Logo

करोडौं लगानीको जैतुन खेती अलपत्र

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका २ जनप्रकाश माविको मैदानमा करोडौ रुपैयाँ खर्च गरेर रोपिएको जैतुन खेती अहिले अलपत्र अवस्थामा रहेको छ । जैतुन परियोजना सकिएसँगै जैतुन खेती पनि सुकेर काम नलाग्ने भएको हो । इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाएको जैतुन सन् २०१६ मा सफल भएको भन्दै परियोजना सकिएको थियो ।

तर परियोजना सकिएसँगै जैतुन सकिएको स्थानीय वासीले बताएका छन् । परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो । परियोजना सफल भएसँगै बाजुरामा जैतुनको सम्भावना रहेको भन्दै सरकारले जैतुन जोनको रूपमा घोषणा गरेको भए पनि उपलब्धि शून्य रहेको छ । कोल्टी क्षेत्रमा जैतुन जोनको सरकारी कार्यालय रहेको भए पनि कुनै काम नगरेको नागरिक अगुवा लक्ष्मण जोशीले बताए ।

जैतुन बाजुरामा हुने भन्दै सरकारी तथा गैरसकारी संस्थाले प्रचार प्रसार गरेका थिए । कुनै बेला जैतुनलाई कमाइ खाने भाडोको रूपमा लिइएको थियो । अहिले जैतुन परियोजना सकिएसँगै जैतुन पनि सकिएको नागरिक अगुवा जोशीको भनाइ छ । जनप्रकाश माविको मैदानमा जैतुन सफल भएको भन्दै सरकारी तथा गैरसरकारी संस्थाले अन्य ठाउँमा करोडौ रुपैयाँ लगानी गरेको भए पनि उपलब्धी शून्य भएको जोशी बताउँछन् ।

इटालियन परियोजनाले जैतुनको सफल परीक्षण गरेको भए पनि यहाँको सरकारी जैतुन जोनको कार्यालयले भने केही काम अगाडि नबढाएको उनले बताए । नेपाल सरकारले जैतुनका नाममा बाजुरा कार्यक्रम नै सञ्चालन गरेको भए पनि इटालियन सरकारले लगाएको जैतुन समेत सुकेको छ । इटलियन सरकारले बाजुरा, डोल्पा र काठमाडौंमा जैतुनको परीक्षण गरेको थियो । सो परीक्षणका लागि १४ लाख युरो खर्च भएको थियो ।

त्यसमध्ये ५० प्रतिशत अर्थात ७ लाख युुरो (करिब ९ करोड रुपैयाँ) बाजुरामा खर्च भएको थियो । सो परियोजनामा इटालीको तुसिया युनिर्भसीटीको प्राविधिक सहयोग रहेको थियो । ९ करोड बढी खर्च गरेको जैतुनका बिरुवा भएका क्षेत्र अहिले जनप्रकाश माविका विद्यार्थीको शौच गर्ने ठाउँ बनेको छ । परीक्षणका लागि कोल्टीमा ३.५ हेक्टर जमिनमा ६ सय ३६ जैतुनका विरुवा रोपिएको थियो । त्यसमा २८ प्रजातिको जैतुन लगाइएको थियो । त्यो बेला २४ परजातिका विरुवा फलेको तत्कालिन परियोजना अधिकृत जनेश भण्डारीले बताए ।

बाजुरामा हाल स्थानीय र विकसित जातका गरी करिब ३० प्रजातिको जैतुन रहेका छन् । त्यसमध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जात जैतुन सिफारिस गरेको भण्डारीले बताए । गरिबीको सूचिमा देशकै पहिलो स्थानमा रहेको बाजुरामा जैतुनलाई प्रवर्द्धन र विकास गर्न सकिए गरिबी दरमा घट्ने विज्ञहरुको भनाइ छ । बाजुराको वाइ जुकोट, कोल्टी, साप्पाटा, गोत्री जगन्नाथ, कोटिला, ब्रह्मतोला र बाह्रविसेलगायतका स्थानीय जातको जैतुन पाइने गर्छ ।

जंगलमा प्रशस्त्रै मात्रामा जैतुन भए पनि बाजुरामा संकलन गर्ने मेसिन र कुनै प्रविधि नभएका कारण चराचुरुगंले खाएको हेरेर वस्नु पर्ने बाध्यता रहेको स्थानीयले बताउने गरेका छन् । सरकारले नेपालका १० जिल्लामा सम्भावित जैतुन खेती हुने बताएको थियो । कर्णालीका ५ जिल्ला, सेतीको बाजुरा, बझाङ, अछाम र भेरीको रुकुम एवं जाजरकोट रहेको बताइएको छ । विश्वमा महँगो तेलका रूपमा चिनिने यो तेल नेपाली बजारमा प्रतिलिटर ३ हजारभन्दा माथि पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्