१० वर्षपछि निर्जीबन बीमामा हाइड्रोपावरको व्यवसाय बढी हुन्छ

सुद्युम्न उपाध्यायले नेपालको बीमा क्षेत्रमा झण्डै तीन दशक बिताइसकेका छन् । हाल सानिमा जिआइसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उपाध्याय बीमा क्षेत्रका बौद्धिक सीईओको रूपमा समेत परिचित छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उपाध्यायले करिअर नै बीमा कम्पनीबाट सुरु गरेका थिए । नेशनल इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका उनले एभरेस्ट इन्स्योरेन्स हुँदै जीवन बीमातर्फ एलआईसी नेपालमा समेत काम गरे ।
त्यसपछि एभरेस्ट, प्रिमियर हुँदै उनी अहिले सानिमा जिआइसी इन्स्योरेन्समा आइपुगेका हुन् । यहाँसम्म आइपुग्दा उपाध्यायसँग बीमाबारे लामो अनुभव र बुझाइ छ । बीमा क्षेत्रले नयाँ प्रोडक्ट बजारमा ल्याउनुपर्ने बताइरहने उनी अबको १० वर्षमा बीमा बजारमा हाइड्रोपावरको हिस्सा धेरै हुने बताउँछन् । प्रस्तुत छ, सानिमा जिआइसी इन्स्योरेन्सका सीईओ सुद्युम्न उपाध्यायसँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सार :
अहिले विश्व अर्थतन्त्र सुस्त अवस्थामा छ । नेपालमा पनि यसको असर परेको छ । समग्र बीमा क्षेत्रमा अर्थतन्त्रमा देखिएको शिथिलताको असर कस्तो छ ?
अर्थतन्त्र चलायमान नहुँदा बीमा क्षेत्रमा पनि यसको असर परेको छ । गत वर्षको कम्पनीहरूको बीमा प्रिमियम वृद्धि र अहिलेको बीमा प्रिमियम वृद्धि हेर्ने हो भने ऋणात्मक देखिन्छ । अर्थतन्त्रमा आएको सुस्तताकै कारण यस्तो भएको हो । बीमा क्षेत्रमा मुद्रास्फीति बराबरको हुँदा त हामी वृद्धि मान्दैनौं भने अहिले त पूरै ऋणात्मक भएको अवस्था छ । ठूलै असर परेको देखिन्छ । गत वर्ष सम्पत्ति वा गाडीको बीमा गरिएको अवस्थामा अहिले सम्पत्तिको मूल्य बढेको छ । मूल्य बढेअनुसार बीमा पनि बढ्नुपर्ने हो तर त्यसो नभएर घट्न गएको छ ।
निर्जीवन बीमातर्फ उपभोक्तादेखि कम्पनीसम्म कस्तो असर परेको देखिन्छ ?
अहिले नेपालमा गाडी आयात घटेको अवस्था छ । यस्तो हुनेबत्तिकै बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । सरकारले नै एक समय विलासिताका वस्तु (लग्जरी गुड्स) को आयातमा कटौती गरेको थियो । त्यो खोल्दा पनि माग हुन सकेको छैन । जसका कारण अहिले यस्ता सामानको आयात घटेको छ । यसरी आयात घट्दा बीमा कम्पनीहरूको व्यवसायमा असर गरिरहेको छ । नयाँ व्यवसाय गर्न सकिरहेको छैन ।
चालु आवको सात महिनामा धेरै निर्जीवन बीमा कम्पनीको बीमा शुल्क घटेको छ । एकातिर सवारी साधन वा अन्य वस्तुको खपत कम छ । अर्कातिर बीमाप्रतिको वितृष्णालगायतले पनि अहिले व्यवसाय बढ्न नसकेको हो ?
अहिले अर्थतन्त्रको सुस्तता नै बीमा शुल्क घट्नुको कारण हो । अहिले लघुबीमाले समेत बीमा सचेतना बढाउँदै लगिरहेको छ । अहिले बजारको मागका कारण इन्स्योरेन्स घटेको हो । चेतना अभावको कारणले होइन । बीमाप्रतिको वितृष्णाको भूमिका केही त पक्कै होला । तर, सबैभन्दा मुख्य कुरा अर्थतन्त्रको सुस्तता, आर्थिक गतिविधि कम हुनुलगायत हो ।
चालु आवको सात महिनामा धेरै कम्पनीको बीमा शुल्क संकलन घटेको छ । तर, केही कम्पनीको भने राम्रै वृद्धि देखिन्छ । सानिमा जिआइसीकै १२ प्रतिशतभन्दा बढीको वृद्धि छ । यो कसरी सम्भव भयो ?
कम्पनीहरूले प्राकृतिक रूपमै आफ्नो मार्केटको एभरेज साइज लिएका हुन् । त्यति ठूलो वृद्धि होइन । कम्पनीले आफ्नो एभरेज मार्केट सेयरको साइजमा आउनका लागि संघर्ष गरिरहेको थियो । यो स्वाभाविक प्रकृतिको वृद्धि नै हो ।
अहिले मोटर बीमामा मात्रै आकर्षण देखिन्छ, यसबाहेक अन्य क्षेत्रमा किन जान सकेन ?
अहिले निर्जीवनतर्फ मोटर बीमा नै बढी आकर्षित देखिन्छ । अरू क्षेत्रमा अनिवार्य बीमा गराउनुपर्ने भएकाले बीमा भइरहेको अवस्था छ । मोटर बीमामा नै अहिले धेरैको बीमा छ । अन्य प्रोडक्टमा बीमा गराउनका लागि मान्छेको चेतना जाग्न सकेको अवस्था छैन । हामीले पनि बुझाउन सकेका छैनौं । अहिलेसम्म पनि बीमा गर्दा मैले के फाइदा दिन्छु भन्ने चेतना नै नहुँदा बीमामा आकर्षण कम देखिएको हो ।
यद्दपि एउटा राम्रो पक्ष के छ भने अन्य मुलुकको तुलनामा हाम्रोमा बीमा चेतना बढी वा सन्तोषजनक नै देखिन्छ, अर्थतन्त्रको आकार हेर्दा । अरू विकासोन्मुख मुलुकमा बीमा चेतना बढी हुनेमध्येमा नेपाल पर्छ । भारतसँग नै तुलना गर्ने हो भने पनि त्यहाँभन्दा नेपालमा बीमा चेतना बढी छ । त्यसकारण कम्पनी, प्राधिकरण र सरकारले नयाँ कार्यक्रमसहित मिलेर अगाडि बढ्ने हो भने बीमा क्षेत्रमा अझै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।
सरकारले कृषि बीमा अनुदानको बक्यौता दिन नसक्दा केही समय कृषि बीमा नै रोक्नुपर्यो । अहिले कसरी यसमा काम भइरहेको छ ?
केही समय कृषि बीमा रोकिए पनि अहिले अगाडि बढिरहेको छ । यस विषयमा राज्यको संयन्त्रमै समस्या आउँदा यता समस्या आएको हो जस्तो लाग्छ । हामीलाई जुन हिसाबले गाइडलाइन दिइन्छ, सोहीभित्र रहेर हामी बीमा गराउँछौं । जुन बेलामा भुक्तानी गरिन्छ त्यो भुक्तानीको समयमा चाहिँ गाइडलाइनभित्र नरहेर नभएको बीमा भन्ने कुरा आएको छ, भ्यालुएसन बढी भएको भनिएको छ । त्यो भ्यालुएसनको कुरामा कुनचाहिँ भ्यालु ठीक हो भन्ने कुरा बीमा प्राधिकरणले हामीलाई भन्छ ।
प्राधिकरणले भनिसकेपछि हामीले त्यही भ्यालुमा गर्ने हो । त्यसकारण राज्यका माथिल्लो निकाय र तल्लो निकायबीच समन्वय राम्रो हुनुपर्छ । राज्यको पनि नदिने सोच त पक्कै होइन, संयन्त्रबीच कुरा नबुझाइँदा यस्तो अवस्था आएको हो । यो प्राधिकरणको नभई कृषि मन्त्रालयअन्तर्गतका निकायसँगको समस्या हो । अब राज्यले प्रपर गाइडलाइन देओस् र कम्पनीलाई बीमाका लागि सहजीकरण गरिदेओस् भन्ने हो । हामीले बीमा गर्दा किसानसँग बीमा शुल्क लिने र राज्यले किसानलाई सोको सहुलियत दिने व्यवस्था भएमा किसानलाई राज्यले दिएको सहुलियतको अनुभूति हुन्छ र बीमा कम्पनीलाई दाबी भुक्तानी तथा व्यवस्थापनमा सहज हुन्छ ।
केही समयअघि राज्यले भुक्तानी नगर्दा बीमा कम्पनीहरूले कृषि बीमा रोक्नुपर्ने अवस्था आयो । यसबाट बीमा कम्पनी र किसान दुवैलाई घाटा भयो । किसान पनि निरुत्साहित भए । तर, कम्पनीहरूलाई यसो गर्न बाध्यता थियो । कम्पनीले यति ठूलो बक्यौता राख्नुपर्ने हुन्छ, त्यसको प्रोभिजन कसरी गर्ने ? पुनर्बीमाबाट रिकभरी नआएकालाई प्रोभिजनमा राख्न सकिन्छ । राज्यबाट नआएकोलाई के गर्ने ? सरकारले यस नीतिमा स्पष्ट गाइडलाइन नदिँदा अनाहकमा किसान र कम्पनीलाई मार परेको छ ।
मर्जरको पनि कुरा गरौँ न । बीमा क्षेत्रमा लामो समयदेखि गिजोलिएको विषय थियो । तपाईंहरू मर्जरमा एक हिसाबले सफल हुनुभयो । मर्जर गर्नुको कारण के थियो ?
हामीले आजभन्दा १० वर्षअघिदेखि नै नेपालको बीमा क्षेत्र पनि मर्जर हुनुपर्छ भन्दै आएका थियौं । कुनै पनि मार्केटमा मार्केट साइजभन्दा कम्पनीको संख्या धेरै भयो भने त्यसले विकृति ल्याउन सक्छ । अपरेटिङ लागतदेखि सबै क्षेत्रमा यसको असर पर्छ । जब राज्यले मर्जर नीति ल्यायो, हामी त्यसमा अग्रसर भयौं । इन्स्योरेन्सको मर्जर बैंकिङको मर्जरभन्दा सहज हिसाबले पूरा भएको छ ।
मर्जरमा केही समस्या त भइहाल्छ, तर विकराल समस्या कुनै पनि कम्पनीमा आएको छ जस्तो मलाई लाग्दैन । कर्मचारी समायोजनमा धेरैमा समस्या आएको सुनियो । तर, हाम्रोमा त्यस्तो भएन । हाम्रोमा सबै कर्मचारी एउटै जेनेरेसनको भएकाले पनि कता–कता व्यवस्थापन गर्ने भन्ने समस्या भएन । कसैको लेगेसी बढी र कसैको कम भन्ने नै भएन यहाँ ।
मर्जर अघि बीमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा ठूलो थियो । अहिलेचाहिँ अवस्था कस्तो छ ?
मर्जरपछि बिस्तारै अस्वस्थ प्रतिस्पर्धा कम हुँदै छ । कम्पनीको पुँजी, जनशक्तिको आकारलगायत सबै बढिसकेपछि कम्पनीलाई यसले सबल बनायो । विभिन्न नीतिले बीमा कम्पनीलाई सबल बनाइरहेको छ । अब ब्यालेन्स सिटले नै देखाउँछ कि कुन कम्पनीको अवस्था कस्तो छ । पहिले कर्मचारी तानातान बढी हुन्थ्यो । अहिले त्यसमा फिल्टर भइरहेको छ । बीमा क्षेत्रमा दक्ष जनशक्ति आइरहेका छन् ।
मर्जरपछि व्यापार बढाउने दबाब कस्तो महसुस भइरहेको छ ?
संसारभर नै हेर्दा, मार्केटमा जतिवटा कम्पनी छन्, ती कम्पनीले लिने मार्केट साइज एभरेज नै हो । केही अब्बलले केही बढी र केही साह्रै कमजोरले केही न्यून साइजमा हुन्छन् । हाम्रो बजार एभरेज मार्केट साइजतर्फ जान खोजिरहेको छ । यसको अर्थ त्यति ठूलो दबाब हुँदैन । केही राम्रो कम्पनीको औसतभन्दा केही प्रतिशत बढी वा केहीको कम मार्केट सेयर हुन सक्छ । त्यसकारण दबाब महसुस हुँदैन ।
अहिलेको बीमा मर्जर सफल हो ?
नेपालमा अहिले भएको बीमा मर्जर सफल हो । बीमा क्षेत्रले धेरै चाँडै वा एकै वर्षमा अहिलेको संख्यामा आइपुग्नु भनेको निकै सफल भएको हो । यो कम्पनी र प्राधिकरण दुवैको सफलता हो । धेरै देशमा यस्तो हुँदैन । हाम्रो जस्तो अर्थतन्त्र र हाम्रो जस्तो संस्थागत संरचना भएको ठाउँमा धेरै मुलुकमा मर्र्जर सफल भएको हुँदैन । तर, यहाँ सहजै भइदियो । यो धेरै राम्रो हो ।
तपाईंलाई बीमा क्षेत्रको मर्जर सफल हुनुको कारण के जस्तो लाग्छ ?
मर्जर गर्नुपर्छ भन्ने सबैको चाहना थियो । पुँजी बढाएर रिटर्न छैन । त्यसपछि दक्ष जनशक्ति पाइँदैन । त्यसकारण कन्सोलिडेसनको कन्सेप्ट आयो । सही समयमा सही निर्णय आएकाले यस्तो अवस्था आएको हो । अहिले मर्जर अब केही वर्षलाई आवश्यक छैन । तर, केही वर्षमा यो संख्या अझै घट्नुपर्छ । बजार साइजअनुसार अहिलेको संख्या धेरै नै हो ।
अर्थतन्त्रमा सुस्तता आउँदा बीमा व्यवसाय बढाउन कस्तो चुनौती थपिएको छ ?
हामीले बीमा व्यवसाय गर्ने बेलामा मार्केटिङ गर्न गाह्रो भइरहेको छ । किनभने प्रिमियम पेइङ क्यापासिटी घटिरहेको छ । यस्तो अवस्थामा ग्राहकको बीमा नवीकरण भइरहेको छैन । ग्राहकसँग पैसा नै छैन ।
अब निर्जीवन बीमा क्षेत्र कता जान्छ ? हाइड्रोपावर अगाडि बढ्दै जाँदा त्यसका चुनौतीहरू पनि बढ्ने र पुनर्बीमा शुल्क पनि बढ्ने अवस्था आउला । तपाईंले यो परिस्थितिलाई कसरी हेर्नुभएको छ ?
अहिले नेपालमा हाइड्रोपावर क्षेत्रमा बढी ध्यान केन्द्रित भएको अवस्था छ । हाइड्रोपावर कम्पनीहरू आक्रामक तरिकाले आउँदा बीमा बजारमा यसले ठूलो वृद्धि ल्याउँछ । यसमा बजारको वृद्धि हुँदै गर्दा पुनर्बीमा कम्पनीले लगाउने शुल्क बढ्छ । यो कुरामा नेपालका कम्पनीहरूले पुनर्बीमा कम्पनीसँग राम्रोसँग सम्झौता गर्न नियामकले वातावरण बनाइदिनुपर्छ ।
कम्पनीहरूले मूल्य बढाउन सक्छन् । अब नेपालमा बीमा कम्पनीले पुरानो प्रोडक्टबाट धेरै वृद्धि गर्न सक्छन् भन्ने देखिँदैन । अहिले राज्यको ध्यान हाइड्रोपावरमा भएकाले अबको १० वर्षमा बीमा कम्पनीहरूले पनि त्यसबाटै प्रिमियम बढाउन सक्नुपर्छ । अहिले भइरहेको घर र मोटर बीमालगायतको वृद्धि सामान्य स्तरमै रहन्छ । यस्तो अवस्थामा हाइड्रोपावर क्षेत्रको पुनर्बीमाका लागि ठूलो ग्याप हुन्छ । त्यसका लागि अहिलेदेखि नै काम गर्न सकिन्छ ।
अहिले हामी सबै क्षेत्रको बीमाका लागि प्रोडक्टका हिसाबले सक्षम छौँ तर पुनर्बीमाको मार्केट, मूल्यका हिसाबले सक्षम छैनौँ । यसलाई राम्रोसँग अगाडि बढाउनका लागि कम्पनी, प्राधिकरण र पुनर्बीमाबीच छलफल भइरहेको छ । नेपालको व्यवसाय र यसको सम्भावनालाई विश्व बजारमा जानकारी दिँदै क्षमता बढाउनु अहिलेको आवश्यकता हो ।
बीमा प्राधिकरणले दाबी भुक्तानीलाई प्राथमिकता दिँदै कम्पनीहरूलाई त्यसतर्फ अगाडि बढाइरहेको देखिन्छ । तर पनि दाबी भुक्तानी नपाएको गुनासो विगतकै जस्तो छ नि ?
पहिलेभन्दा अहिले बीमा कम्पनीहरूको दिन बाँकी दाबी भुक्तानी धेरै घटेको छ । पहिलेको जस्तो अवस्था छैन । तर, ठूलो दाबीलाई त समस्या हुन्छ नै । सामान्य बीमाको दाबी भुक्तानी छिटै भइरहेको छ । बीमा कम्पनीको वित्तीय विवरण हेरेमा पनि अहिले दाबी भुक्तानी छिटो भइरहेको पाइन्छ । अहिले पनि बीमा कम्पनीले दाबी नतिरेको आरोप आइरहेको छ । तर, त्यो केवल आरोपमात्रै हो, कम्पनीहरूले दाबी तिरिरहेका छन् ।
प्राधिकरणले चुक्ता पुँजी वृद्धिको नीति ल्याएपछि कम्पनीहरू विभिन्न माध्यमबाट पुँजी वृद्धि गर्ने अवस्थामा पुगे । सानिमा जिआइसीले हकप्रद माध्यमबाट पुँजी बढाउने निर्णय लियो । हकप्रद कहिले आउँछ ?
अहिले हामीले हकप्रद ल्याउने तयारी गरिरहेका छौं । पुँजी वृद्धिका लागि हामीले हकप्रद ल्याउनैपर्ने हुन्छ । नियामकको स्वीकृतिलगायत विभिन्न प्रक्रिया पार गर्ने चरणमा छौं । त्यो सकिएपछि केही समयमै हामी पुँजी वृद्धि गर्छौं ।
प्राधिकरणले लघुबीमालाई अगाडि बढाएसँगै बीमा कम्पनीलाई दबाब महसुस कत्तिको भएको छ ?
दबाब बढ्दैन । सबैले गर्ने मार्केट सेग्मेन्ट फरक–फरक हो । अब हामीले सानो व्यवसाय छाडेर ठूला–ठूला लिनुपर्छ । लघुबीमाले सानो–सानो व्यवसाय हेर्छ । राज्यले नै एउटै कम्पनीले सानो–ठूलो दुवै व्यवसाय गर्न सक्दैन भनेर यस्तो नीति ल्याएको हो । यसलाई दबाब भन्न मिल्दैन । हरेकले गर्ने कुरा फरक हुन्छ, त्यसमा आफ्नो स्पेस खोज्ने हो । हामीले यत्ति कुरा स्विकार्नुपर्छ कि गाउँ–गाउँसम्म बीमाको दायरा वा चेतना बढाउन त ठूला कम्पनीहरूले नसकेकै हो नि ।
त्यसकारण लघुबीमाले बजार खाइदियो भन्ने धारणा राख्न हुन्न । हरेकले काम गर्ने स्पेस हुन्छ । तरकारी बजारमा जाँदा होलसेलले ५ किलोभन्दा घटी दिन्नँ भनिरहँदा त्यहीँ रिटेलले थोरै दिन्छ । त्यसकारण होलसेलको प्राथमिकता होलसेलमै बेच्ने हुनुपर्छ भने रिटेलले प्राथमिकता रिटेलमा हँदा मात्र बजार चल्छ, अन्यथा बजारमा विकृति बढ्छ । विगतमा कम्पनीहरूले आफ्नो प्राथमिकता छुट्ट्याउन नसक्दा समस्या आएको थियो । अब लघुबीमा पनि आइसकेकाले दुवैले आफ्नो प्राथमिकतामा रहेर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
समग्रमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बीमा क्षेत्रको हिस्सा तथा बीमा शुल्कको अनुपात निकै कम छ । जीवन बीमाको भन्दा निर्जीवनको झनै कम छ । यसलाई बढाउन के गर्नुपर्छ ?
निर्जीवन बीमा र जीवन बीमाको फरक छुट्ट्याउनुपर्छ पहिले । निर्जीवन बीमा व्यवसायले बजार सिर्जना गर्न सक्दैन, तर जीवनले सानो–सानो बजार पनि निर्माण गरिरहन सक्छ । उद्योगधन्दा चल्ने, बढ्ने वा समग्र आर्थिक गतिविधि बढ्ने जस्ता कुराले बजार सिर्जना हुन्छ । यसो भइसकेपछि मात्रै निर्जीवन बीमाको माग बढ्छ । जीवन बीमामा हरेक व्यक्ति आफैं ग्राहक हो तर निर्जीवनमा त्यस्तो हुँदैन । हरेक व्यवसायी निर्जीवन बीमाको ग्राहक हो । पेसा–व्यवसाय बढ्दा यस्तो बीमा बढ्छ भने घट््दा घट्छ । त्यसकारण अर्थतन्त्र बढ्दा निर्जीवन व्यवसाय सँगसँगै अगाडि बढ्छ । गाडी नै नकिनी गाडीको बीमा हुँदैन, त्यसकारण त्यस्तो अवस्था देखिएको हो ।
पछिल्लो समय सबै क्षेत्रमा डिजिटाइजेसनले बढावा पाइरहेको अवस्था छ । बीमा कम्पनीमा डिजिटाइजेसनको विकास कस्तो छ ?
अहिलेसम्म पनि हामीले अनलाइन प्लेटफर्मबाट बीमालेख बिक्री गर्न सुरु गरेको अवस्था छैन । अहिले यो ढिला भइसक्यो । हामीले छिटै अवलम्बन गर्ने तयारीमा छौं । अहिले हामीले प्रयोग गरिरहेको प्रविधि धेरै पुरानो प्रविधि हो । हामीले अनलाइनबाट बीमालेख बिक्री गर्न थालेपछि साइबर सुरक्षामा पनि चुनौती थपिन्छ । यसतर्फ कम्पनीहरूले सोच्नुपर्ने हुन्छ । हामी अनलाइनबाटै बीमा गराउन मिल्ने अवस्था ल्याउन लागिरहेका छौं ।
बीमा क्षेत्रबाटै आफ्नो औपचारिक रोजगारी सुरु गर्नुभयो । तपाईंले सुरु गर्दाको र अहिलेको बीमा बजार र यसको चुनौती कस्तो पाउनुहुन्छ ?
करिब २०५४ सालतिरको कुरा हो, मैले बीमा क्षेत्रमा प्रवेश गरेको । त्यतिखेर बीमा ग्राहकमुखी थिएन । अहिले बीमा ग्राहकमुखी हुँदै गइरहेको छ । हामीले पहिलेभन्दा अहिले धेरै कुरामा सहज गराउँदै लगिरहेका छौं । प्रोडक्ट वा अन्य जुनसुकै विषय पनि अहिले ग्राहकलाई सहज हुँदै गएको अवस्था छ । समग्रमा विगतको तुलनामा अहिले बीमा क्षेत्र निकै अगाडि बढिरहेको छ । सबै मिलेर यसलाई अझ माथि पुर्याउनु आजको आवश्यकता हो ।
अन्त्यमा, बीमा व्यवसाय थप अगाडि लैजान नियामकबाट कस्तो सहजीकरण होस् भन्ने चाहनुहुन्छ ?
विगत केही वर्षयता नियामक निकायबाट निकै राम्रा नीति आएका छन् । यी नीतिगत निर्णयलाई पूर्ण कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । कतिपय नीति व्यवहारिक कठिनाइका कारण पूर्णरूपमा पालना हुन सकेका छैनन् । नियामकले त्यसतर्फ सचेत भएर अगाडि बढाउन सके बीमा व्यवसाय निकै अगाडि बढ्छ ।