साताको सेयर
अझै फर्किएन लगानीकर्ताको मनोबल

काठमाडौं– यो साताभर सेयर बजारमा उतारचढाव कायमै छ । सातामा सेयर बजार परिसूचक २ हजार विन्दुमा रहन निकै कसरत गरेको थियो । तर, अन्तिम दिनमा बजार पुनः घटेर २ हजारभन्दा तलको विन्दुमा आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ४३ प्रतिशत घटेर पुनः २ हजार विन्दुमुनि झरेको छ ।
परिसूचक १ हजार ९७२ दशमलव ०९ विन्दुमा झरेको हो । मौद्रिक नीति समीक्षाअघि २१ सय माथि पुगेको बजार त्यसपछि केही दिन सामान्य बढे पनि लगातारजसो घटेको छ । मौद्रिक नीति समीक्षामा माग सम्बोधन नभएको भन्दै लगानीकर्ता असन्तुष्ट देखिएपछि बजार घट्न थालेको जानकार बताउँछन् । बजारप्रति आम लगानीकर्ताको मनोबल निकै कमजोर देखिएको छ, सोही कारण क्रेता निष्क्रिय भएका छन् ।
अहिले सेयर बजारलाई प्रत्यक्ष असर गर्ने बैंक ब्याजदर घटिरहेको र बैंकिङ प्रणालीमा तरलता पनि पर्याप्त भएको अवस्था छ । तर, मनोबल निकै कमजोर बन्दा सेयर बजार घटिरहेको जानकारहरू बताउँछन् । पछिल्लो समय सेयर बजारमा कारोबारी बढी हावी हुने गरेका छन् । कारोबारीले थोरै मार्जिनमै खरिद–बिक्री गरिरहेका हुन्छन् । सोही कारण बजारले धेरै उचाइ लिन नसकेको जानकार बताउँछन् ।
गत आइतबार नेप्से परिसूचक लगातार ६ कारोबार घटेर २ हजार मुनि झरेको छ । ६ कारोबार दिनमा परिसूचक ९७.४६ अंक घटेको छ । आइतबार पनि नेप्से परिसूचक १ दशमलव ३३ प्रतिशत घटेर १ हजार ९७९ दशमलव २ मुनि झरेको हो । लगातार ६ कारोबार दिन घटेको नेप्से सोमबार भने बढेको थियो । सोमबार परिसूचक १३.२८ अंक बढेर १९९२.३० विन्दुमा पुग्यो भने मंगलबार ९.३४ अंक बढेर परिसूचक २००१.६४ विन्दुमा पुग्यो ।
लगातार दुई दिन बढेपछि बुधबार भने परिसूचक फेरि घट्न पुग्यो । बुधबार ०.८७ अंकले घटेर परिसूचक २०७७ विन्दुमा रह्यो । यस्तै बिहीबार पनि परिसूचक २८.६८ अंकले घटेर पुनः २ हजार मुनि झरेको छ । साताभर सबैभन्दा बढी आइतबार सेयर किनबेच भयो । आइतबार ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा त्यसयता क्रमशः कारोबार रकम घट्दै गयो ।
बिहीबार भने कारोबार रकममा केही सुधार भएको नेप्सेको तथ्यांकमा देखिन्छ । सोमबार २ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १ अर्ब ८६ करोड, बुधबार २ अर्ब ३ करोड र बिहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । साताभरमा बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य हरेक दिन सकारात्मक सर्किटमा पुगेको छ ।
अर्थात् १० प्रतिशतले बढेको हो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ हजार ७५६.७० रुपैयाँ रहेकोमा बिहीबारसम्ममा बढेर २१ हजार ६०५.१० रुपैयाँ पुगेको छ । साताभरमा लघुवित्त र हाइड्रोपावर समूहको कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । आइतबार र सोमबार समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
त्यस्तै, आइतबार नै मोलुङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्यो । सोमबार बिपिडब्लु लघुवित्तको मूल्य ८.७७ प्रतिशत घट्यो । मंगलबार सबैभन्दा बढी चिरख्वा हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाए । सो कम्पनीको मूल्य ५.०६ प्रतिशत घट्यो । बुधबार साम्लिङ पावर कम्पनीको मूल्य सर्वाधिक ६.६६ प्रतिशत घट्यो भने बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । आइतबार सर्वाधिक सेयर खरिदबिक्री सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको थियो ।
यस कम्पनीले २३.८० प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेसँगै सर्वाधिक खरिद–बिक्री भएको हो । सोमबारदेखि बिहीबारसम्म सर्वाधिक सेयर खरिद–बिक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । आइतबारबाहेक सबै दिनमा यस कम्पनीको सर्वाधिक बढी सेयर कारोबार भएको हो । बिहीबार सेयर बजार पुँजीकरण ३० खर्ब ९९ अर्ब रहेको छ । आइतबार भने बजार पुँजीकरण ३१ खर्ब १० अर्ब रुपैयाँ थियो ।