पर्यटक कम आउनुका यस्ता छन् कारण

काठमाडौं- पर्वतारोहण, विश्वप्रसिद्ध सांस्कृतिक सम्पदा र विभिन्न पर्यटकीय गन्तव्य भएर पनि नेपालमा पर्यटक आगमन न्यून छ । पर्यटक आकर्षित गर्ने हाम्राजस्ता गन्तव्य नभएका मुलुकहरुले वर्षमा करोडौं पर्यटक भित्र्याइरहेका छन् । हामी भने १० लाखमै खुसी हुने अवस्था बनेको छ । सरकारले तथ्यांक राख्न सुरु गरेको पहिलो वर्ष सन् १९६२ मा नेपालमा ६ हजार १७९ पर्यटक आएका थिए । पर्यटकीय गन्तव्य सुगम बन्दै जाँदा पर्यटक आगमन पनि बढ्दै गएको छ ।
अहिलेसम्म एक वर्षमा सबैभन्दा धेरै १२ लाखसम्म पर्यटक आएको तथ्यांक छ । निजी क्षेत्रले वार्षिक ३५–४० (स्तरीय र साना गरी) लाख पर्यटकलाई आतिथ्य गर्ने पूर्वाधार बनाउँदा पर्यटक भने एक चौथाई पनि आउन सकेका छैनन् । विश्व पर्यटन संगठनको विश्व पर्यटन ब्यारोमिटरले २०२३ मा १.३ बिलियन अन्तर्राष्ट्रिय आगमन भएको बताएको छ । यो तथ्यांक कोभिड महामारीअघिको तुलनामा ८८ प्रतिशत हो । पर्यटकीय बजारको माग, सुधारिएको कनेक्टिभिटीलगायत कारण सन् २०२४ सम्ममा विश्व पर्यटन बजार पुरानै लयमा फिर्ता हुने उसको प्रक्षेपण छ । तर, नेपालको हकमा सन् २०२३ मा १० लाख १४ हजार पर्यटक आएका थिए ।
संसारका दुई दर्जनभन्दा बढी मुलुकमा वार्षिक एक करोडभन्दा धेरै पर्यटक पुग्छन् । तर, आकर्षक गन्तव्य भएर पनि नेपालमा एक करोड पर्यटक आउन १४ वर्ष लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१० देखि २०२३ सम्ममा बल्ल एक करोड ३ लाख पर्यटक आएका छन् । संसारकै सर्वोच्च शिखर सगरमाथासहितका हिमश्रृंखला, गौतम बुद्धको जन्मभूमि लुम्बिनी र हिन्दूहरुको सबैभन्दा ठूलो आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर नेपालमै छन् । पर्यटकका लागि सबै भएर पनि नेपालमा उनीहरु नआउनुका मुख्य कारण के हुन् ? यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सरोकारवालाका दृष्टिमा पर्यटक आगमन कमी हुनुका मुख्य कारण यस्ता छन् ।
बन्न सकेनन् स्तरीय पूर्वाधार
नेपालमा पर्यटक आगमन न्यून हुनुको सबैभन्दा ठूलो र प्रमुख कारण स्तरीय पूर्वाधार बन्न नसक्नु हो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा पर्याप्त सम्भावना भएर पनि पूर्वाधारको कमी हुँदा पर्यटकको आगमनमा वृद्धि गर्न नसकिएको बताउँछन् । उनले भने, ‘स्तरीय सेवा–सुविधादेखि सडक सञ्जाल राम्रो नहुँदा पर्यटक आगमनमा वृद्धि गर्न सकिएको छैन ।
यसको लागि पहिलो कारण नै स्तरीय पर्यटन पूर्वाधारको कमी हो ।’ पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर पनि बाह्य उडान गर्न नसक्नु पनि पर्यटक आगमन कम हुनुको कारण भएको जानकारहरुको भनाइ छ । स्रोत बजारमा हामीले पर्यटन प्रवद्र्धनमा जोड नदिनु र उत्तर– दक्षिण जोड्ने बोर्डरका सडक पूर्वाधार विकास गर्न नसक्दा पनि पर्यटक ल्याउन नसकिएको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । उनले भने, ‘हामीले वार्षिक पर्यटक स्तरीय होटलमा मात्र ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था विकास भएको छ । तर, पर्यटक आगमनदर भने दशक अगाडिको १० लाखमा मात्र सीमित छ ।’
पर्यटनमैत्री पूर्वाधारको कमीले गर्दा पर्याप्त सम्भावना भएर पनि पर्यटक आगमन वृद्धि गर्न नसकिएको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख दीपकराज जोशीको भनाइ छ । उनले भने, ‘कनेक्टीभिटी, सडक पूर्वाधारको कमी, हवाई भाडा महँगो हुनु, गुणस्तरीय सेवामा आशंका र भौगोलिक विकटता भएको भ्रम चिर्न नसक्दा नेपालमा पर्यटक आगमनमा वृद्धि गर्न नसकिएको हो ।’ पूर्वाधार अभावकै कारण १० लाख पर्यटक पुर्याउन पनि धौ–धौको अवस्था रहेको उनले बताए । कनेक्टीभिटी नेपालले हालसम्म दुईपक्षीय हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या ४२ पुगेको छ ।
पछिल्लो समय गत माघ २३ मा स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गरेको थियो । अहिले १७ देशबाट विभिन्न कम्पनीहरुले उडान गरिरहेका छन् । कोभिडपछि भारत हुँदै नेपाल आउने पर्यटकले सीमामा अवरोध सहनुपरेको छ । नेपालबाट यूरोप र अमेरिकामा सिधा हवाई उडान नहुनुु र पछिल्लो समय निर्माण भएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडान गर्न नसक्नु पनि कमजोरी रहेको अध्यक्ष थापाको भनाइ छ । अर्कोतिर हवाई भाडादर पनि एकदमै महँगो छ ।
हानका अध्यक्ष शाह पनि महँगो हवाई भाडालगायत कारण हामीले पर्यटकीय गतव्य भएर पनि पर्यटक आगमन बढाउन नसकिएको बताउँछन् । उनले भने, ‘भएका अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकमा उडान संख्या बढाउने र सडक सञ्जाललाई पनि चुस्त गर्न सकेको खण्डमा पर्यटक आगमन वृद्धि गर्न सकिन्छ ।’ राष्ट्रिय ध्वजावाहकको जहाज संख्या वृद्धि गरेर स्रोत बजारमा उडान संख्या थप गर्नुपर्ने शाहको सुझाव छ ।
प्रचारप्रसारमा कमी
पर्याप्त सम्भावना भएर पनि स्रोत बजारमा नेपालको प्रचारप्रसार गर्न नसक्दा पर्यटक आगमन वृद्धि गर्न नसकिएको जानकारहरुको भनाइ छ । नाट्टा अध्यक्ष थापाका अनुसार पर्यटकीय गन्तव्यको राम्रो ब्रान्डिङ हुन सकेको छैन । हान अध्यक्ष शाह पनि छिटो प्रतिफल दिने र विदेशी मुद्राको एकमात्र आर्जनको माध्यम रहेको पर्यटन उद्योगलाई स्रोत बजारमा प्रवद्र्धन गर्न नसक्दा पर्यटकलाई नेपालको महत्व थाहा नभएको बताउँछन् ।
बोर्डका पूर्व सीईओ जोशीले यहाँको प्राकृतिक सम्पदा र संस्कृतिको प्रवद्र्धन गर्न नसक्दा पर्यटक आगमनमा उल्लेख्य वृद्धि गर्न नसकिएको बताए । ‘विमानदेखि विमानस्थल र सडक तथा अन्य पूर्वाधारमा सरकारले पर्याप्त लगानी गरे वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिन्छ । राष्ट्रिय ध्वजावाहक वायुयानलाई युरोप र अमेरिकामा सिधा उडान गरेर पर्यटक बढाउन सक्छौं, तर त्यसका लागि सरकारले जोड दिएकै छैन,’ उनले भने । सबैभन्दा बढी जनसंख्या भएको भारत र चीन छिमेकी मुलुक भएर पनि हामीले पर्याप्त लाभ लिन नसकेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
नीतिगत सहजीकरण
नाट्टा अध्यक्ष थापाका अनुसार पछिल्लो समय नेपाल हुँदै मानसरोवर यात्रामा जाने भारतीय पर्यटकलाई तिब्बत सरकारले अनुमति नदिनुले पनि पर्यटकको आगमन न्यून भएको हो । त्यसको लागि सरकारले नीतिगत सहजीकरण गर्ने र पर्यटन उद्योगको मान्यता दिएर कनेक्टीभिटीमा जोड दिनुपर्ने उनको सुझाव छ ।
वेडिङ डेस्टिनेसन (विवाह गर्ने गन्तव्य)को लागि नेपाललाई अगाडि सारिएको भए पनि सरकारी नीतिका कारण यहाँ सुन तथा गरगहना ल्याउन कानुनी उल्झन छ । साथै भारतीय पर्यटकलाई सडक मार्गबाट आउँदा २५ हजार भारुको सीमा कायम गरिएको छ । यसले गर्दा उनीहरुले खुलेर खर्च गर्न पाउँदैनन् ।
भोलिका लागि लगानी
जानकारहरुका अनुसार यूरोप–अमेरिकाका पर्यटकलाई नेपाल विकट छ र सबै उमेर, वर्ग–समुदायको पहुँचमा छैन भन्ने बुझाइ तथा भ्रम छ । यस्तो भ्रम चिर्नुपर्ने पूर्वसीईओ जोशी बताउँछन् । ‘यात्रा सहज बनाउन हवाई र सडक सञ्जाल स्तरीय बनाउनुपर्छ । यतिमात्रै गरे पनि हालको दाँजोमा दोब्बरले पर्यटक बढाउन सकिन्छ,’ उनले भने ।
आर्थिक उन्नतिको फड्को मार्न पर्यटन उद्योगलाई प्राथमितामा राखेर अगाडि बढ्नुपर्नेमा निजी क्षेत्र र सरकारबीचको तादाम्यता र समन्वय अभावले गति लिन नसेको व्यवसायीहरुको भनाइ छ ।