डेढ अर्ब राजस्व संकलन

जनकपुरधाम– संघीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको फागुन १८ सम्म डेड अर्ब राजस्व संकलन गरेको छ । ७ हजार मेट्रिक टन रासायनिक मल बिक्री गरी एक अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले उक्त अवधिमा युरिया ३ हजार ९ सय, डिएपी ३ हजार, पोटास १०६ र कृषि चुन ४२ मेट्रिक टन बिक्री गरेको कार्यालयका लेखापाल बेचन कुमार साहले बताए । चैते र वर्षे धानको लागि आवश्यक पर्ने युरिया ४२१, डिएपी ८५ र कृषि चुन १० मेट्रिक टन मौज्दात अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धनुषा र महोत्तरीमा रहेका २०८ सहकारी संस्थामार्फत सम्बन्धित ठाउँमा रासायनिक मल पुर्याउने गरे पनि स्थानीय निकायले गरेको सिफारिसको आधारमा किसानहरूले मल पाउने गर्छन् । संघीय सरकारले किसानहरूलाई सहुलियत दरमा मल उपलब्ध गराउने भनिए पनि बिक्रेताहरूले स्थानीय निकायले तोकेको मूल्यमा मल बिक्री गर्दा महँगो हुने किसानहरूको गुनासो छ ।
नेपाली मल महँगो हुने र अर्कोतिर आवश्यकता अनुसार नपाउने भएपछि किसानहरू सीमावर्ती भारतीय बजारबाट मल किन्न बाध्य छन् ।