Logo

जुम्लामा करोड लगानीको ह्युम पाइप उद्योग

जुम्ला– जिल्लामै पहिलोपल्ट ह्युम पाइप उत्पादन उद्योग खुलेको छ । तातोपानी गाउँपालिका–६ स्थित कर्णाली राजमार्गको छेउमा खड्का ह्युम पाइप उद्योग सञ्चालनमा आएको हो ।

उद्योगले कर्णालीको विकास–निर्माणलाई गति दिन मद्दत गर्नुका साथै निर्माण सामग्रीमा बढ्दो परनिर्भरता अन्त्य गर्न सहयोग पुग्ने उद्योग सञ्चालक रामदेवी खड्काले बताइन् । स्थानीय स्रोतसाधन सदुपयोग, आन्तरिक राजस्व वृद्धि र रोजगारी सिर्जनामा समेत उद्योगले टेवा पु¥याउने उनको भनाइ छ । करिब एक करोड लगानीमा उद्योग सञ्चालनमा आएको हो ।

‘जुम्लासहित कर्णालीमा ह्युम पाइपको माग बढ्दो छ । भौगोलिक रुपले विकट कर्णालीमा साना खोलानाला धेरै छन्, जहाँ ह्युम पाइपकै प्रयोगले सडक सुचारु हुन्छन् । तर, बाहिरबाट ल्याउनुपर्दा महँगो पर्नेदेखि निर्माणमा ढिलाइ हुने भएकोले जुम्लामै ह्युम पाइप उत्पादन थालेका छौं,’ उनले भनिन्, ‘सुर्खेत, नेपालगन्जभन्दा सस्तो मूल्यमा दिनेछौं । यसले निर्माण व्यवसायीलाई राहत हुने अपेक्षा छ ।’

उद्योगको शनिबार कर्णाली प्रदेशका उद्योगमन्त्री कृष्णबहादुर बिसीले उद्घाटन गरे । मन्त्री बिसीले जुम्लामै खोलिएको उद्योगले कर्णालीको मागलाई पूर्ति गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘उद्योग सञ्चालनपछि ह्युम पाइप खरिदका लागि बाहिरिने करोडांै बजेट जिल्लामै रोकिनेछ । युवाले रोजगारी पाउनेछन् । जिल्लामै सस्तोमा निर्माण सामग्री पाउँदा व्यवसायीलाई राहत हुनेछ ।’ स्थानीय गिटी–बालुवाको सदुपयोग हुनुका साथै राजस्व पनि वृद्धि हुने भएकोले दुर्गममा स्थापना हुने यस्ता उद्योगको निरन्तरता र प्रवद्र्धनमा जोड दिनुपर्ने मन्त्री बिसीको भनाइ छ ।

ह्युम पाइप उद्योगले २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगमा ७ जना भारतीय दक्ष कामदार आएका छन्, जसले पाइपको डिजाइनदेखि सिमेन्ट, बालुवा, गिटीको परिमाण निक्र्योल गर्छन् । यसैगरी स्थानीय ८ जनाले रोजगारी पाएका छन् । स्थानीय कामदारले सिमेन्ट र बालुवा मिसाउने, मेसिन सञ्चालनमा सघाउने काम गर्छन् ।

सामान ढुवानीका लागि ४-५ जना सवारी चालकले रोजगारी पाएका छन् । अप्रत्यक्ष ज्यालादारी र अन्य कामबाट थुप्रैले रोजगारी पाएको उद्योग सञ्चालक खड्काले उल्लेख गरिन् । यहाँ उत्पादित पाइप जुम्लामात्र नभई दैलेख, कालिकोट, मुगु, डोल्पालगायत जिल्लामा समेत पु¥याइनेछ । माग बढ्दो क्रममा रहेकोले बजारको समस्या नहुने सञ्चालक खड्काको भनाइ छ ।

उद्योगले एकदेखि चार फिटसम्मका ह्युम पाइप उत्पादन गर्नेछ । पाइपको लम्बाइ साढे दुई मिटरसम्मको हुनेछ । अर्डरनुसार सबै खालका ह्युम पाइप उत्पादन गरिने उद्योगले जनाएको छ ।

जुम्लामै पाइप उत्पादन हुन थालेसँगै महँगोमा बाहिरी जिल्लाबाट ल्याएर निर्माण गर्नुपर्ने बाध्यता अन्त्य भएको निर्माण व्यवसायीले बताएका छन् । साना खोलानाला थुप्रै भएको जुम्लामा सडक निर्माणदेखि नाला र ढल निकास सहजताका लागि ह्युम पाइप प्रयोग हुने भएकोले जिल्लामै उत्पादन हुँदा निर्माण छिटो हुने आशा निर्माण व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्