Logo

बैंकिङ क्षेत्रमा प्रविधि

नेपालले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपश्चात् निजी क्षेत्र, विदेशी संयुक्त लगानीका बैंक तथा विदेशी बैंकका शाखाहरू नेपालमा विस्तारित भएका हुन् । राष्ट्रले निजीकरण, विश्वव्यापीकरण र आर्थिक उदारीकरणको नीति अवलम्बन गर्नु बैंकिङ तथा प्रविधिको प्रयोग तथा विकासका लागि वरदान साबित भएको हो । वि.सं. २०३७ को वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् प्रविधिको प्रयोग बढ्दै गएको हो ।

वि.सं १९९४ मा नेपाल बैंकको स्थापनाबाट नेपालमा औपचारिक बैंकिङको सुरुवात भयो, जसले वि.सं. २०४८ देखि ‘वाईबी पास’ नामको सफ्टवेयर आफ्नो मुख्य शाखाबाट प्रयोगमा ल्याएको थियो । स्थापनाको समयमा ढड्डामा कारोबारको रेकर्ड राख्ने बैंकहरू अहिले पूर्ण रूपमा प्रविधिमा आधारित भइसकेका छन् । पेपरलेस बैंकिङ, क्यासलेस बैंकिङ अवधारणाको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकको सफा नोट नीति, बैंकिङ प्रविधिको सुरक्षित प्रयोगका लागि राष्ट्र बैंकले प्रकाशित गर्ने गरेका जनचेतनामूलक सूचना तथा सन्देशहरूले बैंकहरूलाई थप प्रोत्साहित गरेको छ ।

सबै स्थानीय निकायमा वाणिज्य बैंकको कम्तीमा एक शाखा पुर्याउने नेपाल सरकारको नीति प्रविधिको प्रयोगबाट नै सम्भव भएको हो । अहिले झन्डै ९३ प्रतिशत जनताले मोबाइल फोनको प्रयोग गर्छन् र सामान्य बैंकिङ कारोबारहरू मोबाइलबाटै गर्न सकिने भएको छ । ई–बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, युटिलिटी पेमेन्ट, एबिबिएस सेवा, इसिसी, आइपिएस, एटिएम, क्युआर, डिम्याट, आस्बा-सिआस्बा आदि डिजिटल बैंकिङका प्रमुख र प्रचलित उदाहरणहरू हुन् । बैंकहरूले सम्पूर्ण कारोबारलाई कम्पुटराइज गर्नका लागि पुमोरी, फिनाकल, ग्लोबस आदि सफ्टवेयरहरूको प्रयोग गरेका छन् ।

प्रायः व्यापार–व्यवसाय, स्कुल, हस्पिटल, सिनेमा हललगायतका नगद कारोबार हुने ठाउँहरूमा अहिले क्युआर कोड मेसिन राखिएकै हुन्छ र ग्राहकहरूले पनि नगद लेनदेन भन्दा डिजिटल ट्रान्सफर नै खोजिरहेका हुन्छन्, जसले नोटको सदुपयोग तथा हिफाजत, नोट छाप्ने खर्चमा कमी र बैंकहरूको सञ्चालन खर्चमा कमी ल्याएको छ । यसलाई बैंकिङ क्षेत्रमा प्रविधिको ठूलो उपलब्धि मान्नुपर्छ । अहिलेको समयमा प्रविधि बैंकिङ क्षेत्रलाई अगाडि बढाउने प्रमुख माध्यम बनेको छ । प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धी ग्राहक सेवा, नयाँ र प्रतिस्पर्धी प्रडक्टहरूको विकासका लागि प्रविधि अपरिहार्य भएको छ । आजभोलि बैंकको ५० प्रतिशतभन्दा बढी डिजिटल कारोबार हुन्छ ।

बैंकका तर्फबाट हेर्दा कारोबारहरू लामो समयसम्म सुरक्षित र व्यवस्थित राख्नका लागि सहयोग भएको छ । पुरानो ढड्डा प्रणालीमा जस्तो कारोबारको रेकर्ड नै छुट्ने, कारोबारको रेकर्ड लामो समयसम्म राख्न गाह्रो हुने समस्याको समाधान गरिदिएको छ प्रविधिले । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम शाखा सञ्जालहरू विस्तार गर्न सहज भई शाखा सञ्जालहरूको नियमन नियन्त्रण गर्न सहज भएको छ । प्रशासनिक, कर्मचारी तथा अन्य सञ्चालन खर्चहरू कम हुँदै गएको छ । ३ सय ६५ दिनै बैंकिङ सेवा–सुविधा दिन सकेको छ । ग्राहक, नियमन निकाय तथा अन्य सरोकारवालाहरूले मागेका रिपोर्ट तथा सूचनाहरू सजिलै उपलब्ध गराउन सकिएको छ ।

ग्राहक तथा सर्वसाधारणको दृष्टिकोणबाट हेर्ने हो भने दूरदराजमा बसेका उद्यमीहरूले आफ्नो सीपको प्रयोग गरी उत्पादन गरेका वस्तु तथा सेवा देशका जुनसुकै ठाउँमा बिक्री गरी मोबाइल बैंकिङका माध्यमबाट सजिलै भुक्तानी पाउन सकिने व्यवस्था प्रविधिकै देन हो । वस्तु तथा सेवा बिक्री गरेबापत नगद नै पाउनका लागि छुट्टै समय छुट्ट्याउनुपर्ने, नगद व्यवस्थापन गर्नुपर्ने, नगद राख्न तथा झिक्नका लागि बैंकसम्म धाउनुपर्ने बाध्यता हटेको छ । नगद कारोबारहरूको रेकर्ड बैंक खातामा पनि रहने हुँदा लेखा कार्यका लागि सहज भएको छ । विदेशमा रहेका नेपालीहरूले आफ्नो कमाइ सजिलै नेपालमा पठाई प्राप्त गर्नेले पनि सहज रूपमा पाउन सकेका छन् ।

सरकारका तर्फबाट हेर्ने हो भने भ्रष्टाचार नियन्त्रणका लागि पहिलो उपाय बनेको छ । सबै सरकारी कारोबार बैंक खातामार्फत हुनुपर्ने, खोलौँ बैंक खाता अभियान, तलब तथा भत्ताहरू बैंक खातामार्फत नै भुक्तानी हुनुपर्ने व्यवस्थाले भ्रष्टाचार न्यूनीकरणमा सहजता भएको छ । बजेट व्यवस्थापन तथा भुक्तानी प्रणालीमा सहजता, सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता, अझ भन्नुपर्दा सरकारी खाताहरूको बेरुजु रकम नै पहिलेको तुलनामा धेरै घट्दै भएको छ । कारोबारको लेखांकन नै सरल, सहज, छिटोछरितो भएको महसुस हुन्छ ।

यी सबै सहजताका पछाडि बैंकिङ प्रणालीको ठूलो योगदान देखिन्छ, त्यसभित्र पनि प्रविधिको सबैभन्दा महत्वपूर्ण योगदान छ । सायद बैंकिङमा प्रविधि नहुँदो हो त पुरानो ऐंचोपैंचो प्रणाली अझै पनि चलिरहेकै हुन्थ्यो, उद्योग–व्यवसायहरू पहिलेकै शैलीमा चलिरहन्थे, आर्थिक वृद्वि, विकास कछुवा गतिमा नै रहन्थ्यो । यसरी बैंकिङ प्रणालीमा प्रविधिलाई आधार मानेर हेर्दा केही वर्षअगाडिको समयभन्दा अहिले हामी अर्कै संसारमा पो छौँ कि भन्ने अनुभूति हुन्छ । बैंकिङ प्रणली तथा प्राविधिका कारण आर्थिक वृद्वि र विकासले छोटो समयमा यति धेरै फड्को मारिरहँदा चुनौतीहरूको चुली बढ्दो छ ।

नेपाल विकासोन्मुख, भूपरिवेष्टित, प्राकृतिक विविधताको राष्ट्र । आवश्यक स्रोतसाधनमा हामी धनी छैनौँ, दक्ष प्राविधिकहरू आयात नै गर्नुपर्छ । झन् प्रविधिलाई आधार मान्ने हो भने त पढेर भन्दा पनि परेर जानिएको छ । घटना घटिसकेपछि मात्र यस्तो जोखिम पनि हुँदो रहेछ, यसको न्यूनीकणका लागि यस्ता उपायहरू अपनाउँदा ठीक होला भन्ने अवस्था छ । बैंक भन्ने शब्द नै सबैलाई थाहा थिएन । बल्ल अहिलेचाहिँ पैसा बैंकमा राख्नुपर्छ, बैंकले पैसा राखेबापत ब्याज दिन्छ अनि आफूलाई चाहिँदा ऋण लिन पनि पाइन्छ भन्नेसम्म सबै सर्वसाधारणले बुझेका छौँ ।

तर, हामीमध्ये जानेबुझेको पढेलेखेकै व्यक्तिहरू पनि मोबाइल बैंकिङबाट कारोबार गर्न डराउँछौँ र मोबाइलबाट कारोबार गर्दा खाताको पैसा हराउन सक्छ भन्ने मानसिकता कायम नै छ । यो मानसिकता आउनुपछाडिका घटनाहरूलाई अब दोहोरिन दिनु हुँदैन । झन् पढ्न–लेख्न नसक्ने व्यक्तिलाई त प्रविधिमैत्री बनाउनु झनै ठूलो चुनौती छ । भौगोलिक विकटताका कारण कतिपय शाखा सञ्जालमा पूर्ण रूपमा प्राविधिक बैंकिङ बनाउन अलि बढी खर्चिलो हुने गरेको छ । अहिलेको जल्दोबल्दो अवस्थालाई हेर्दा कतिपय सामाजिक सञ्जालमा सत्यतथ्य कुरा नबुझी जथाभावी समाचारहरू सम्प्रेषण गरिदिनाले बचतकर्ताहरूमा भ्रम पनि पैदा भएको छ ।

यी सबैको पहिलो उपाय भनेको बैंकिङ साक्षरता बढाउनु नै हो । सर्वसाधारणका लागि डिजिटल बैंकिङबारे जानकारीमूलक कार्यक्रमहरू लिएर बैंक तथा वित्तीय संस्थाहरू आफू स्वयम् ग्राहकहरूको अगाडि सीधा उपस्थित हुनुपर्छ । नयाँ प्रणाली प्रयोगको तरिका, यसमा हुने जोखिम, अपनाउनुपर्ने सजगताका बारेमा पूर्ण जानकारी दिनुपर्छ । नियमित आइटी अडिट गर्ने-गराउने, भरपर्दो र प्रमाणित सफ्टवेयर मात्र खरिद गर्ने, कर्मचारीहरूलाई पनि समय–समयमा आइटी सेक्युरिटीबारे तालिमहरू दिने गर्नाले बैंक तथा वित्तीय संस्था आफू स्वयम्बाट बैंकिङ प्रणाली प्रविधिमैत्री र सुरक्षित बन्न सक्छ ।

सर्वसाधारण ग्राहकले पनि बैंकले सिकाएअनुरूपका सजगता अपनाई कारोबार गरेमा आफूलाई सहज र आफ्नो कारोबार पनि सुरक्षित हुन्छ । सरकार तथा अन्य नियामक निकायहरूले जनचेतनामूलक कार्यक्रमहरू गर्ने, नयाँ प्रविधि भित्र्याउन तथा तिनीहरूको सुरक्षाका लागि सहजीकरण गरिदिनाले देशको आर्थिक वृद्वि विकासमा थप सहयोग हुनेछ । यसरी बैंकिङ प्रणाली नै देश विकासको मेरुदण्ड हो । बैंकहरूको योगदान अझ बढाउनका लागि डिजिटल बैंकिङलाई प्रोत्साहन, सुरक्षित र भरपर्दो बनाउनुपर्छ, जसका लागि बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र नियामक निकायहरू सबैको सहकार्य हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्