Logo

बैंक वित्तीय क्षेत्रमाथि अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैनः गभर्नर

महाप्रसाद अधिकारी , गभर्नर, नेपाल राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए ।

उनले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे ।

उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताए । उनले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए । उनले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताए । उनले कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने बताए ।

यस्तै, गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रीय अनुसन्धान ब्युरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । उनले राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए ।

उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए । उनले बैंकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले केही साथीहरु पक्राउ परेभन्दैमा बैंकर्सहरु आंतकित हुन नहुने बताए । उनले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने धारणा राखे ।

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । गभर्नर अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताए । उनले केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताए ।

उनले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गरे । उनले बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताए । उनले बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गरे । उनले बैंकहरुको खराब कर्जा बढ्नमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको दाबी गरे ।

उनले यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताए । उनले बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पती रहेकाले डराउनु पर्ने अवस्था नभएको बताए । उनले राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताए । उनले बैंकहरुको आन्तरिक परिस्थितिले कँही अफ्ठ्याराहरु देखापरे पनि समाधान हुने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्