१ करोड ३३ लाख लागतमा खानेपानी आयोजना सम्पन्न «

१ करोड ३३ लाख लागतमा खानेपानी आयोजना सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–५ डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण भएको छ । पुलाचौर डडुवा लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनामार्फत फेदीको पानी डाँडामा पु¥याएर घरघरमा वितरण गरिएको हो ।
सौर्य ऊर्जाको प्रयोग गरेर डडुवा गाउँको फेदीमा रहेको पैरापानीको मुहानको पानी ३५० मिटरमाथि भेंडाखोर भन्ने ठाउँमा निर्माण गरिएको रिजर्भ ट्यांकीमा पुराएर डडुवाका ९३ वटा घर, एक विद्यालय र एक मन्दिरमा वितरण गरिएको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना, जिल्ला समन्वय समिति, बेनी नगरपालिका र उपभोक्ताको एक करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । २६० वाट क्षमताको १२० वटा सोलार प्यानलमार्फत पाँच हजार वाट क्षमताको ४ वटा पम्प सञ्चालन गरेर प्रतिपाँच सेकेण्डमा ११ लिटरका दरले पानी आपूर्ति गराइएको समितिका सचिव डम्मरबहादुर बानियाले जानकारी दिए ।
इन्टेकबाट २० हजार लिटर क्षमताको रिजर्भ ट्यांकीमा संकलन गरिएको पानी १७५ मिटरमाथि रहेको दश हजार लिटर क्षमताको अर्को ट्यांकीमा पुराई त्यहाँबाट पुनः पम्पिङ गरेर थप १७५ मिटरमाथि भेंडाखोरमा रहेको २० हजार लिटर क्षमताको ट्यांकीमा पुराइएको छ । वि.सं २०६९ मा सर्वेक्षण भई २०७२ देखि आयोजना निर्माण सुरु भएको थियो ।
आयोजना निर्माणका लागि ९३ घरधुरी उपभोक्ताले ५० दिनका दरले श्रमदान गरेका स्थानीयबासी कृष्ण खत्रीले बताए । नगरपालिकामा समावेश भए पनि भौगोलिक रूपमा विकट र पहाडको उच्च स्थानमा रहेको डडुवा गाउँका बासिन्दाले मंगला गाउँपालिका–१ पूर्णगाउँको गाजाबाङ भन्ने ठाउँबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए ।
वि.सं २०४३ मा निर्माण भएको उक्त आयोजना जीर्ण हुँदा पर्याप्त खानेपानी आपूर्ति हुन सकेको थिएन । कुवा, खोल्सा र धाराबाट पानी ओसारेर उपभोग गर्दै आएका डडुवाका बासिन्दालाई घरमै पानी आउन थालेपछि सहज भएको स्थानीयबासी टीका शाहीले बताइन् । लिफ्ट प्रविधिको खानेपानी आयोजनाले डडुवाबासीको दैनिकीमा सुधार आएको छ ।
खानेपानी ओसार्नका लागि घण्टौं टाढाको मुहान र कुवामा पुग्नुपर्ने बाध्यता हटेको छ । समयको बचत भएको छ । सरसफाइमा सहयोग पुग्नुका साथै करेसाबारीमा सिँचाइ गर्न सहज भएको उपभोक्ता कौशीला परियारले बताइन् ।
आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि सबै उपभोक्ताको धारामा मिटर जडान गरी मासिक शुल्क संकलन गर्ने उपभोक्ता समितिका अध्यक्ष मोहन भण्डारीले बताए । डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना सफल भएपछि मालिका गाउँपालिका–७ बिममा यस्तै प्रविधिको अर्को आयोजना निर्माणको तयारी भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए ।

-सन्तोष गौतम 

प्रतिक्रिया दिनुहोस्