Logo

पर्यटन पूर्वाधार निर्माण तीव्र

स्याङ्जा– स्याङ्जामा पर्यटन पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित पौने ३ करोड बजेट प्राप्त भएको छ । विनियोजित बजेटको लागतमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ वटा योजना सञ्चालनमा रहेका छन् ।

गण्डकी प्रदेश सरकारले जिल्लाका ४५ वटा योजना निर्माण गर्न दुई करोड ७५ लाख बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ पालिकामा ५ लाखदेखि २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थानमा पूर्वाधार निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाइएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताए । ‘प्रदेश सरकारबाट छनौट भएर आएका योजनाको सम्झौता गर्ने, लागत तयार गरेसँगै निर्माण कार्यलाई तीव्रता दिएका छौं’ प्रमुख ढकालले भने, ‘सम्झौता भएका केही योजना निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश योजना निर्माणको क्रममा रहेका छन् ।’

विनियोजित बजेटबाट पर्यटकीय सम्भावना बोकेका स्थलमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यले पदमार्ग र भौतिक संरचना निर्माण गरिएको छ । जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिकामा सबै भन्दा बढी १० वटा योजना कार्यान्वयनमा रहेको कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले बताए । उनका अनुसार वालिङमा ९, भिरकोट नगरपालिकामा ६, बिरुवा ५, फेदीखोला गाउँपालिकामा ४ वटा योजना सञ्चालनमा रहेका छन् ।

त्यसैगरि चापाकोट र गल्याङ नगरपालिका तथा हरिनास, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकामा समान २/२ वटा योजना छन् भने कालीगण्डकी गाउँपालिकामा एउटा मात्रै योजना कार्यान्वयनमा रहेको लम्सालले जानकारी दिए । बजेट विनियोजन भएका योजना बैशाख मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अधिकांश योजना निर्माणकै क्रममा रहेकाले लक्ष्य अनुसार तोकिएकै समयमा सकिनेमा कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्