Logo

पूर्व–पश्चिम राजमार्गलाई ‘एशियन हाइवे’ बनाउन रुख काट्न सुरु

बिर्तामोड– पूर्व–पश्चिम राजमार्गलाई ‘एशियन हाइवे’ का रूपमा विकास गर्नका लागि झापाको काँकडभिट्टाबाट रुख काट्न सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म निर्माण गरिने ‘एशियन हाइवे’को सडक किनारमा पर्ने रुख धुलाबारीमा वैदिक विधिबाट पूजापाठ गरी काट्न सुरुवात गरेका हुन् ।

सरकारले पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने गरी एसियाली विकास बैंकको सहयोगमा राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउने भएपछि त्यस क्षेत्रमा पर्ने रुख काट्न सुरु गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

‘एशियन हाइवे’ निर्माणका लागि झापाको काँकडभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको बताउँदै उनले पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ वटा रुख काट्न थालिएको जानकारी दिए ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकडभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्बको लगानीमा सम्पन्न हुने गरी एभ्रासकन कालिका जेभीले ठेक्का लिएको बताउँदै उनले ‘एशियन हाइवे’ निर्माणको ठेक्का पाएको एभ्रासकन कालिका जेभीले दुई महिनाभित्रमा काँकडभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए ।

‘एशियन हाइवे’ निर्माणको काम सुरु गर्न त्यस क्षेत्रको रुख काट्नुपर्ने बाध्यता भए पनि रुख काट्ने अनुमति नआएकाले काम गर्न ढिलाइ भइरहेको अवस्थामा रुख काट्ने अनुमति पाएसँंगै रुख काट्न सुरु गरिएको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । रुख काट्न सुरु गरेसंँगै सडक विस्तारको काम पनि सुरु भइसकेको बताउँदै उनले ‘एशियन हाइवे’ निर्माणको काम द्रुतगतिमा अघि बढ्ने जनाए ।

सडक किनारमा पर्ने ११ हजार ५१३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको भए पनि हाल काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडक किनारमा पर्ने चार हजार ७२३ वटा रुख काट्न थालिएको उनले जानकारी दिए । सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको १० गुणाबढी बिरुवा रोपिने उनले बताए ।

‘एशियन हाइवे’ निर्माणका लागि रुख काट्ने र बाटो सम्याउने काम सुरु भएको बताउँदै उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम अघि बढाउँदै जमिनमुनिका पानीका पाइप र बिजुलीको खम्बा हटाइने जनाए । राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउँदै एसियन हाईवेको मापदण्ड कायम गर्ने सरकारी नीतिका आधारमा एसियन हाईवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको बनाउन काम अघि बढाइएको उनको भनाइ छ ।

एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउन लागिएको उनले बताए । कोशी प्रदेशका मुख्य तराईका ठूला जिल्ला झापा, मोरङ र सुनसरी जिल्लामा पर्ने ‘एशियन हाइवे’ निर्माणबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडाका १२ लाखभन्दा बढी बासिन्दा लाभान्वित हुने उनले जनाए ।

‘एशियन हाइवे’अन्तर्गत नेपाल–भारत सीमा नाका जोड्ने काँकडभिट्टाको ५७५ मिटर लामो मितेरी पुल एक वर्षअघि नै सञ्चालनमा आइसकेको बताउँदै उनले एक लाख ४० हजार किमि लामो हुने एशियन हाइवेले एसियाली देशलाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको जनाए । एसिया महादेशका ३२ मुलुकलाई ‘एशियन हाइवे’ले जोड्ने उनको भनाइ छ ।

कस्तो बन्दैछ ‘एशियन हाइवे’
एशियन हाइवेअन्तर्गत सडकको चौडाइ २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुनेछ । तत्काल ६ वटा ठूला पुल निर्माण गर्न लागे पनि आवश्यकता परे बीचमा अन्य साना पुल बन्नेछन् । काँकडभिट्टा–लौकही राजमार्गले ७१ खोला पार गर्नुपर्नेछ । ती सबैमा पुल निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिज रहेका छन् ।

दुवै साइटमा सर्भिस रोड पनि निर्माण गरिनेछ । सहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशे पुल वा अन्डरपास पनि निर्माण हुनेछ । जनावरको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेज, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टी निर्माण हुनेछन । सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०/५.५० मिटरको निर्माण गरिनेछ ।

यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको रहेको छ । सहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ । यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रूपमा निर्माण हुने बताइएको छ । यी पुलको लम्बाइ ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाइको हुनेछन् ।

यसैगरी, सडक खण्डमा आकाशे पुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ । सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्री स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ । १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ ।

तीन सय मिटरभन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौवटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्