Logo

सुर्खेतमा प्रदेशस्तरीय महिला सम्मेलन हुँदै

सुर्खेत– अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुर्खेतमा कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुने भएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमबार वीरेन्द्रनगरको सिटीहलमा महिला सम्मेलन हुन लागेको हो ।

सम्मेलनको प्रमुख अतिथिका रूपमा नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिएकी छन् । भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भएकाले विभिन्न ठाउँमा नेतृत्व गरिरहेका महिलाका लागि प्रेरणा बन्न सक्ने हुँदा प्रमुख अतिथिका रूपमा बोलाइएको ढकालले बताइन् ।

सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाका उपप्रमुख तथा महिलाले नेतृत्व गरेका स्थानीय तहका प्रमुखलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । यस्तै कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सदस्यका साथै वीरेन्द्रनगर नगरपालिकामा रहेर विभिन्न क्षेत्रमा नेतृत्व गरेका महिलालाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रममा आमा समूहदेखि पूर्वराष्ट्रपति महिलाको सहभागिता रहने नगर प्रमुख ढकालले जानकारी दिइन् ।

उनका अनुसार महिला स्वास्थ्य स्वंसेविका, आमा समूह, टोल विकास संस्था, विभिन्न उपभोक्ता समिति, समूह, संस्था सहकारी, कार्यालयको नेतृत्वमा रहेका महिला गरी करिब एक हजार जनाको सहभागिता रहनेछ । सम्मेलनलाई नेतृत्वमा वसेका महिलाका लागि प्रेरणाका साथै महिला बालबालिकाका क्षेत्रमा स्थानीय तहले गरेका राम्रा अभ्यासको सिकाइ आदानप्रदान गर्ने अवसरका रूपमा लिएको ढकालको भनाइ छ ।

उनका अनुसार कार्यक्रममा मुख्यगरी उपप्रमुख/उपाध्यक्षले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरूको अनुभव आदनप्रदान गरिनेछ । ‘हामीले सम्मेलनलाई नेतृत्व गरिरहेका महिलामा उत्प्रेरण थप्ने र सिकाइ आदानप्रदान गर्ने अवसरका रूपमा लिएका छौं,’ प्रमुख ढकालले भनिन्, ‘जुनुसुकै क्षेत्रमा काम गरिरहे पनि महिलाको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्ने र घोषणापत्र जारी गर्ने योजना छ ।’ हरेक वर्ष अंग्रजी महिना मार्च ८ तारेखका दिन अन्तर्राष्टिय महिला दिवस मनाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्