Logo

बैंक ब्याजदर एकल अकंमा आउँदैछ

नवलपरासी- अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला–२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र खतरामुक्त छ,’ उनले भने,‘१७/१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा छ । अब केही समयमा नै ब्याजदर एक अकंमा झर्छ ।’ महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । महतले राजस्व संकलन, बाह्य पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए ।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र जोखिममुक्त छ’, मन्त्री महतले भने । यसअघिको सरकारले बजेटको सुनिश्चितता बिना आयोजनाको उद्घाटन गर्दै सुरु गरेकाले अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो । पश्चिम नवलपरासीको महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको उल्लेख गर्दै मन्त्री हतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन र सडक पूर्वाधार विकासका लागि आगामी आवको बजेटमा समावेश गरिने आश्वासन दिए ।

मेलामा बाल उद्यानलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित एक सय ५० कक्ष रहेका छन् । मेला यही फागुन ३० गतेसम्म चल्ने छ । पश्चिम नवलपरासी आएका महतले पाल्हीनन्दन गाउँपालिका–१ महेशपुर भन्सारको समेत निरीक्षण गरे । सो अवसरमा उनले भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए । महेशपुर नाकालाई प्रमुख नाकाको रुपमा विकास गर्न कदम चाल्ने मन्त्री डा महतले उल्लेख गरे ।

मूल भन्सारको रुपमा प्रवाह गर्न जग्गाको अभाव रहेको उल्लेख गर्दै उनले यसबारे प्रस्ताव पेस गरी प्रक्रिया अघि बढाइने बताए । मन्त्री महतले जिल्लास्थित सुरक्षा निकायलाई गैरकानुनी आयात तथा निर्यातमा रोक लगाउन सुझाव दिए । यसबाट सरकारलाई राजस्व उठाउन सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्