माझी समुदायले मनाए लदी पर्व

हेटौंडा– देशभरका माझी समुदायले विशेष पूजाआजाका साथ सांस्कृतिक कार्यक्रम गरी आफ्नो प्रमुख चाड लदी पर्व मनाएका छन् । नदी छेउमा गई बोका, पाठी, परेवा र कुखुराको बली दिने र मौलिक विधिद्वारा नदीको पूजा गरेर पर्व माझीहरुले हरेक वर्ष लदी पर्व मनाउने गर्छन् ।
लदी पूजामा बली दिइएको पशुपंक्षीको मासुका साथ विभिन्न परिकार बनाएर आफ्ना चेलीबेटीलाई घरमा बोलाई खुवाउने तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर माझी समुदायले चाड सम्पन्न गर्ने गर्दछन् । नदी किनारमा बसाबोस गर्ने, डुङ्गा चलाउने र माछा मार्ने माझी समुदायको परम्परागत पेशा हो ।
वर्षभर नदीमै काम गर्नुपर्ने हुँदा नदीमा माछा मार्दा होस् या डुङ्गा तार्दा कुनै अशुभ नहोस् भन्ने कामनाका साथ माझी समुदायले लदी पर्व मनाउने गरेको माझी नेपाल उत्थान संघ मकवानपुरका अध्यक्ष लोकेन्द्र माझीले बताए । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार लदी पर्व मनाउने गरेका छन् ।
लदी पर्वको अवसरमा मकवानपुरको बागमती गाउँपालिका र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले विभिन्न टोलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए भने विभिन्न टोल मिलेर खोला किनारमा लदी पूजाका साथै पशुपंक्षी बली दिएका थिए । लदी पर्वको अवसरमा माझी समुदायको बाहुल्य रहेको मकवानपुरको बामगती र बकैया गाउँपालिकाले मंगलबार सार्वजनिक बिदासमेत दिएको थियो । गाउँपालिकाले लदी पर्वको अवसरमा हरेक वर्ष बिदा दिने गरेको छ ।
मकवानपुरमा करिब ९ हजारको संख्यामा माझी समुदायको बसोबास रहेको छ भने देशभर एक लाख ११ हजारको हाराहारीमा माझीको जनसंख्या रहेको माझी उत्थान संघ मकवानपुरका अध्यक्ष लोकेन्द्रले बताए । रामेछाप उद्गमस्थल मानिने माझी समुदायको रामेछापसहित सिन्धुली, सुनसरी, सिन्धुपाल्चोक र मकवानपुरमा बढी बसोबास रहेको छ ।