Logo

नेपालगन्जमा अर्ब लगानीमा पौवाको पाँचतारे होटल बन्दै

नेपालगन्ज– हस्पिटालिटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पौवा गु्रपले बाँकेको नेपालगन्जमा एक अर्ब लगानीमा पाँचतारे होटल खोल्ने तयारी गरेको छ ।

पश्चिम तराईको सीमावर्ती व्यापारिक सहर नेपालगन्जमा १३ औं शाखाको रुपमा सुविधासम्पन्न होटल निर्माणको बिहीबार शिलान्यास गरिएको हो । होटल निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । ‘एक वर्षभित्रमा इभेन्ट सेन्टरहरु सम्पन्न गर्छौं,’ उनले भने, ‘दुई वर्षभित्र संरचना निर्माणको काम सकिएर आंशिक रुपमा होटल सञ्चालनमा आउनेछ ।’ होटल सञ्चालनमा आए पनि क्यासिनोसहित पूर्ण रुपमा सञ्चालनमा आउन भने तीन वर्ष लाग्ने उनको भनाइ छ ।

नेपालगन्जमा सञ्चालनमा आउने होटलमा ८० वटा डिलक्स रुम, स्विमिङ पुल, क्यासिनो र स्पालगायत सम्पूर्ण सुविधा रहने अध्यक्ष भण्डारीले बताए । त्यसबाहेक फरक–फरक स्वाद र परिकारका दुईतले भवनमा ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित उत्कृष्ट पाँच तारे होटल बन्ने दावी पौवा ग्रुपको छ ।

सामान्य होटलमा गएर खान–बस्न सक्ने ग्राहकलाई पनि सेवा दिने परिकल्पनाका साथ होटल सञ्चालनको तयारी थालिएको अध्यक्ष भण्डारीले बताए । ‘पाँचतारे होटल भएका कारण महँगो हुन्छ भनेर जान नसक्ने अवस्थाका ग्राहकलाई सुलभ सेवा दिने सोच हामीले बनाएका छौं,’ उनले भने, ‘दुई चरणको सेवा दिएर भए पनि सबैखाले ग्राहकलाई होटल पौवाले सुलभ रुपमा सेवा दिने परिकल्पना अनुसार योजना बनाएर अघि बढ्छौं ।’

नेपाली पर्यटन बजारको पश्चिमको मूल ढोकाका रुपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै थप टेवा पुर्याउन पाँचतारे सुविधासहित होटल सञ्चालनको सुरुवात गरेको उनको भनाइ छ ।

पछिल्लो समय आर्थिक मन्दीका कारण व्यवसायीहरु लगानी गर्न डराइरहेका बेला पर्यटनको ठूलो सम्भावना देखेका कारण होटल पौवाले लगानी विस्तार गरेको अध्यक्ष भण्डारीले बताए । ‘नेपालगन्जमा पर्यटकीय क्षेत्रको ठूलो सम्भावना छ तर सोचेजति पर्यटन प्रवद्र्धन र विकास हुन सकेको छैन,’ उनले भने, ‘सम्भावना भएर पनि संघर्ष गर्दै पर्यटन विकासमा टेवा पुर्याउने हाम्रो प्रयास हो ।’ पछिल्लो समय बैंकको ब्याजदर घट्दै जाँदा लगानी गर्न बैंक इच्छुक भएपछि सहज भएको उनको भनाइ छ ।

होटल सञ्चालनका लागि पौवा ग्रुपले ५१ प्रतिशत आफैंले लगानी गर्ने र ४९ प्रतिशत यहाँका स्थानीय, उद्योगी–व्यवसायीलाई साझेदार बनाएर सञ्चालन गर्न लागेको जनाएको छ । स्थापनाको ८ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको होटल पौवा प्रालिका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । कर्णाली प्रदेशको जुम्ला, गण्डकीको पोखरा, सुदूरपश्चिमको धनगढी तथा बागमती प्रदेशको काठमाडौं र सौराहामा पौवाले सेवा दिन सुरु गरिसकेको उनले जानकारी दिए ।

भैरहवामा होटल पौवा सञ्चालनमा रहेको छ भने दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुंगामा अन्तर्राष्ट्रिय स्तरको रिसोर्टसहित होटल सञ्चालनमा रहेको प्रवन्ध निर्देशक ज्ञवालीको भनाइ छ ।

होटल पौवाले यसै वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गरेको हो । यसै आर्थिक वर्षमा २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको छ । कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेको र मधेश प्रदेशको जनकपुरमा सम्भाव्यतासहित होटल सञ्चालनको प्रारम्भिक तयारी गरिरहेको होटल पौवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्