ठेकेदारको लापरबाहीले पुल अलपत्र

डडेल्धुरा अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माण भइरहेको मोटरेबल पक्की पुल अलपत्र परेको छ । ठेकेदारको ढुलासुस्ती र लापरबाहीका कारण निर्माणाधीन पुल अलपत्र परेको हो । निर्माण कम्पनीले निर्माणकार्य बीचमै छोडेर फरार भएपछि निर्माण कार्य रोकिएको हो ।
साविकको मणिलेक गाविसलाई जिल्ला सदरमुकामसँग जोड्ने प्रमुख सडकमा पर्ने उक्त पुलको २०७३ साल असार महिनामा निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । उक्त निर्माणको जिम्मेवारी जाग्रृती निर्माण सेवा प्रालिका नाममा छ । निर्धारित समयमा निर्माणकार्य सम्पन्न हुन नसक्दा सडक डिभिजन कार्यालय कुलपातेले ६ महिनाअघि म्याद थप गरेको थियो । थप म्यादमा पनि निर्माण कम्पनीले सन्तोषजनक काम गर्न नसकेपछि सडक विभागले म्याद थप गरेको छैन ।
पुल निर्माणको समयावधि सकिँदा पनि पुलको दुई पिल्लरसम्म पनि पूर्णरूपमा निर्माण हुन सकेका छैनन् । सोही पुलसँगै सम्झौता गरी जिल्लामा निर्माण भइरहेका एक दर्जन पुल चालू आवभित्र निर्माण सम्पन्न हुन लाग्दासम्म रडुवा खोलाको पुलको पिल्लरसम्म निर्माण हुन सकेको छैन । २५ मिटर लम्बाइ भएको पुलको लागत मूल्य अभिवृद्धि करसहित १ करोड १० लाख रुपैयाँ रहेको थियो । पुल निर्माण नहुँदा वर्षात्को समयमा यातायात सञ्चालनमा आवतजावत गर्नका लागि समस्या हुने गरेको स्थानीय बताउँछन् । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सास्ती भोग्नु परिरहेको स्थानीय बासिन्दा रामदत्त अवस्थीले बताए ।
निर्माणको जिम्मेवारी लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने स्थानीय बासिन्दा एवं कांग्रेस डडेल्धुराका सचिव लक्ष्मी अवस्थीले बताए । अब पनि पुल निर्माणको काम सुरु गरिएन भने निर्माणको जिम्मेवारी लिने ठेकेदारलाई कारबाहीका लागि माग गर्ने समेत सचिव अवस्थीले जानकारी दिए । अन्य समयमा पुलको कामको आवश्यकता नभए पनि वर्षात्को समयमा भने यातायात सञ्चालन हुन नसक्दा समस्या हुने गरेको छ ।
निर्माण कम्पनीलाई पत्राचार गरिएको र एक साताभित्र सम्पर्कमा नआए कालोसूचीमा राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय कुलपातेका इन्जिनियर महानन्द जोशीले जानकारी दिए । उनले भने, “ठेकेदारको लापरबाहीका कारण पुल निर्माणकार्य अलपत्र छ । पटकपटक पत्रचार गरेका छौं अब निर्माण कार्य द्रुतगतिमा अघि नबढे कानुनी कारबाहीको प्रक्रिया थालिने इन्जिनियर जोशीले बताए ।
निर्माण कम्पनीका प्रबन्ध निर्देशक पप्पु खड्काले भने, “आफ्नो कम्पनीको नाममा ठेक्का सदर भएको भए पनि पेटी ठेकेदारका कारण समस्या आएको बताउँछन् ।” मेरो फर्मका नाममा ठेक्का सदर भए पनि पेटी ठेकेदारले काम नगर्दा यस्तो समस्या आएको बताउँदै ख्डकाले आफूले छिट्टै काम सुचारु गर्ने बताए । आफ्नो फर्मबाट अर्काले काम लिएको हो तर उसले काम गरिदिएन र सम्पर्कमा पनि आएको छैन खड्काले दुःखेसो पोख्दै भने, “अहिलेसम्म जे भयो भयो अब त्यस्तो हुन दिनेछैन भन्दै आलटाल गरेका छन् ।”
–हरिश चन्द