Logo

फागुन २४ देखि सातौं ‘चेम्बर एक्स्पो’

काठमाडौं– फागुन २४ देखि सातौं ‘चेम्बर एक्स्पो’ हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा २४ देखि २८ फागुनसम्म एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बरको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै उक्त मेलामा इण्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुनेछ ।

एक्स्पोमा नेपालमा रहेको रूसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन् । प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्