Logo

बाँसको सामग्री बिक्रीबाट मनग्ये आम्दानी

दाङ– घोराही उपमहानगरपालिका–१ औलावास निवासी पुनाराम सुनारको दैनिकी बाँसका सामग्री बनाउँदै र बिक्री गर्र्दैमा बित्ने गरेको छ । बाँसका सामग्रीबाट कम लगानीमा राम्रो आम्दानी हुने भएपछि पुनारामले घरमै बसेर बाँसका सामग्री बनाउने र बिक्री गर्ने काम गर्दै आएका छन् ।

बाँसबाट छिट्वा, नाङ्लो, पेरुङ्गो, टोकरी, डोको, भकारीलगायतका विभिन्न सामग्री बनाउने काम गर्दै आएको उनले बताए । बाँसबाट बनाएका सामग्री प्राय: गाउँघर तिरै बिक्री हुने गरेको उनको भनाइ छ । ‘गाउँघरमा घरायासी कामका लागि बाँसका सामग्री आवश्यक भए पनि बनाउने मानिस छैनन्,’ उनले भने, ‘त्यसैले गर्दा पनि होला, राम्रै बिक्री भइरहन्छन् ।’ गाउँघरमा बासँका सामग्री बिक्री नहुँदा घोराही बजारसम्म लगेर पसलमा बिक्री गर्ने गरेको उनी बताउँछन् ।

उनका अनुसार पहिलेको तुलनामा बाँसका सामग्रीको बजार घटेको छ । बाँसजन्य सामग्रीलाई आय आर्जनको स्रोत बनाउँदै आएका पुरानाम भन्छन्, ‘पहिलेको जस्तो अहिले बिक्री त हुँदैन । तर थोरै बिक्री भए पनि आम्दानी भने राम्रै हुने गरेको छ ।’ गाउँघरमा बाँस खरिद गर्ने र त्यहींबाट विभिन्न सामग्री बनाएर बिक्री गरेर आएको पैसाबाट घर व्यवहार चलाउने गरेको उनले बताए । ‘घरको कामसँगै बाँसका सामग्री बनाउने गर्दै आएको छु,’ उनले भने, ‘परिवारसँग बसेर घरको कामसँगै आफूले जानेको सीपलाई प्रयोग गर्दा राम्रै आम्दानी हुने गरेको छ ।’

त्यसैगरी घोराही उपमहानगरपालिका–१९ निवासी खिमबहादुर मगर विगत दुई दशकदेखि बाँसका सामग्री बनाउने काम गर्दै आएका छन् । परिवारको पुख्र्यौली पेसाका रूपमा रहेको बाँसका सामग्री बनाउने कामबाट राम्रै आम्दानी भएको उनी बताउँछन् । ‘पहिलेको तुलनामा व्यापार कम भए पनि लगानी अनुसारको आम्दानी ठिकै हुने गरेको छ,’ उनले भने । बाँसका सामग्रीको तुलनामा बजारमा स्टिल तथा प्लास्टिकका विभिन्न सामग्री प्रशस्स्तै मात्रमा पाइने भए पनि पहिलेको तुलनामा व्यापार आधा कम भएको उनी बताउँछन् ।

‘पहिले घरायासी काममा बाँसबाट भनेका छिटुवा, सुपा, भकारी, डोकोलगायतका सामग्रीको धेरै प्रयोग हुने गर्दथ्यो,’ उनले भने, ‘तर पछिल्लो समय कम लगानीमै राम्रा सामग्री बजारमा किन्न पाइने भएपछि बिक्री घटेको छ ।’ तर अहिले पनि तिहारमा रोटी पकाउनेदेखि विवाह, पूजालगायतका धार्मिक कार्य हुँदा बाँसका सामग्रीको खोजी हुने भएकाले बिक्री हुने गरेको उनी बताउँछन् ।

पछिल्लो समय खासगरी पूजा सामग्री बोक्नका लागि बाँसको टोकरी, गाउँमा स्याउला बोक्नका लागि डोको, माछा मार्ने पेरुङ्गोलगायत घरायासी काममा प्रयोग हुने सुपा, छिटुवासामग्री खोज्न मानिस घरमै आउने गरेको उनले बताए । विभिन्न सामग्री बनाउने कच्चा पदार्थ बाँस भने घरमा पनि भएको र नपुगेको अवस्थामा गाउँघरमै किनेर भए पनि बनाउने गरेको उनी बताउँछन् । ‘वर्षभरि नै बाँसका सामग्री उत्पादन गर्ने हुँदैन, खासगरी घरको कामबाट फुर्सद निकालेर सामग्री बनाउने हो,’ उनले भने, ‘फुर्सदमा बनाएका सामग्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।’

बाँसबाट घरका लागि आवश्यक सामग्री बनाउनका लागि दु:ख धेरै हुने र त्यसअनुसारको मूल्य नहुँदा पछिल्लो पुस्ताले सीप सिक्न भने जागर नगर्ने गरेको उनी बताउँछन् । बाँसका सामग्रीबाट विभिन्न सामग्री बनाउने तालिम आवश्यक रहे पनि स्थानीयको नजरमा यो पर्न नसकेको उनी बताउँछन् । नयाँ पुस्तालाई सीप सिकाएर उद्यमी बन्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्