बन्दिपुर नगरको आर्थिक, शिक्षा र सहकारी ऐन पारित

बन्दिपुर गाउँपालिकाको गाउँसभाले आर्थिक कार्यविधिसहित शिक्षा नियमावली र सहकारी ऐन पारित गरेको छ । गाउँपालिकाका पदाधिकारी र कर्मचारीको सेवा सुविधासम्बन्धी आर्थिक कार्यविधिसम्बन्धी ऐन बनाइएको छ । तर त्यसलाई प्रदेश सरकारले पारित गरेपछि मात्रै लागू गरिने बताइएको छ ।
त्यस्तै फोहरमैला व्यवस्थापनसम्बन्धी निर्देशिका र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसम्बन्धी कार्यविधि पनि पारित भएको बन्दिपुर गाउँ कार्यपालिका सदस्य भानुभक्त पोखरेलले जानकारी दिए ।
त्यस्तै सामुदायिक वन उपभोक्ता समिति विघटन गर्दै वनबाट हुने काठ बिक्री रोक लगाउने निर्णय पनि गाउँसभाले गरेको छ । वन पैदावारलाई पूर्ण रूपमा निषेध गर्नका लागि बन्दिपुर गाउँपालिकाबाट अन्य क्षेत्रमा वनजन्य पदार्थ निकासी गर्न नदिने गरी नियम बनाइएको छ ।
गाउँपालिकाले आफ्नै शिक्षा नियमावलीअनुसार शैक्षिक संस्थाको नियमन गर्ने भएको छ । गाउँपालिकाभित्रका सामाुदायिक विद्यालयका व्यवस्थापन समिति विघटन गरेर नयाँ समिति तत्काल गठन गर्ने निर्णय पनि गाउँसभाले गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नका लागि सभाले नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार आधारभूत विद्यालयको व्यवस्थापन समितिको नेतृत्व गर्न न्यूनतम एसएलसी उत्तीर्ण भएको हुनुपर्नेछ भने माध्यमिक विद्यालयका लागि स्नातक तह पूरा गरेको हुनुपर्नेछ । गाउँपालिकाभित्रको कुनै एउटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने तयारी पनि गरिएको छ ।
बन्दिपुर नेपालकै पर्यटकीय गन्तव्य हो । गाउँसभाले बन्दिपुरको विकासका लागि गुरुयोजना बनाउने निर्णय समेत गरेको छ । “बन्दिपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो,” थापाले भने, “यसको थप विकासका लागि आजैदेखि काम थाल्न आवश्यक छ ।” गाउँपालिकाका प्रमुख थापाका अनुसार गुरुयोजना अनुरुपका नीति तयार गरी विकासका कार्यक्रमलाई कार्यान्वयन गर्दै लगिने छ ।