Logo

‘सिक्दै कमाउँदै’ कार्यक्रमबाट लाखौंको कारोबार

वीरगन्ज– वीरगन्जमा एक निजी कलेजले आयोजना गरेको ‘सिक्दै कमाउँदै’ कार्यक्रमबाट लाखौंको कारोबार भएको छ । वीरगन्ज कलेजले शुक्रबार र शनिबार दुई दिनका लागि आयोजना गरेको ‘खाना तथा सांस्कृतिक’ मेलाको पहिलो दिन नै झण्डै ११ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

शनिबार राति १० बजेसम्म लाग्ने मेलामा झण्डै ३० लाख बराबरको कारोबार हुने अनुमान गरिएको वीरगन्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्रकुमार चौधरीले बताए । शुक्रबारभन्दा शनिबार मेलामा भीड दोब्बर रहेकाले पनि दोस्रो दिन दोब्बर कारोबार हुने अनुमान रहेको उनले बताए । वीरगन्ज कलेजले विद्यार्थीका लागि ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत उद्यमशीलताको विकास गर्न र बारा–पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको मेलाको यो दोस्रो संस्करण हो ।

दिउँसो २ बजेदेखि राति १० बजेसम्म वीरगन्ज कलेजका विद्यार्थीको ३२ वटा स्टलमा विभिन्न स्थानीय थारु समुदायको खानाको परिकार घुँगी, केकरालगायत पानीपुरी, दही पुरी, सेल र चाइनिज खाना मःम को पनि स्टल राखिएको छ । विद्यार्थीहरू आफैले पकाउने, बिक्री गर्ने र बिक्रीबाट जम्मा भएको पैसा पनि विद्यार्थीले लिने गरी कलेजले व्यवस्थापन गरिदिएको हो ।

गत वर्ष पनि कलेज र वीरगन्ज महानगरपालिकाको सहयोगमा विद्यार्थीले दुईदिने सांस्कृतिक खाना तथा मेलाको आयोजनाले सफलता पाएको र यसवर्ष सबैको साथ र सहयोगले कार्यक्रम सफल भएको कलेजका अध्यक्ष डा. चौधरीले बताए । निजी शैक्षिक संस्थाले गरेको कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि प्रशंसा गरे ।

उनले भने, ‘हामी बालबालिकाको पढाइ भन्छौं । त्यसपछि एसईई गरेपछि जागिर भन्छौं । तर, विद्यार्थीलाई तल्लो कक्षादेखि नै पढ्दै कमाउन सिकायौं र हरेक स्थानीय तहले यसरी नै गर्ने हो भने नेपालमा बेरोजगारी समस्या आफै हट्छ । अहिले देशमा सबैभन्दा ठूलो समस्या बेरोजगार हो । कामका लागि लाखौं युवा विदेश पलायन भएका छन् । यसरी नै स्थानीयस्तरमा नै युवालाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउन सकियो भने रोजगारी यहीं सृजना हुन्छ ।’

निजी कलेजले आयोजना गरेको मेलाबाट आफू प्रभावित भएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए । कलेजका विद्यार्थीलाई साबुन, सर्फ र गुडिया बनाउने तालिमसमेत दिइएको र उनीहरूले नै बनाएका साबुन, सर्फ र गुडिया पनि मेलामा राखिएको देखेर पालिका अध्यक्ष यादवले आफूले आगामी आर्थिक वर्षको बजेटमा विद्यार्थीको प्रोत्साहनका लागि बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष यादवले गरेको प्रतिबद्धताको स्वागत गर्दै वीरगन्ज कलेजका अध्यक्ष डा. चौधरीले उक्त बजेटबाट सखुवा प्रसौनी गाउँपालिकाकै स्थानीय विद्यार्थीका लागि खर्च गर्ने घोषणा गरे । बजारमा आर्थिक मन्दी र बेरोजगारको समस्या निकै चुनौतीको रूपमा रहेको अवस्थामा निजी कलेजले आयोजना गरेको मेलामा विद्यार्थीसँग अन्य सर्वसाधारणको पनि आकर्षण तथा स्थानीय तहका सरकार प्रमुखको चासोले पनि आगामी दिनमा मुलुकमा देखिएको बेरोजगारी समस्याको अन्त्य र रोजगारी सृजना हुने कलेजका प्रिन्सिपल विनोद गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्