Logo

तेस्रो दूरसञ्चार कम्पनी ल्याउने पक्षमा प्राधिकरण

काठमाडौं– दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण नयाँ सेवाप्रदायक कम्पनी ल्याउन सकारात्मक देखिएको छ । हाल नेपाल टेलिकम र एनसेलले दूरसञ्चार सेवा दिइरहे पनि यसले बजारमा अपेक्षित प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न नसकेको भन्दै नयाँ कम्पनी ल्याउनुपर्ने प्राधिकरण अध्यक्ष भुपेन्द्र भण्डारीले बताए । अध्यक्ष भण्डारीले दुईवटा मात्र कम्पनी हुँदा उपभोक्ताले पाउने सेवासुविधा प्रभावकारी बन्न नसकेको धारणा राखे ।

प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले कुनै समय ६ वटा टेलिकम अपरेटरले सेवा दिइरहेको अवस्थामा अहिले दुईवटा मात्रै सक्रिय रहेको भन्दै त्यो ‘मोनोपोली’ बजारसँग मेल नखाइरहेको बताए । प्राधिकरण नयाँ टेलिकम लाइसेन्स जारी गर्नुपर्ने पक्षमा रहेको उनको स्पष्ट संकेत थियो । दुईमात्र कम्पनीको एकाधिकार अर्थात् ‘डुओपोली’ ‘मोनोपोली’ भन्दा पनि खराब हुन सक्ने भन्दै उनले यसमा सजग हुनुपर्ने बताए ।

यद्यपि, प्रतिस्पर्धी बजारलाई आधार मान्ने प्राधिकरण आफूले अँगालेका नीतिनियम ‘डुओपोली’का कारण निष्प्रभावी भइरहेको दाबी पनि उनले गरे । बजारमा थप कम्पनी भित्र्याएर फ्रिक्वेन्सी बाँडफाँडलाई सहज गर्न जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष भण्डारीले दूरसञ्चार सेवाको शुल्क अन्य केही देशको तुलनामा बढी नभए पनि प्रतिव्यक्ति आयको हिसाबले हेर्दा सस्तो मान्न नसकिने भन्दै यसमा समेत हस्तक्षेपको संकेत गरे ।

मोबाइल सेवा प्रदायकहरुको आम्दानी निरन्तर घट्दै गइरहेको तर लाइसेन्स नवीकरण र फ्रिक्वेन्सी दस्तुरमा भने कमी नआएको भए पनि नवीनतम प्रविधिमा लगानी गर्नुपर्ने बाध्यता अपरेटरहरुले भोगिरहेको उनको भनाइ छ । बदलिँदो प्रविधिसँगै प्रतिफलको सुनिश्चितता समेत नहुने भएकाले टेलिकम बजारमा चुनौती थपिएको उनले बताए । यस्तै, सक्रिय रहेका टेलिकम अपरेटरहरुको लाइसेन्स अवधि क्रमश: सकिने क्रम सुरु हुन लागेको भन्दै अध्यक्ष भण्डारीले यसमा नियामकले केही निर्णय गर्नैपर्ने अवस्था रहेको बताए ।

नेपाल टेलिकमको २०८१ वैशाख र एनसेलको २०८६ भदौमा जीएसएम अनुमतिपत्रको अवधि सकिँदैछ । ‘यसलाई हामीले स्पष्ट दिशा दिएर समाधान गर्न सकेनौं भने सिस्टमेटिक फेलियरमा जाने जोखिम देखिन्छ,’ उनले भने, ‘नियामकले समयमा नै यससम्बन्धी कदम चाल्नेछ ।’ इन्टरनेट सेवा प्रदायकबीचको चर्को प्रतिस्पर्धाले ‘प्राइस वार’ निम्त्याएर लगानी नै जोखिममा पर्ने स्थिति आएको भन्दै प्राधिकरणले छिट्टै केही कदम चाल्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

पछिल्ला केही वर्षमा फिक्स्ड र मोबाइल, इन्टरनेटको प्रयोगकर्ता नियमित रुपमा बढ्दै जानु सेवाप्रदायकलाई अवसरको रुपमा रहेको उनकोे भनाइ छ । प्राधिकरणले तत्काल लोकल कन्टेन्टको विकास, फाइभजी फ्रेमवर्क, स्पेक्ट्रम रोडम्याप लगायतमा विशेष जोड दिएर लागिपर्ने उनले बताए । यस्तै, प्राधिकरण दीर्घकालिन रणनीति बनाएर अघि बढ्ने उनको भनाइ छ ।

प्राधिकरणको वार्षिकोत्सव समारोहमा ऊजामन्त्री शक्तिबहादुर बस्नेतले नेपाललाई डिजिटल्ली विकास गर्न चाँडोभन्दा चाँडो प्रभावकारी काम गर्न आग्रह गरे । सरकारबाट गर्नुपर्ने सबैखाले सहयोग गर्न आफूहरु तयार रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले डिजिटल नेपाल फ्रेमवर्कको कामलाई पनि तीव्रता दिन सुझाव दिए ।

सञ्चार मन्त्रालयका सचिव राजकृष्ण सुवेदीले ग्रामीण दूरसञ्चार कोषको उचित प्रयोग र ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सेवा सुनिश्चित गर्ने काममा लक्षित हुन प्राधिकरणलाई सुझाव दिए । अहिले पनि ग्रामीण क्षेत्रमा फोन नलाग्ने, सेवा पुहँच नै नपुगेको जस्ता समस्या भएकोले त्यतातर्फ पनि नियामकको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्