Logo

विकासको अभियान प्रारम्भ भयो

नुवाकोट– अर्थमन्त्री प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन् । विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोनाको संक्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको बताए ।

‘नेपालमा अब विकासले क्रमश: गति लिएको छ । हामी उद्यमी–व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ’, अर्थमन्त्री महतले भने,‘मूल्यवृद्धिको दर क्रमश: घट्ने क्रममा छ । सेयर बजार उकालो लाग्दैछ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।’ देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारका अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जनातर्फ केन्द्रित रहेका अर्थमन्त्रीले बताए ।

‘आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।’ बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीका अवसरमा अर्थमन्त्रीले विद्यालयका लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासको प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्