निजी क्षेत्रलाई कृषि उद्योग सञ्चालन गर्न आग्रह

भैरहवा– कृषि उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई परराष्ट्र मन्त्री एनपी साउदले आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६५औं वार्षिक साधारण सभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री साउदले सो कुरा बताएका हुन् । नेपालको ठूलो जनसंख्या कृषिमा संलग्न भएर पनि कृषि उपजमा नेपाल आत्मनिर्भर बन्न नसक्दा ठूलो परिमाणमा खाद्यान्न आयात गर्नु परेको भन्दै उनले उनले निजी क्षेत्रलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न आग्रह गरेका हुन् ।
विदेशमा रहेका नेपाली राजदूतावासमार्फत नेपाली उत्पादनको बजार अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न र विदेशी प्रविधि नेपालमा भित्र्याउन पहल गरिएको बताउँदै धेरैभन्दा धेरै कृषिसँग सम्बन्धित उद्योगमा लगानी गर्नु पर्ने उनको भनाइ थियो । मन्त्री साउदले भने,‘विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुलाई नेपालका लागि भिसा र पासपोर्ट उपलब्ध गराउने काममा मात्र सीमित नराखी नेपालको कुन उत्पादन कुन कुन मुलुकमा बेच्न सकिन्छ र नेपालमा भित्र्याउन सकिने त्यहाँको प्रविधिको पहिचान गर्न लगाएको छु ।’
नेपालमा पर्यटनको विकासका लागि रामायण सर्किट, बुद्ध सर्किट र काशी–पशुपतीनाथ र मुक्तिनाथलाई जोडेर पर्यटकीय रुटको विकास गर्ने काम भइरहेको उनले बताए । नेपालमा लगानीको क्षेत्र बिस्तार गर्नका लागि सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको जनाउँदै उनले विश्वका ठूला लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गरिने बताए ।
नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न आवश्यक परेमा नीतिगत सुधार र नीति संशोधन गर्न सकिने उनको भनाइ थियो । ‘नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गराउन लगानी सम्मेलन गर्दै गर्दा स्वदेशी लगानीकर्तालाई पनि उत्साहित गराउने वातावरण तयार गरिने छ’, मन्त्री साउदले भने, ‘नेपालको आर्थिक समुन्नतिका लागि सरकार निजी क्षेत्र आपसमा सहकार्य गरेर अगाडि बढ्न जरुरी छ ।’
उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानबाट सुचारु तथा चलायमान बनाउन विभिन्न मुलुकसँग कूटनीतिक पहल भइरहेको बताए । मन्त्री साउदले यसका लागि विशेष गरी भारतसँग कुराकानी अगाडि बढिरहेको बताए । ‘यसका लागि भारतका विदेश मन्त्री समक्ष एक साता अघि मैले कुराकानी गरेको छु’, मन्त्री साउदले भने, ‘यो विषयमा भारत सकारात्मक ढंगबाट अघि बढ्नेमा म विश्वस्त छु ।’
हवाई उडान सञ्चालन गर्नका लागि विभिन्न विदेशी एयरलाइन्स कम्पनीसँग पनि कुरा भइरहेको उनले बताए । उनका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी दातृसंस्थाबाट ऋण लिएर निर्माण गरिएको र उपयुक्त ढंगबाट विमानस्थल सञ्चालनमा आउन नसकेमा हुने नोक्सानीबारेमा धारणा राखे । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गरिरहेको उनको दावी छ ।
मन्त्री साउदले गौतम बुद्ध विमानस्थलको वारेमा कुरा राख्नु अघि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्नुको पछाडि भारतकै कारण हो भने परराष्ट्र सम्बन्ध तथा नेपालको कुटनीतिक पहलका बारेमा प्रश्न गरेका थिए । ‘विमानस्थलका लागि राज्यको तर्फबाट ४० अर्ब रुपैयाँ लगानी भएको छ भने निजी क्षेत्रको ८० अर्ब भन्दा धेरै लगानी गरेका छन्’, शर्माले भने,‘ विमानस्थल किन चलेन ? सरकारले जवाफ दिनु पर्यो ?’
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुलुकको समृद्धिका लागि हामीसँग उपलब्ध भएको स्रोत साधन विदेशमा बेच्नुपर्ने बताए । उनले लुम्बिनीलाई ब्राण्डिङ गरेर पर्यटनका माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन प्रदेश सरकार कटिबद्ध रहेकोमा जोड दिए । उनले उद्योगी व्यवसायीलाई राज्यले अधिकतम सहयोग गर्नुपर्ने जिकिर गरे ।
सिद्धार्थ नगर पालिका प्रमुख इश्तियाक अहमद खाँनले नेपाल जडिबुटी र प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भए पनि सरकारी स्तरबाट उपयुक्त नीति र नियम बनाउन नसक्दा उपयोगमा आउन नसकेकोमा जोड दिए । उनले नेपाल आउने भारतीय पर्यटकलाई कम्तिमा पाँच लाखसम्म ल्याउन पाउने नीति जरुरी रहेको बताए ।
यसो गरे मात्रै विदेशी पैसा नेपाल भित्रिने उनको भनाइ थियो । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले व्यापार सहजीकरण गर्ने सम्बन्धमा परराष्ट स्तरीय वार्ता हुन नसक्दा आयात निर्यातमा समस्या भएको बताए । ‘पर्यटक आगमनामा समस्या छ । तर नीतिगत सुधार गर्ने स्थानमा सरकार छ’, शर्माले भने, ‘पर्यटक नेपालमा आउँदा सिमा नाकाहरुमा अनेक समस्या छन् । सीमा नाकाहरुको सुदृढिकरण र सौन्दर्यकरण जरुरी छ ।’
संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विदेश जानका लागि पासपोर्ट बनाउँदा १५ हजार तिरेमा भोलीपल्टै पाइने तर स्वदेशमा नै उद्योग व्यवसाय गर्न खोजेमा अनावश्यक दु:ख र झन्झट बेहोर्नु पर्ने बताए । ‘युवा पुस्ता स्वदेशमा आफ्नो भविष्य नदेखेर नेपाल छाड्न चाहन्छन्’, श्रेष्ठले भने, ‘युवा जनशक्ति नभएपछि उद्योग व्यवसायमा मानव संसाधनको अभाव हुन थालेको छ ।’
लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुषालले निर्माण व्यवसायीले सरकारसँग सम्झौता गरे अनुरुप कामको भुक्तानी नपाउँदा आर्थिक असर चौतर्फी रूपमा परेको बताइन् । निर्माण व्यवसायीले गरेको कामको भुक्तानी नपाउँदा विभिन्न निर्माण सामग्रीको सप्लायर्स, सम्बन्धित निर्माण सामग्रीका उत्पादक र मजदुर समेत प्रभावित भएको उनको भनाइ छ ।