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीले उल्झन बेहोर्नु परेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक वर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धि हुने विचार व्यक्त गरे ।

अध्यक्ष ढकालले पर्यटनको हिसाबले पर्वत उत्कृष्ट जिल्ला बन्दै गएको बताए । ढकालले पर्वत पर्यटन, जलविद्युत र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना र जिल्लाको समृद्धिमा टेवा पुग्ने बताए । उनले पर्वतको विकासका लागि गुरुयोजना तयार गर्न आग्रह गर्दै आफूले समेत साझेदारी गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्