अश्वगन्धाबाट आयआर्जन

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसका लागि पर्यटन, कृषि तथा जडिबुटी खेती, व्यापार तथा औद्योगिक व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु अहिलेको आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै जडिबुटी उत्पादन तथा प्रवद्र्धनलाई नयाँ आयामका साथ विकास गर्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा यस लेखमा बहुउपयोगी जडिबुटी अश्वगन्धाको बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
अश्वगन्धाको स्थानीय नाम अश्वगन्धा, अंग्रेजी नाम विन्टर चेरी र वैज्ञानिक नाम विथानिया सोम्निफेरी हो । वानस्पतिक परिवार सोलेनेसीअन्तर्गत पर्ने अश्वगन्धा एउटा ठाडो अकाष्ठीय सदावहार बिरुवा हो । यो १ सय ३० देखि १ सय ५० सेन्टिमिटरसम्म उचाइ भएको झाडीदार बिरुवा हो । यसको सम्पूर्ण बिरुवा मसिना सेतो रङको साना रौँहरूले छोपिएको हुन्छ । यो बिरुवा धेरै हाँगा भएको हुन्छ र हरेक हाँगाबाट समान किसिमका सहायक हाँगा निस्केका हुन्छन् । पातहरू अण्डाकार र तल्लोपट्टि सेतो रौंजस्तो झुसले ढाकिएको हुन्छ । फूल हरिया, पहेँला हुनुका साथै झुप्पा–झुप्पामा फुल्छन् । फल छिप्पिँदा सुन्तला रङका राता हुन्छन् । बीउ साना–साना पहेँला, खैरा हुने गर्छन् ।
परापूर्वकालदेखि नै अश्वगन्धाको प्रयोग सामान्यतया विभिन्न आयुर्वेदिक औषधिमा भएको पाइन्छ । जराबाट छालाको रोग, अल्सर, पेटको कीरा मार्ने औषधिहरू बनाउनुका साथै यौनवद्र्धक टनिक पनि बनाइन्छ । मानिस तथा जनावरमा आएको लुतोमा यसको हरियो फलको लेप बनाई लगाउँदा सन्चो हुन्छ । अश्वगन्धाको चूर्ण, अश्वगन्धा तेल, साथै विभिन्न आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । उदाहरणका रूपमा आजभोलि मानिसमा दिनदिनै तनाव बढ्दै गएको छ, किनकि मानिसको इच्छा बढ्दै गएको छ । विभिन्न किसिमको तनावका कारण केही मानिसमा अनिन्द्राको जटिल समस्या हुन्छ, जसको प्रभावस्वरूप मानिसमा टाउको भारी हुने, केही काम गर्न मन नलाग्ने, शरीर फुर्तिलो नहुने आदिजस्ता लक्षण देखा पर्छ ।
कतिपय मानिस रातमा निन्द्रा नलागेका कारण निन्द्रा लाग्ने औषधिको सेवन गर्ने गर्छन् तर निद्राको औषधि सधैं प्रयोग गर्नाले धेरै किसिमको साइड इफेक्ट हुने गर्छ । अश्वगन्धाको पात तथा जरासँग सर्पगन्धालाई बराबर मिलाएर मसिनो धूलो हुने गरी पिसेर चुर्ण बनाउने अनि राति सुत्नुभन्दा अघि ३–५ ग्राम पानीमा मिसाएर सम्बन्धित विज्ञको सल्लाहअनुसार सेवन गर्दा सो समस्या हल हुन्छ । यो एउटा उदाहरण मात्र हो । यसका कैयौँ फाइदा छन् । अश्वगन्धामा विथानाइन, सोमनिफेराइन, निकोटाइन र विथानोलोइड्सजस्ता प्रमुख रासायनिक तत्वहरू पाइन्छन् । यो मानव स्वास्थ्यका लागि बहुउपयोगी हुन्छ ।
अश्वगन्धाका लागि ५ सयदेखि ६ सय ५० मिलिलिटरसम्म वार्षिक पानी पर्ने ठाउँ र समुद्रको सतहबाट ६ सयदेखि १२ सय मिटरको उचाइ खेतीयोग्य हुन्छ । प्रतिकूल वातावरणमा प्रतिरोधी अत्यधिक कडापन भएका कारण आदिकालदेखि नै राम्रो सिँचाइ सुविधा नभएको र अन्यबालीलाई उपयुक्त नभएको ठाउँमा यसको खेती गरिन्छ । अश्वगन्धा सीधै बीउ छरेर तथा बिरुवा रोपेर यसको खेती गरिन्छ । यसको खेती एकवर्षे बालीको रूपमा गरिन्छ । नर्सरी बनाउँदा जमिनलाई खनजोत गरी, झार केलाई, ड्याङ बनाई बीउ लाइनमा छर्नुपर्छ । बीउ छरिसकेपछि पातलो गरी माटोले पुरिदिनुपर्छ । बीउको एउटा लाइनबाट अर्को लाइनको दूरी पाँच सेन्टिमिटर फरक हुनुपर्छ । लाइन बनाउँदा पाँच सेन्टिमिटरसम्मको साधारण गहिरो लाइन बनाउनुपर्छ । बीउ छरेको सातदेखि दस दिनसम्म उम्रेको देखिन्छ । सो बिरुवा ६ हप्ता भएपछि रोप्न तयार हुन्छ ।
मलखादका लागि प्रतिहेक्टर ५० किलोग्राम नाइट्रोजन, ३५ किलोग्राम फस्फोरस दिँदा बाली उत्पादन राम्रो हुन्छ । यसलाई अन्य बालीजस्तै धेरै पानीको आवश्यकता पर्दैन र हल्का वर्षा भए पुग्छ । माथि भनेजस्तै सोझै बीउ छरेर यसको खेती तयारी जमिनमा गर्न सकिन्छ । एक–दुई पटक सुरुमा पानी परेपछि मनसुन आउनुभन्दा अगावै खेतलाई दुईदेखि तीन पटक जोती, डल्ला फोरी, झार निकाली तयार गरिराख्नुपर्छ । तयार गरिएको जग्गामा पानी पर्न सुरु भएपछि असार–साउनमा १० देखि १२ किलोग्राम बीउ प्रतिहेक्टर एकनासले सबैतिर पर्ने गरी छर्नुपर्छ । उम्रिसकेपछि बाक्लो भएको बिरुवालाई उखेलेर पातलो भएको ठाउँमा सार्नुपर्छ ।
बिरुवा रोपेको सरदर ६ महिनामा यसको बाली संकलन गर्न गरिन्छ । माघदेखि चैतसम्म बालीको स्थिति हेरी संकलन गर्नुपर्छ । कुन अवस्थामा बाली संकलन गर्दा जराको रासायनिक तत्व भेटिन्छ वा जरा उत्पादन हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ । बिरुवाको तल्लो भागका फलहरू रातो देखिएमा बाली संकलन गर्न योग्य मानिन्छ । त्यसपछि बिरुवा उखेली डाँठ काटेर जरालाई छुट्ट्याइन्छ । जरा संकलन गरी आवश्यक व्यवस्थापन गर्नुपर्छ । अश्वगन्धा सुक्खा ठाउँमा हुने बिरुवा भएको हुँदा यसलाई ग्रीष्म कालमा सुक्खा जलवायु र हिउँदमा कम तापक्रम भएमा जरा र जराको गुणस्तर बढ्न सक्छ ।
नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटका आधारमा अश्वगन्धा खेती हाम्रो देशमा सम्भावना धेरै छ । अश्वगन्धा खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गराउन सकेमा नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधि कम्पनीले भारतबाट अश्वगन्धा आयात गर्ने भएकाले नेपालमै यसको व्यावसायिक खेती विस्तार गरी सो मागको व्यवस्थापन गर्न सकेमा नेपाली मुद्रा विदेश जानबाट रोकिनुका साथसाथै आयुर्वेदिक कम्पनीले स्वदेशमै उत्पादन भएको उपजको प्रयोग गरी उद्योगधन्दा सञ्चालन गरी देश आर्थिक चलायमान हुने थियो ।