रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय
विराटनगर– विराटनगर महानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।
व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी (प्रजिअ), प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको हो ।
बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ । व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रिकालीन व्यवसाय सञ्चालनको निर्णय गरेको मेयर कोइरालाले बताए ।
विराटनगरको व्यवसाय प्रवर्द्धनमा महानगरपालिका सधैं गम्भीर रहेको उनको भनाइ थियो । व्यवसायी पनि एकढिक्का भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ‘व्यवसायीबीच पनि अस्वस्थ्य प्रतिस्पर्धा छ । तपाईंहरू एकढिक्का हुनुहोस्,’ मेयर कोइरालाले थपे,‘ग्राहक आएर होटल र पसल ढिलोसम्म सञ्चालन भए छेउको अर्को व्यवसायीले पुलिसलाई खबर गर्ने गरेको पनि मैले पाएको छु । त्यस्तो अस्वस्थ प्रतिस्पर्धा नगर्नुहोस् ।’
उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘व्यवसायीको पीडा बुझेर महानगरले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निकै नै चासो देखाएको छ । मेयर–उपमेयर केही गरौं भन्ने भावनाले प्रेरित भएको मैले पाएँ,’ उनले भने,‘कानुनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवर्द्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु ।’
प्रजिअ भट्टराईले कानुनले वर्जित गरेका भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको प्रतिबद्धता थियो । भट्टराईले होटल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरे । त्यस्तै ध्वनि प्रदूषण हुन दिन नहुने प्रजिअ भट्टराईले बताए । प्रविधिको प्रयोग गरेर कोठाभित्रको आवाज बाहिर नजाने पनि बनाउन सकिने भन्दै भट्टराईले त्यसतर्फ ध्यान दिन व्यवसायलाई आग्रह गरे ।
उपमेयर कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको बताए । उनले आफूहरूले पहिलादेखि नै होटल र अन्य व्यवसाय राति ढिलोसम्म सञ्चालन गर्न दिनुपर्छ भन्ने मान्यता राख्दै आएको स्पष्ट पारे । कोरोना महामारीपछि होटल व्यवसाय धराशायी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए । हाल साढे ९ नबज्दै प्रहरीले सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो छ । राज्यले व्यवसायमैत्री वातावरण नबनाए पासपोर्ट बोकेर विदेश जानुको विकल्प नभएको दुखेसो उनीहरुले पोखेका थिए ।
बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ, विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रिकालीन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ लगायतले भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दु:ख दिने क्रम रोक्नुपर्ने बताए ।
उनीहरुले भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेका थिए । भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीहरूले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिए । रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजश्व महाशाखा प्रमुख सरोज गौतमले बताए । व्यवसायीले तिर्न बाँकी मनोरञ्जनलगायतका कर बुझाउन उनले आग्रह गरे ।