भरतपुर भ्रमण वर्ष २०२४ सुरुवात

चितवन– ‘घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गरिएको छ । नारायणी नदी किनारमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताए ।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखी अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकार क्रियाशील रहेको बताए । राष्ट्रकै पर्यटन प्रवद्र्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा सावित हुनेमा विश्वस्त रहेको बताउँदै प्रधानमन्त्री दाहालले भरतपुर भ्रमण वर्षले सौराहाबाट सोमेश्वर गढीसम्म, परेवाकोटबाट कुमरोजसम्म, सिन्ते झरनाबाट मौलाकालीकासम्म, इच्छाकामनाको सिराइचुलीबाट गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवद्र्धन गर्ने जानकारी दिए ।
महानगरपालिकाकी मेयर रेनु दाहालले विकासको मोडल हेर्न भरतपुर आउनुपर्ने बताइन् । उनले भरतपुर भ्रमण वर्षले स्वदेशी तथा विदेशी पर्यटक तान्न र चितवमा पर्यटकको बसाइँ लम्ब्याउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् । प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृंखला दृश्यावलोकन एवं समथर तराईको भू–भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षण रहेका छ ।
ऐतिहासिकस्थल, गढी, दरबार, संग्राहलय, पार्क, विभिन्न धार्मिकस्थल, मानवनिर्मित २२ वटा आकर्षक पर्यटकीय गन्तव्य रहेकाले यहाँको पर्यटनले फड्को मार्ने महानगरको विस्वास छ । कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु, विभिन्न दलका अध्यक्ष, सांसद र मन्त्रीहरुसमेत उपस्थित थिए ।