Logo

नेपालगन्ज भन्सारलाई लक्ष्य भेटाउन मुस्किल

नेपालगन्ज– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिना बितिसक्दासमेत लक्ष्य भेटाउन सकेको छैन । आर्थिक वर्षको पहिलो महिनादेखि नै राजस्व संकलन गर्न असफल भएको कार्यालयले हालसम्म लक्ष्यको ६१.५६ प्रतिशत मात्र राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै निरन्तर लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले हालसम्म लक्ष्यको ६१.५६ प्रतिशत मात्र राजस्व असुली गरेको हो ।

भन्सार विभागले यसवर्ष नेपालगन्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड २५ लाख राजस्व असुली गर्ने वार्षिक लक्ष्य दिएको छ भने हालसम्मको लक्ष्य १७ अर्ब १० करोड ६९ लाख रहेको छ । तर फागुन दोस्रो साता पुग्न लाग्दा कार्यालयले १० अर्ब ३७ करोड ६२ लाख मात्रै राजस्व संकलन गर्न सकेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले सात महिनासम्म पुग्दा निरन्तर राजस्व असुली गर्न असफल भएको छ ।

कार्यालयका अनुसार चालु आवको साउनमा एक अर्ब ८१ करोड ३० लाख संकलन लक्ष्य रहेकोमा एक अर्ब ४१ करोड ४० लाखमात्र असुली गरेको छ । त्यस्तै भदौमा दुई अर्ब २२ करोड १४ लाख लक्ष्य राखेकोमा एक अर्ब ४५ करोड ११ लाख, असोजमा दुई अर्ब ४४ करोड ५३ लाख लक्ष्य राखेकोमा एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा दुई अर्ब ३८ करोड ९१ लाख असुली लक्ष्य राखेकोमा एक अर्ब २४ करोड २१ लाखमात्र संकलन गरेको छ ।

त्यसैगरी मंसिरमा दुई अर्ब ५२ करोड ३६ लाख संकलन गर्ने लक्ष्य रहेको र पुसमा दुई अर्ब ५६ करोड ६० लाख असुली लक्ष्य लिएकोमा एक अर्ब ५३ करोड ५५ लाख र माघमा दुई अर्ब ३१ करोड ४२ लाख असुली लक्ष्य राखेकोमा एक अर्ब ३१ करोड ८१ लाखमात्र असुली गरेको कार्यालयले जनाएको छ । हालसम्म संकलन भएको राजस्व हेर्दा कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको हाराहारीमा संकलन गरेको छ ।

भन्सार आयातमा लक्ष्यअनुसार असुली गर्न नसकेको कार्यालयले निर्यात भने गत वर्षभन्दा केही बढाएको सूचना अधिकारी लम्सालको भनाइ छ । ‘गत आर्थिक वर्षको माघसम्म एक अर्ब ३० करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा एक अर्ब ३३ करोड ८४ लाख बराबरको जडिबुटी, दालचिनी, रिठा, प्लाइउड, घ्युलगायतका वस्तु निकासी भएको छ ।’

पछिल्लो सात महिनामा संकलन भएको राजस्वको गति हेर्दा कार्यालयलाई यस वर्ष लक्ष्य पूरा गर्न मुस्किल हुने देखिएको छ । चालु आर्थिक वर्षमा २८ अर्ब ६६ करोड २५ लाख राजस्व असुली गर्ने वार्षिक लक्ष्य भए पनि हालसम्म कुल वार्षिक लक्ष्यको ३६ प्रतिशतमात्रै असुली हुँदा यस वर्ष लक्ष्य भेटाउन प्रायः असम्भव नै देखिन्छ । कार्यालयले प्रतिदिन ८३ करोड ३९ लाख औषत राजस्व संकलन गर्ने लक्ष्य लिए पनि संकलन न्यून हुँदा लक्ष्य पूरा नहुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्