सचिवमा दीपक ओलीले उम्मेदवारी दिने «

सचिवमा दीपक ओलीले उम्मेदवारी दिने

यूएई – गैरआवासीय नेपाली संघ इजरायलका पूर्व अध्यक्ष, पूर्व आईसिसी सदस्य दिपक प्रसाद ओलीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् । एनआरएन इजरायलको अध्यक्ष, दुई कार्यकाल एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए इजरायलको वर्तमान कार्यसमितिको संरक्षक समेत रहेका ओलीले इजरायलको अध्यक्ष हुँदा थुप्रै काम गरेका छन् ।
देश विकासमा युवाको भूमिका महत्वपूर्ण हुने गरेता पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट मुलुकले रेमिट्यान्स बाहेक खासै लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै ओलीले आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सृजना गर्न हदैसम्मको पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
भ्रमण वर्ष २०२०, सामूहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि बढाउन हदैसम्मको दबाब सृजना गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् । समग्रमा एनआरएनएलाई पूर्ण रुपमा मातृभूमिको हितमा समर्पण गरी सरकारले ल्याएको आर्थिक समृद्धिको यात्रामा सारथी बनेर अगाडि बढ्ने ओलीको भनाइ छ ।
इजरायलमा एनआरएन गठन हुनुभन्दा पहिले नेपाली कामदार सहयोगी मञ्च इजरायल स्थापना गरेर मजदुरको पक्षमा काम गर्दै आएका दिपक ओली एनआरएनए एनसीसी इजरायलको महासचिव, एनआरएनए आइसीसी सदस्य, दुई पटक एनआरएनए एनसीसी इजरायल अध्यक्ष पदमा रहेर एनआरएनएको अनुभव संगालेका छन् । यसविचमा अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि उनको प्रत्यक्ष वा अप्रत्यक्ष सामाजिक सहभागिता रहँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्