Logo

हिमपातले कर्णाली सेताम्मे, हवाई उडान अवरुद्ध

कर्णालीमा शनिबारदेखी हिमपात हुँदा सेताम्य रहेको बस्ती । तस्बिर/रेशमराज रोकाया

हुम्ला- हिमाली जिल्ला हुम्लामा लगायत कर्णालीका जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शनिबार रातिदेखि लगातार हिमपात भएको छ । शनिबार दिउँसो हुम्लाको सदरमुकाम सिमकोटसहित कर्णालीका होचो स्थानमा पानी परेको थियो भने उत्तरी उच्च भेगमा हिमपात भएको हो ।

रातिदेखि हिमपात हुँदा सिमकोट, नाम्खा लगायतका भेग सेताम्ये देखिएका छन् । सिमकोटमा तीन इन्चसम्म हिउँ जमेको छ । उत्तरी भेगमा त्यो भन्दा बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी गोर भण्डारीले बताए । लिमी अहिले पनि सामान्य हिमपात हुनुका साथै चिसो अत्याधिक बढेको स्वास्थ्यकर्मी भण्डारीले बताए ।

सिमकोटसहित क्षेत्रमा आइतबार बिहान हिउँ रोकिएपनि अहिले बाक्लो बादल लाग्नुका साथै हिउँ पर्न सुरु भएको छ । यतिबेला परेको हिउँले किसान उत्साहित भएका छन् । फागुन महिनाको अन्त तिर परेको हिउँले कात्तिके बालीका लागि खेतमा खनजोत गर्न सजिलो हुनुका साथै बिउबिजन छर्न समेत सहज हुने भएको किसान प्रेम भण्डारीले बताए ।

फागुन महिनाको अन्तिमदेखि चैत पहिलो साताभित्र जिल्लाका किसानले खुर्सानी, मकै छर्न सुरु गर्ने भएको उनले बताए । त्यसलगत्तै कोदो, चिनो र आलु रोप्नका लागि खेत मलिलो बनाउन सुरु गर्ने गरेको उनले बताए । यो पटक परेको हिउँले जमिन भिज्नुका साथै किसानलाई खनजोत गर्न सहज हुने भएको छ । यस्तै जिल्लाका एक मात्रै अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातको साधन दुई दिन अवरुद्ध भएको छ ।

शनिबार दिनभर पानी पर्दा अवरुद्ध भएको हो भने आइतबार बिहानैदेखि जिल्लामा बाक्लो लागेका कारण अवरुद्ध हुन पुगेको हो । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् । नेपालगञ्ज, सुर्खेतदेखि यात्रु सिमकोट आउन सकेका छैनन् । व्यवसायी, निर्माण कम्पनी, खाद्यान्न सागम्री ढुवानी हुन सकेको छैन । जिल्लामा मंसिर, पुस, माघ तीन महिना हिमपात भएको थिएन । फागुनदेखि हिउँ पर्न सुरु भएको हो । जिल्लामा पाँचौ पटक हिमपात भएको हो ।

प्रतिक्रिया दिनुहोस्