Logo

लरिएट्स, लिडर्स र कुडा कर्णालीका

नेपालको आर्थिक, राजनीतिक, कूटनीतिक एवम् समग्रमा भन्नुपर्दा विश्व रंगमञ्चमा नेपालको भौगोलिक अवस्थालाई विश्वसमक्ष स्पष्ट रूपमा पु¥याउन सकिने चौथो लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन यसपटक नेपालको लुम्बिनीमा यही फागुन २८ र २९ गते आयोजना हुन गइरहेको समाचारले सम्पूर्ण देशभक्त नेपालीमा ठूलो हौसला र गौरवको अनुभूति प्रदान गरेको छ । यसको आयोजना लुम्बिनी प्रदेश सरकार र नेपाल सरकारले संयुक्त रूपमा गर्ने भएका छन् ।

सदाझैं यस सम्मेलनको मुख्य नारा बालबालिका, विकास र शान्ति रहनेछ । सन् २०१६ मा भारतको नयाँ दिल्लीमा यस सम्मेलनको पहिलो संस्करण आएको थियो । यो एउटा यस्तो अन्तर्राष्ट्रिय आन्दोलन हो, जसले अन्तर्राष्ट्रिय मानव समुदायलाई बालबालिकाहरूको अधिकार र जोखिममा रहेका बालबालिकाप्रतिको अन्तर्राष्ट्रिय चासो, उनीहरूप्रति माया, दया एवं करुणाका साथै विश्व शान्ति र मानवकल्याणका विषयहरूलाई उजागर गर्ने गर्छ । यसको दोस्रो संस्करण जोर्डनमा र तेस्रो डिजिटल माध्यम (भर्चुअल) बाट भएको थियो र नेपालमा बढ्दो भ्रष्टाचार र काण्डहरू धेरै हुने भएको सन्दर्भमा यस सम्मेलनले हाम्रा नेतागणमा केही सकारात्मकताको सञ्चार गर्ला कि भन्ने अनेक ठाउँ छन् ।

विश्वका १० जना विश्व शान्ति नोबेल पुरस्कार पाउने तथा अनेक देशका नेतृत्ववर्गले सहभागी हुन पाउने यस्तो उच्चस्तरीय सम्मेलनको आयोजनामा जुटेका सम्पूर्ण आयोजकप्रति प्रत्येक नेपालीको शुभकामना छ । लुम्बिनीले पनि सम्भावित पर्यटकहरूमाझ एउटा सुन्दर सन्देश फैलाउने आशा गरिएको छ । आ–आफ्नो कार्यक्षेत्रमा अध्ययन–अनुसन्धानमार्फत विश्व कीर्तिमान स्थापित गर्न सफल नोबेल पुरस्कार विजेताहरूलाई गौतम बुद्धको जन्मस्थलमा एकैचोटि स्वागत गर्न पाउनु नेपाल सरकारको एउटा अहोभाग्य हो । उनीहरूलाई लुम्बिनी क्षेत्रबाहेक पनि मुलुकका दुर्गम स्थलहरूमा लगी त्यहाँको जनजीवनसित परिचित गराउनु सरकारको कर्तव्य रहेकोे जनभनाइ छ ।

नेपालको विविध प्रकृति, पर्यावरण, संस्कृति र भौगोलिक अवस्थाबारे परिचित गराउँदै हाम्रा हिमाली सम्पदाहरूको अवलोकन गराउने व्यवस्था हुनुपर्ने आयोजकहरूलाई हाम्रो आग्रह छ । अझ सकिन्छ भने एक–दुईवटा हाम्रा विश्वविद्यालहरूमा उहाँहरूको सम्बोधनका लागि समय छुट्ट्याउँदा सुनमा सुगन्ध हुने निश्चित छ । यस्तो अवसर जुटाउन गाह्रो हुन्छ, तर जुटेको अवस्थामा त्यसलाई भाँज्न पनि पछि पर्ने हुँदैन । नेपाल भ्रमण वर्ष, १९९८ को दौरान हामीले विश्वभरिका १ सय जना ‘फ्रेन्ड्स अफ नेपाल’, जसले नेपालबारे पुस्तक लेखे, सिनेमा बनाए, नेपालको सम्पूर्ण भू–भाग पैदल नै हिँडेर भ्याए, नेपालको संस्कृतिबारे बौद्धिक कृतिहरू दिए, त्यस्ता महापुरुषहरूलाई भक्तपुर दरबार चोकमा बोलाएर भोज खुवाउने र प्रधानमन्त्रीबाट फ्रेन्ड्स अफ नेपालको प्रमाणपत्र प्रदान गर्ने काम गरेका थियौं । अहिलेको लरिएट्स एन्ड लिडर्स सम्मेलन पनि एउटा महŒवपूर्ण संयोग हो । यसलाई सार्थक तुल्याउन कुनै कसर बाँकी राखिनु हुँदैन ।

अबको दुई दशकपश्चात् अर्थात् वि.सं. ३००० सम्म नेपाल ‘वृद्धाश्रम’ का रूपमा अन्तर्राष्ट्रिय जगत्मा स्थापित हुनेछ भन्ने विषयको प्रक्षेपण भइसकेको अवस्थामा त्यसतर्फ सरकारबाट युवाहरूको विदेश पलायनको अवस्थालाई नियन्त्रणका कुनै ठोस पाइला नचालिनुले देशभक्त नागरिक विक्षिप्त छन् । नेपाल आमाका सन्तानहरू विदेश जाने विषयको प्रतिवाद गर्न सुहाउने कुरा होइन, तर घर–घरानाकै सम्भ्रान्त महिला गर्भवती भएपछि शिशुलाई अमेरिका गएर जन्माउनुपर्ने जुन नयाँ संस्कृति (सभ्यता) तीव्र रूपले बढिरहेको छ, त्यसले हाम्रो जातिगत मौलिक सोचाइमा दारिद्र्यता निम्त्याइरहेको जगजाहेरै छ । पढेर नसकिने कानुन छन् हामीकहाँ, तर गर्भवती सम्भावित आमालाई शिशु जन्माउन विदेश जानुपर्ने छुट किन ? वर्तमान सन्दर्भमा युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता तमाम मुलुकहरूमा नेपालीहरूको जनसंख्याको बढ्दो घनत्व हेर्दा त्यहाँ पनि कैयौं नेपाल स्थापित भइरहेको देखिन्छ ।

नेपालीहरूले आफ्नो नागरिकता फालेर त्यहींको नागरिक बन्ने दौडलाई निरन्तरता दिइरहेका छन् । त्यसलाई कुन हदसम्म एउटा सामान्य मानवीय गतिविधिका रूपमा लिने भन्ने प्रश्न अनुत्तरित नै छ । हालै एक जना नेपाली युवाले ९० लाख रुपैयाँ बुझाएर महिनौंपछि आफ्नो अमेरिकी सपना पूरा त ग¥यो, त्यहाँ पुगेपछि क्षयरोगले ग्रस्त भई उपचारका लागि अस्पतालमा भर्ना छ । अठारौं शताब्दीमा अफ्रिकाका नागरिक अमेरिका पुग्नुलाई आफ्नो जीवनको सार्थकता ठान्थे । एउटा चुस्त–दुरुस्त प्रजातान्त्रिक मुलुक भएको हुनाले तिनले जे–जति दुःख पाए पनि, दासताको जञ्जिरमा जे–जति जकडिए पनि तिनका सन्ततिले स्वयंलाई अमेरिकी नागरिक रहेर बाँच्न पाउने सम्पूर्ण अधिकारका भागिदार भएको सत्यतथ्यलाई त अस्वीकार गर्ने कुनै तर्क छैन । कैयौं युरोपेलीले आफ्ना धर्मराज्यको यातना सहन नसकेर अमेरिका र अस्ट्रेलिया तथा क्यारेबियन द्वीपहरूमा बसाइँ सरे र आज जहाँ गए त्यही देशको राष्ट्रिय गानमा गम्भीरतापूर्वक छातीमा हात राखेर देशभक्तिको नाटकीय प्रदर्शन गर्छन् ।

त्यो अवस्था हाम्रा सन्ततिहरूमा नआओस्, जे कामका लागि ती बिदेसिएका छन्, त्यो काम पूरा गरेर स्वदेशकै सेवामा फर्कने चिन्तन बढोस् भन्ने आज सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकको आकांक्षा रहेको देखिन्छ । यसतर्फ संयुक्त राष्ट्रसंघको शान्ति–सेनामा जाने नेपाली सेनाको योगदान सराहनीय रहेको छ । विदेशका द्वन्द्वग्रस्त क्षेत्रमा गएर आफ्नो पराक्रमी कार्य–कौशलका आधारमा आज सम्पूर्ण संसारले उनीहरूलाई ठूलो इज्जतका साथ हेर्ने गर्छ । ती सम्पूर्ण सेनाका दलहरू स्वदेश फर्कन्छन् र यही आफ्नो श्रम, सीप र सदाचारका बलमा नेपाली नागरिक भएर बस्न रुचाउँछन् ।

गत वर्षको आँकडा हेर्दा झन्डै ७ हजार नेपाली शान्ति सेना विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वग्रस्त क्षेत्रमा सेवारत थिए । सन् दशक १९५८ देखि नेपाली शान्ति सेनाले सेवा पु¥याउँदै आइरहेको इतिहास छ । विगतमा स्व. राजा वीरेन्द्रले विश्वसमक्ष नेपाललाई शान्ति–क्षेत्र घोषणा गरियोस् भनेर राख्नुभएको ऐतिहासिक कदमलाई हामै्र राजनीतिक र कूटनीतिक कमजोरीका कारण १ सय २० राष्ट्रको समर्थन जुटे तापनि मित्रराष्ट्र भारतले नै यो चाहेन । केही दिनपछि लुम्बिनीमा हुन लागेको ‘लरिएट्स एन्ड लिडर्स’ सम्मेलनमा ‘शान्ति’ पनि एउटा प्रमुख एजेन्डा रहेकाले र यसतर्फ नेपाल सरकारको प्रस्तुति खरो रूपमा हुनुपर्ने नेपाली बौद्धिक वर्गले चाहेको बुझिन्छ ।

धेरै विषयान्तर गर्दै भन्नुपर्दा पंक्तिकार स्वयं कर्णाली गएको पनि करिब डेढ दशक भइसकको छ । कर्णालीको पहिचान बढाउन र त्यस क्षेत्रबारे चर्चा–परिचर्चालाई तीव्रता दिन राजधानीका पर्यटन व्यवसायी अमरबहादुर शाहले आफ्नो ट्राभल एजेन्सी (राईका टुर्स) र नेपाल पर्यटन बोर्डको संयुक्त सहयोग र समन्वयमा १५–२० जना, जसमध्ये पूर्वसचिव स्व. माधव घिमिरे, तत्कालीन नाट्टाका अध्यक्ष रामकाजी कोने, नेपाल पर्यटन बोर्डका सदस्य र निर्देशक वरिष्ठ देउडा गायक नन्दराज जोशी आदि सम्मिलित टोलीले राराको नटमा क्याम्प लगाई दुई रात तीन दिन व्यतीत गरेको सम्झना आउँछ । हामी ताल्चा विमानस्थलबाट पाँच घण्टा लगाई रारा पुगेका थियौं, बाटोभरि लोकगीतहरू गाउँदै मुगुको चंखेली डाँडा हेर्दै सल्लोको घना वन छिचोल्दै रारा पुगेका थियौं । भोलिपल्ट मुगुका जनताले मुगु उत्सव मनाएका थिए । उत्सवको महिमा यहाँ लेखेर सकिन्न ।

बाजागाजा, स्थानीय नृत्य र अनेक सांस्कृतिक कार्यक्रम र रैथाने चमेना आदिले हामी सबै मन्त्रमुग्ध थियौँ । अप्रिय केही थिएन, केही थियो त चिसो सिरेटो शान्तिको अथाह ताल–विश्वकै सबै भन्दा सुन्दर ‘रारा’ । त्यसका तटमा उभिएर राराको थप सौन्दर्यीकरण र पूर्वाधारका विषयमाथि हामी सबैले बात मारेका हौं । हाम्रा अगाडिका सेताम्मे हिमालले आफ्नो छहारीमा सुरक्षित राखेको तालको अवलोकनले उनको मन अघाएको थिएन । जे होस्, मुगु कर्णालीचाहिँ विकास र उन्नतिको सूर्योदय हेर्न आतुर रहेको पंक्तिकारले अनुभूति गरेको थियो । त्यसपछि त्यहाँ विकासका छिटाहरू पुगेको सुन्दा अझै मन उमंगले तरंगित हुने गरेको छ । हालै कर्णालीको सुर्खेत, वीरेन्द्रनगरले तीनदिने कर्णाली उत्सवः कुडा कर्णालीका सम्पन्न ग¥यो । यसपालिको कर्णाली उत्सव पाचौं संस्करणको स्वरूप थियो ।

पहिलो सत्रमै गत कात्तिक १७ को विध्वंसकारी भूकम्प चर्चाको विषय बन्यो । भूकम्पप्रतिरोधी संरचनाहरूको निर्माणमा जोड दिइयो । उत्सवमा प्राकृतिक प्रकोप, पुनर्निर्माण, समाज, साहित्य, विकास र सुशासनमा छलफल विषयमा चल्यो । पंक्तिकारका एक जना मित्रले फोनबाट जानकारी दिएअनुसार आउँदा दिनहरूमा कर्णालीका शत्रुहरू भनेको रोग र भोक नै हुन् र केही शक्तिशाली मानिएका सामाजिक मुसाहरू हुन्, जसका कारणले अहिले पनि जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरू पालमुनि नै दिन काट्न बाध्य छन् । मित्र इब देवकोटाको सान्दर्भिक रचनाले मन छुन्छ ः
‘जिउली धान भकारीभरि भोलिलाई साँच्या छ

के सुनाऊँ मनैका वह परानी बाँच्या छ ।’ कर्णाली अनेक सम्भावनाले भरिपूर्ण छ । आज जसरी नेपाल आउने कुनै पनि विदेशी पर्यटकले काठमाडौंमा अवतरण गरिसकेपछि यात्राको थकाइ मेटिनासाथ पोखरा जान खोज्छ, त्यसरी नै दिन टाढा छैनन्, जब ऊ कर्णालीको रारा जान खोज्नेछ, डोल्पाको शे–फोक्सुन्डो जान खोज्नेछ, कुभिन्डे र बुलबुले ताल पुग्न खोज्नेछ । कर्णालीको उन्नति अपरिहार्य छ । कर्णाली प्रदेशका जनता देशभक्त छन् र विकासप्रेमी छन्, नैतिकवान् छन्, इमानदार र आँटिला छन्, सुशासन र न्यायका हिमायती छन् । संघीय सरकारले कर्णालीको समुन्नतिका लागि वातावरण बनाइदिन पनि जरुरी छ ।

अन्त्यमा, यस आलेखको बिट मार्नुभन्दा पहिले संघीय सरकारको धरमर अवस्थाको अन्त्य हुनु जरुरी छ, भ्रष्टाचारीहरूको नकाब खोलिनुपर्छ, बिदेसिने नेपाली युवा–युवतीहरूलाई देशभित्रै अवसर प्रदान गरी राष्ट्र–निर्माणमा तिनलाई सरिक बनाइनु आवश्यक छ । जनताले तिरेको करको आकलन र खर्चलाई पारदर्शी रूपमा जनसमक्ष ल्याइनु पनि जरुरी छ । कर, रेमिटेन्स, विदेशी अनुदान र व्यापार खर्चबारे पनि तथ्यांकहरू सार्वजनिक गर्न सके संस्थागत रूपमा हुर्किरहेको भ्रष्टाचार पनि बिस्तारै हराउँदै जाने अर्थविद्हरू बताउँछन् । पर्यटन क्षेत्रबाट आर्जन हुने ४० अर्ब पर्यटनकै विकासमा लगाएर नेपाललाई एउटा नमुना गन्तव्यका रूपमा विकसित गर्दै जान हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने आजको समयको सबैभन्दा ठूलो माग हो । लरिएट्स तथा लिडर्स शिखर सम्मेलनको सफलताका लागि तथा कर्णाली प्रदेशको द्रुत विकासका लागि नेपाली जनताको धेरै–धेरै शुभकामना ! हामी सँगै छौँ ।

प्रतिक्रिया दिनुहोस्