Logo

महोत्सवमा थारु समुदायको छुट्टै स्टल

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलो पटक थारु समुदायको छुट्टै स्टल राखिने भएको छ ।

यही फागुन २१ देखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा थारु समुदायको छुट्टै स्टल राखिने भएको हो । ‘कृषि उत्पादन तथा स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५औं संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको हो ।

मेलामा कञ्चनपुर र कैलालीका थारु समुदायको लोक संस्कृतिका साथै मौलिक खाने परिवारको प्रर्दशनसमेत गरिने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पहिलो पटक पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति धर्म, कला पहिरन संरक्षणका लागि थारु समुदायकै स्टल राखिन लागेको बताए । थारु गाँउ स्टलका संयोजक एव कञ्चनपुरका थारु अगुवा बेदप्रसाद चौधरीले लोप भइरहेको थारु समुदायको लोक संस्कृति, धर्म परम्परा, संरक्षण प्रर्वद्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए ।

‘नयाँ पुस्तामा लोप भइरहेको थारु धर्म, संस्कृति, परम्परा सरक्षण र प्रर्वद्धन गर्न खोजेका छौं’ उनले भने, ‘थारु समुदायलाई आत्मनिर्भर बनाउने महोत्सवको उद्देश्य छ ।’ १० दिन सञ्चालन हुने महोत्सवमा दुई लाखले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अनुमान गरिएकोसंघका अध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्