ग्यालेक्सी एस नाइनमै आईफोन एक्सको विशेषता

सामसङको आगामी फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस नाइन र ग्यालेक्सी एस नाइन प्लस सार्वजनिक हुन केही दिन मात्रै बाँकी छ ।
कम्पनीले यो फोन फेबु्रअरी २५ मा बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेस–२०१८ मा सार्वजनिक गर्ने कार्यक्रम छ । एप्पल आईफोन एक्स सार्वजनिक भएपछि कोरियाली स्मार्टफोन कम्पनीको यो पहिलो प्रमुख लन्च हुनेछ । यो फोनमा एप्पलको दसौं वार्षिकोत्सवका उपलक्ष्यमा ल्याइएको स्मार्टफोन आईफोन एक्सको केही विशेषता भएको बताइँदै आएको छ ।
एप्पलको आईफोन एक्सको विशेषता भनेको अनुहार पहिचान गर्ने फेस आईडी हो । सामसङमा पहिलेदेखि नै मुहार पहिचान गर्ने विशेषतासहित आइरिस स्क्यानिङको विशेषता रहँदै आएको छ । यी विशेषता ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस स्मार्टफोनमा रहँदै आएको छ ।
तर, यो आईफोन एक्समा रहेको फेस आईडीजत्तिकै आधुनिक भने छैन । सामसङले आगामी फ्ल्यागसिप फोनमा समान किसिमको प्रविधिका लागि काम गरिरहेको बताइएको छ ।
यो फोनको अर्को विशेषता भनेको स्टेरियो स्पिकर हो । सामसङले ग्यालेक्सी एस नाइन स्मार्टफोनमा यो विशेषता समावेश गर्ने अपेक्षा गरिएको छ । बाहिर आएको हल्लाले स्मार्टफोनको माथिल्लो भागमा एउटा स्पिकर हुने बताउँदै आएका छन् । आगामी स्मार्टफोनमा यूएसबी–सीसँगै र पुछारमा सहयोगी पोर्ट हुने अन्यले बताउँदै आएका छन् । एप्पलले आईफोन–सेभेनमा २०१६ मा स्टेरिया स्पिकर ल्याएको थियो ।
सामसङ ग्यालेक्सी एस नाइन स्मार्टफोनमा एप्पलको आईफोन एक्सको सर्वाधिक चर्चा गरिएको विशेषता हुने सम्भावना रहेको बताइएको छ । बढी लोकप्रिय रहँदै आएको थ्रीडी इमोजी स्मार्टफोनको आधिकारिक टिजरमा देखाइएको थियो ।
यी इमोजीहरूले प्रयोगकर्ताको अनुहारको गतिविधिलाई ट्र्याक गर्छ र यसलाई थ्रीडीमा उतार्छ ।
सामसङ ग्यालेक्सी एस नाइन स्मार्टफोनमा भएको अन्य विशेषताहरूमा ५.८ इन्च तथा ६.२१ इन्च क्यूएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेका छन् । यो स्मार्टफोन क्वालकमको पछिल्लो उच्च कोटीको प्रोसेसर स्न्यापड्रागन ८४५ मा चल्नेछ ।
यो स्मार्टफोनमा १२ मेगा पिक्सेलको ओआईएसका साथ डुयल पिक्सेल क्यामेरा समावेश गरिनेछ र ८ मेगा पिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा हुनेछ । यो स्मार्टफोनमा कम्पनीको हालको फ्ल्यागसिप रेन्ज आईपी ६८ जस्तै आईपी रेटिङ हुनेछ ।