Logo

पर्यटकको रोजाइमा चंखेली हिमाल

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– १४ मा रहेको चंखेली हिमाल आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिमालको फेदसम्म सडक सञ्जाल जोडिएपछि हिमाल चढ्ने र घुम्नेको भिडभाड बढेको हो ।

चंखेली हिमाल समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटरको उचाइमा रहेको छ । विशेष गरी चंखेली हिमालको मुख्य विशेषता हिमालको टुप्पोमा पुगेपछि नेपालका ठूला ताल, रारा, चुचेमार, मुर्माटप, हुम्ला, जुम्ला, बाजुरालगायतका ५ जिल्लाका शैपाल हिमाल, सत्यदेबीको अन्तिम अंग खसेको स्थान छायानाथ धाम समेत अध्ययन अवलोकन गर्न सकिन्छ ।

स्वार्गिय राजा वीरेन्द्र शाहले २०४० सालमा सिकार खेल्ने हिमाल, नेपाली रुपैयाँ एकको नोटमा अंकित हिमाल भएको हुँदा पछिल्लो समयमा दिन प्रतिदिन चंखेली हिमालतर्फ आन्तरिक पर्यटकहरू घुम्न आउने गरेका हुन् । मुगुको सदरमुकाम गमगढी बजारदेखि गाडी र मोटरसाइकलमा ३ घण्टामा चंखेली हिमालको फेदसम्म पुग्न सकिन्छ । फेददेखि २ घण्टा पैदल यात्रा गर्न सकिने भएको चंखेली हिमालमा रमाउने संख्या बढीनै रहेका छन् ।

रारासँग जोडिएको चंखेली हिमाललाई पर्यटकको महत्वपूर्ण गन्तव्य मानिन्छ । यो हिमाल धेरैले चढी रहेको हुँदा पछिल्लो समयमा सडक सञ्जालले छोएको हो । विश्वका चार धाममध्ये एक धाम छायानाथ धाम भएको र धार्मिक पर्यटन क्षेत्र पनि भएको हुँदा रारा घुम्न आउने पर्यटकले एक पटक चंखेली हिमाल पुग्नै पर्ने आन्तरिक पर्यटक कृष्ण बोहराले बताए । हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्य अवलोकन गर्न सकिन्छ ।

ती दृश्य हेरीरहुँ जस्तो लाग्ने गरेको पर्यटकहरू बताउँछन् । मुगुमा रहेका धेरै पर्यटकीय क्षेत्रमध्ये यो चंखेली हिमालको विशेषता निकै फरक रहेको आन्तरिक पर्यटक अक्कल बोहोराले बताए । मुगु जिल्लामा रहेको रारा बाहेक छाँयानाथ, थार्प मष्टा, ऋरिमोक्षलगायत स्थानीय भेषभुषा, रितिरिवाज धेरै रहेको हुँदा यो वर्ष गत वैशाखदेखि अहिलेसम्म वडा कार्यालयको रेकर्ड अनुसार १० हजारभन्दा बढी आन्तरीक तथा बाह्य पर्यटकले चंखेली हिमालको अवलोकन गरेका छन् ।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा स्थानीय, प्रदेश, संघ सरकारले भैतिक पूर्वाधारलगायतका अन्य पूर्वधारमा सहयोग गरेको भए थप पर्यटकको आकर्षण बढ्ने छाँयानाथ रारा नगरपालिका– १४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताए । चंखेली हीमालमा घुम्नको लागी विशेष गरी जुम्ला, हुम्लाका स्थानीय र मुगु जिल्लाका विभिन्न स्थानीय तहबाट युवाहरू बढी आउने गरेका छन् ।

शनिबार आई टुप्पोमा पुगेर रमाउने र तल फेदीमा आएर होटलहरूमा बास बस्ने गरी पर्यटकहरू आउने गरेका होटल व्यवसायी दलसिंह बुढा बताउँछन् । मुगुमा रहेको विभिन्न धार्मिक तथा सांस्कृतिक हिमाल, नदीलगायत विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटकीय स्थानहरूको भौतिक पूर्वाधारको विकास गरी राज्यका तिनै तहका सरकारले पहल गर्नुपर्ने स्थनीयहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्