ना उपत्यकामा सोलारबाट विद्युत

दोलखा– दोलखाको पर्यटकी क्षेत्र च्छोरोल्पा हिमताल नजिकको गाउँ ना उपत्यकामा विद्युत सेवा पुगेको छ । गाउँ ४२ सय मिटरको उचाइमा रहेको ना गाउँ दोलखाको अति दुर्गम गाउँ हो । ना गाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखिएको छ । ना गाउँ गौरीशंकर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ ।
विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ ना हो । यहाँ बढी हिउँपर्ने हुँदा मंसिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् । गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले गत असोजमा ना गाउँ पुगेर सोलार प्लान्टको शिलान्यास गरेका थिए । काम सुरु गरेको चार महिनामै गाउँमा विद्युत बलेको हो ।
विद्युत र टेलिफोन सेवा पुर्याउन चुनौतीको रूपमा रहेको ना गाउँमा प्राधिकरणको विद्युत ल्याउन टाढा भएपछि सोलार प्लान्ट राखेर विद्युतीकरण गरेको हो । पर्यटकीय क्षेत्र भएकाले यहाँका बासी होम स्टे र होटल चलाएर जीविकोपार्जन गर्छन् । सिजनमा पुरुषहरू हिमालमा ट्रेकिङ जान्छन् । ना र बेदिङलाई सगरमाथा आरोहीको गाउँको रूपमा समेत चिनिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
ना गाउँमा सोलार मिनिग्रेडका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अर्थात् तीन करोड १४ लाख रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको नौ लाख ८९ हजारको लागत साझेदारी गरेको छ । एभरेष्ट समिटर क्लबका अध्यक्ष दावाछिरि शेर्पाले ना गाउँमा विद्युत सेवा विस्तार हुनु भनेको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिए ।
दुर्गम गाउँ भएकाले व्याट्री र फलामे पोल हेलिकप्टरमार्फत ढुवानी भएको थियो । ढुवानीमा समस्याले प्लान्ट जडानको काम केही ढिला भए तापनि एक महिना अघिदेखि नै ना गाउँमा विद्युत बल्न सुरु भएको आरोही शेर्पाले बताए । ‘अब च्छोरोल्पा जानेहरू अँध्यारोमा बस्नुपर्ने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘अब चाँडै टेलिफोन टावर पनि राखेर मोबाइल चल्छ, मोबाइल चार्ज गर्न र क्यामेराको व्याट्री चार्ज गर्नसमेत सहज हुनेछ ।’
विद्युत नभएकाले टेलिफोन टावरसमेत राख्न सकेको थिएन । बेदिङसम्म भने दुई वर्षअघि नै नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याएको छ । नेपाल टेलिकमको समेत टावर राखेर मोबाइल र डाटा सेवा सञ्चालित छ । ना गाउँमा ३० किलोवाटको सोलार बत्तीले ना गाउँमा २० वटा सडक बत्ती तथा ७२ घरधुरीमा बत्ती बालिएको गौरीशंकर गाउँपालिका–९ का निमगेली शेर्पाले बताए ।
विद्युत सेवापछि च्छोरोल्पामा अझ पर्यटक बढ्ने उनले विश्वास गरे । सोलार प्लान्टको काम पूरा भएर एक महिनाअघि नै बत्ती बले तापनि चिसो र हिउँ परेका कारण ना पुगेर उद्घाटनको काम बाँकी रहेको सनबृज सनस्टार जेभिका कुमार बस्नेतले जानकारी दिए । नामा बत्ती बलेसँगै गौरीशंकर गाउँपालिका पूर्णरूपमा विद्युतीकरण भएको छ । दोलखाको अब विगू गाउँपालिका–१ लप्ची गाउँमात्र विद्युतीकरण हुन बाँकी छ ।
थाम्चेम्बुसम्म पुगेको प्राधिकरणको लाइन लप्चीसम्म थप १० किलोमिटर लाइन विस्तार गरी विद्युतीकरण गर्ने योजना छ । गत वर्ष नेपाल विद्युत प्राधिकरण दोलखाका प्रमुख मेघनाथ ढकालले स्थलगत भ्रमणपछि स्टमेट गरेर केन्द्रमा पठाएपछि नेपाल विद्युत प्राधिकरण र विगू गाउँपालिकाबीच सम्झौता भएको छ । प्राधिकरणले डेढ करोडको विद्युतीकरणका सामान दिने र गाउँपालिकाले ढुवानी गर्ने सम्झौता छ ।