Logo

होटल पूर्वाधार र पर्यटक संख्या

मुलुकको अर्थतन्त्रमा सुस्तता आउन थालेको करिब डेढ वर्ष हुन लागेको छ । अहिले अधिकांश उद्योगी–व्यवसायी लगानी नगरेर ‘पर्ख र हेर’ को अवस्थामा छन् । आन्तरिक माग नभएको भन्दै उद्योगहरूले पनि क्षमताको ४० प्रतिशत हाराहारी उत्पादन गरेका छन् । आर्थिक गतिविधिका हिसाबले मुलुकको पूरै माहोल बिग्रेको छ । तर, यस्तोमा पनि पर्यटन क्षेत्रमा भने थप लगानी रोकिएको छैन । पर्यटन व्यवसायीहरूले जोखिम लिएरै भए पनि लगानी थपिरहेका छन् ।

पछिल्लो समय होटल व्यवसायमा उदाउँदो समूहका रूपमा आएको पौवाले नेपालगन्जमा १ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण गर्न तयारी सुरु गरेको छ । गत साता होटलको शिलान्यास भएको छ । होटल निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । एक वर्षभित्रमा इभेन्ट सेन्टर बनाउने र दुई वर्षभित्र संरचना निर्माणको काम पूरा गरी आंशिक रूपमा होटल सञ्चालनमा आउनेछ । क्यासिनोसहित पूर्ण रूपमा सञ्चालनमा ल्याउन तीनवर्षे लक्ष्य राखिएको छ ।

होटलमा ८० वटा डिलक्स रुम, स्विमिङ पुल, क्यासिनो र स्पालगायत सम्पूर्ण सुविधा रहनेछन् । यस्तै फरक–फरक स्वाद र परिकारका दुईतले भवनमा ५ रेस्टुरेन्ट, ४ ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्विट रुमसहित बनाइनेछ । होटलमा पौवा ग्रुपले ५१ प्रतिशत लगानी गर्ने र ४९ प्रतिशत स्थानीय, उद्योगी–व्यवसायीलाई साझेदार बनाउने सोच राखेको छ । स्थापनाको आठ वर्षमा लुम्बिनी प्रदेशका प्राय: सबै पर्यटकीय स्थलमा पौवा ग्रुप पुगेको छ ।

सरकारले हवाईजहाज मात्र होइन, हाम्रा होटलहरूमा खर्च गर्न सक्ने गरी स्थलमार्गबाट कति पर्यटक आउँछन्, त्यसको यथार्थ तथ्यांक लिन सक्नुपर्छ ।

कर्णाली प्रदेशको जुम्ला, गण्डकीको पोखरा, सुदूरपश्चिमको धनगढी तथा बागमती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा पुगेको छ । यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुंगामा अन्तर्राष्ट्रिय स्तरको रिसोर्टसहित होटल सञ्चालनमा छ । नेपालगन्जलाई नेपाली पर्यटन बजारको पश्चिमको मूलढोकाका रूपमा लिइन्छ । यहाँ भारतीय पाहुनाहरू बढी आउने गर्छन् । भारतीयलाई नै लक्ष्य गरेर देशकै पुरानो होटल सोल्टीले पनि यहाँ होटल सञ्चालनमा ल्याएको धेरै भएको छ ।

यस्तै अन्य समूहहरूका होटल पनि यहाँ खुलिरहेका छन् । खासगरी यो क्षेत्रबाट मानसरोवर यात्रामा जान भारतीयहरू नेपालगन्ज आउने गर्छन् । यिनै पाहुनालाई तान्ने उद्देश्यले यहाँ धेरै समूहले होटल सञ्चालनमा ल्याउने गरेका छन् । त्यसैमध्येको एउटा पौवा ग्रुप पनि हो । अहिले मुलुकभरमा साना–ठूला सबै खाले गरी वार्षिक ४० लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने होटल पूर्वाधार तयार भएको छ । ३ करोड जनसंख्या भएको सानो मुलुकमा यो पूर्वाधार पक्कै सानो होइन ।

होटल व्यवसायीले जोखिम लिएर पूर्वाधार बनाए पनि ती पूर्वाधारहरू पूर्ण क्षमतामा चल्ने गरी पर्यटक ल्याउन सकिएको छैन । सरकार आफैंले वार्षिक १० लाख पर्यटकको लक्ष्य राखेर हिँड्ने गरेको छ । सेवा दिन सक्ने क्षमता त्यसको तीन गुणा विस्तार भइसक्दा पनि लक्ष्य कम राखेर त्यसैअनुसार योजना र रणनीति बनाउनु पक्कै सुहाउने विषय होइन । अर्कातिर हवाई यात्रामार्फत आउने पर्यटकलाई मात्र पर्यटक मान्ने सरकारको नीतिले पनि अन्योल सिर्जना गराएको छ ।

नेपालमा आउने पर्यटकमध्ये स्थलमार्गबाट आउने भारतीयहरूको संख्या निकै छ । नेपाल आउने धेरै भारतीय धार्मिक र कम खर्च गर्ने खालका भए पनि केही भारतीयले तेस्रो मुलुकका पर्यटकले भन्दा बढी खर्च गर्छन् । खासगरी तराई र पोखराका अधिकांश होटलका यात्रु भारतीय हुन् । यी यात्रुमध्ये हवाईजहाजबाट आएका बाहेक अन्यलाई पर्यटकका रूपमा गणना गरिँदैन । पर्याप्त खर्च गर्ने गरी मुलुकभित्र कति पर्यटक आउँछन् भन्ने यकिन तथ्यांक राखिने गरेको छैन । सरकारी तथ्यांककै अभावमा पर्यटन व्यवसायीले थप लगानी र सेवा विस्तार गर्न जोखिम मोल्नुपर्ने अवस्था छ ।

पर्यटक पूर्वाधार निर्माणमा अर्बौं रुपैयाँ बैंकबाट कर्जा गएको छ । सही तथ्यांक अभावमा जोखिम लिएर लगानी गरेको रकम डुब्यो भने त्यसले बैंकलाई पनि सँगै डुबाउँछ । बैंक डुब्नु भनेको सर्वसाधारणको पैसा डुब्नु हो । त्यसैले सरकारले हवाईजहाज मात्र होइन, हाम्रा होटलहरूमा खर्च गर्न सक्ने गरी स्थलमार्गबाट कति पर्यटक आउँछन्, त्यसको यथार्थ तथ्यांक लिन सक्नुपर्छ । अन्यथा, पूर्वाधार बढ्दै जाने तर पर्यटक नआएर लगानी डुब्ने अवस्था आउन सक्छ । समस्या आउनुभन्दा बेलैमा व्यवसायी र सरकार दुवैले सोच्नु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्